छहारीमुनि कफीको बोट, किसानलाई २० को नोट
काभ्रे : महाभारत गाउँपालिकाले ‘छहारीको मुनि कफीको बोट, किसानलाई २० रुपैयाँको नोट’ अभियान सुरु गरेको छ। किसानहरूलाई कफी खेतीतर्फ आकर्षित गर्न र स्वदेशमै कफी खेतीको विस्तार गर्न गाउँपालिकाले एक बोट कफीको बिरुवा रोपेबापत २० रुपैयाँ दिने अभियान सुरु गरेको हो। यो अभियान गत आर्थिक वर्षदेखि सुरु भएपछि किसान पनि कफी खेतीतर्फ हौसिएका छन्। महाभारत गाउँपालिकाले ५ वडालाई कफी पकेट क्षेत्र घोषणा गरेको छ। वडा नं ५ मा धेरै कफी उत्पादन हुन्छ। २,३ र ४ वडा कफी खेतीका लागि प्रचुर सम्भावनाका रूपमा लिइएका छन्। त्यसैकारण स्थानीय सरकारले एक बोट कफीको बिरुवा रोप्ने किसानका लागि २० रुपैयाँ अनुदान दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले जानकारी दिए।
उनले किसानलाई प्रत्यक्ष फाइदा पुग्ने र अनुदानको नाममा बिचौलिया पाखा लाग्ने भएकाले पालिकाले यस्तो अभियान सञ्चालन गरेको जानकारी दिए। ‘नारा अनुसार कृषि शाखाले छहारीको मुनि कफीको बोट किसानलाई २० रुपैयाँको नोटअन्तर्गत प्रमाणित गरिएका किसानहरूलाई अनुदान रकम दिने गरिएको छ,’ अध्यक्ष लामाले भने, ‘किसानको घरमा पुगेर कृषि प्राबिधिकले बोट रोपेको प्रमाणित गरेर पालिकामा अनुदान माग गर्नुपर्ने छ।’
बागमती प्रदेश सरकारले एक वडा एक उत्पादन कार्यक्रम अघि सारेपछि जिल्लाको महाभारत गाउँपालिकाले कृषकलाई कफी प्रशोधन प्रविधि तालिम सुरुवात गरेको छ। बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सहयोगमा कृषि विकास कार्यालय धुलिखेलको सहयोग तथा महाभारत साना किसान कृषि सहकारी संस्था लिमिटेडको समन्वयमा समुदायमा आधारित एक वडा एक उत्पादन कार्यक्रमअन्तर्गत किसानलाई तालिम दिइएको हो। मंगलबार तालिम समापनमा बोल्दै बागमती प्रदेशसभा सदस्य रत्न प्रसाद ढकालले किसानहरूले गर्दै आएको कृषि उत्पादनमा थप विकास गर्दै लैजाने उद्देश्यले प्रदेश सरकारले ‘एक वडा एक उत्पादन’ कार्यक्रमलाई अगाडि सारेको बताए। कृषि विकास कार्यालय काभ्रेका प्रमुख कुलप्रसाद दवाडीले महाभारत गाउँपालिकामा समुदायमा आधारित एक वडा एक उत्पादन कार्यक्रम सञ्चालन सुरु भएसँगै यस वर्ष किसानहरूले गर्दै आएको कफी उत्पादनको क्षेत्रमा उत्पादन गुणस्तर र उत्पादकत्व वृद्धिका लागि कफी प्रशोधन प्रविधि तालिम प्रदान गरेको बताए। जिल्लाको डाँडापारिको महाभारत गाउँपालिकामा कफी उत्पादनको योजना सम्झौता गरेर काम गरिसकेको र खानीखोला गाउँपालिकामा सम्झौता गर्ने चरणमा रहेको दवाडीले बताए।
महाभारत गाउँपालिकाले तीन वर्षदेखि वार्षिक १-१ लाख कफीको बिरुवा वितरण गरी उत्पादनमा सहयोग गर्दै आएको छ। कफी खेती विस्तार गर्न गाउँपालिका र प्रदेश सरकारसँगको साझेदारी कार्यक्रमअन्तर्गत क्षेत्र विकास गर्न बिरुवा रोप्ने, प्रविधि हस्तान्तरण र सिँचाइका लागि आवश्यक सहयोग गर्ने काम जिल्ला कृषि विकास कार्यालयले सुरु गरेका छन्।
केन्द्रीय कफी उत्पादक सहकारी संघका अध्यक्ष तुलसीराज धितालले काभ्रे डाँडापारि क्षेत्र महाभारत गाउँपालिका र खानीखोला गाउँपालिका कफी उत्पादनको लागि उपयुक्त भएको बताए। नेपालमा ५८ जिल्लामा कफी उत्पादन हुने गरेकोमा गत वर्ष काभ्रेको कफी राम्रो गुणस्तरको उत्पादन भएको धितालले बताए। ५ का वडा अध्यक्ष विजय राना मगरले किसानहरूको चाहनाअनुसार कफी उत्पादनको कामलाई अभियानकै रूपमा अगाडि बढाएकोमा त्यसमा सिँचाइको आवश्यकता भएको र यहाँको कफीको अन्तर्राष्ट्रिय बजारमा माग बढ्दै गएको बताए।
मलेसियामा रोजगार गरेर फर्केका विजय थोकरले आफूले अब नेपालमै बसेर कफी खेती गर्ने सोच बनाएको बताए। गत वर्ष ६ लाखको कफी सिधै जापानबाट लिन घरमै आइइपुगेपछि उनी खेती बिस्तार गर्ने योजनामा छन्। १८ रोपनी जग्गामा सबै कफी मात्र रोप्ने योजनाअनुसार यो वर्ष ५ सय बिरुवा रोप्ने उनले सुनाए। अर्का किसान जेनिशा लामाले मकै खेतीभन्दा कफी खेती राम्रो भएका कारण धेरैले कफी लगाउन सरुवात गरेको बताइन्।
स्थानीय सरकारदेखि प्रदेश सरकारसम्मले अब कफी खेती गर्ने किसानलाई सहयोग गर्न थाले पछि सबै जग्गाहरूमा कफी खेती गर्ने सोच बनाएको उनले बताइन्।
प्रदेश सरकार र स्थानीय सरकारले कफी खेती गर्ने किसानहरूको लागि एक वडा एक उत्पादनलाई जोड दिएपछि किसानहरू अन्य खेतीभन्दा कफी खेतीतर्फ आकर्षित हुन थालेका छन्। महाभारतको कफी गुणस्तरीय भएकाले पछिल्लो समय सबैजसो किसान अरू खेती छोडेर कफीमा नै केन्द्रित हुँदै छन्। महाभारत गाउँपालिकाको समन्वय र महाभारत साना किसान कृषि सहकारी संस्थाको सहयोगमा ९० जना किसानलाई तिन दिने कफी उत्पादन र प्रशोधन प्रविधि तालिम प्रदान गरिएको छ।
महाभारत साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष हस्तबहादुर दर्लामीले यहाँको किसानहरूले बिगतमा थोरै कफी बिक्री गरे पनि यो बर्ष कफी उत्पादनमा वृद्धि भएको बताए। प्रदेश सरकार र स्थानीय सरकारले यहाँको उत्पादनलाई मध्यनजर गरेर गरिएका लगानी पछिको लागि दिगो हुने दर्लामीले बताए।
यस वर्ष किसान समूहमार्फत स्थानीय सरकारले ५० हजार कफीको बिरुवा वितरण गर्ने र गरिरहेको खेतीलाई प्रविधिमैत्री बनाएर गुणस्तर कफी उत्पादनमा जोड दिने काम भईरहेको छ।
त्यसका लागि किसानलाई पलपर मेसिन, सुकाउनका लागि त्रिपाल वितरण र कफीमा देखिने रोगको समस्या समाधानका लागि बेला–बेलामा तालिम दिने काम गरिरहेको गाउँपालिकाले जनाएको छ। यस वर्ष सो वडामा प्रदेश सरकारको ३० लाख रुपैयाँ, गाउँपालिका र किसानको १०-१० लाख गरी ५० लाख लागत साझेदारीमा कफी प्रशोधनमा प्रविधिको प्रयोग र सामग्री वितरणको काम भइरहेको जिल्ला कृषि विकास कार्यालय काभ्रेले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !