जनतासँग जोडिउँ
समाज आफैंमा एक जटिल प्रक्रिया हो। किनकि, समाज विभिन्न तŒवहरू, परस्पर क्रियाहरू र परिवर्तनशील अवस्थाहरूको संयोजनबाट बनेको हुन्छ। व्यक्तिहरूको आपसी सम्बन्ध, सहकार्य, प्रतिस्पर्धा र संघर्षले समाजको गतिशीलता निर्धारण गर्छ। समयानुसार सामाजिक संरचना, नियम र प्रवृत्तिहरू परिवर्तन हुँदै जान्छन्। जसले गर्दा समाजलाई स्थिर र सरल रूपमा परिभाषित गर्न गाहो हुन्छ।
वास्तवमा समाज अथाह र अनगिन्ती प्रश्नहरूको भण्डार हो। समाजमा विविध संस्कृतिक, परम्परा, मूल्य, मान्यता, कानुनी संरचना, आर्थिक प्रणाली र प्रविधिजस्ता पक्षहरूलाई समाजको परिस्थिति, परिवेश र आवश्यकताअनुसार निरन्तरता दिन राजनीतिक व्यवस्था चाहिन्छ। राजनीतिक व्यवस्था कस्तो हुने र कसरी सञ्चालन गर्ने त्यो समाजमा क्रियाशील दलको नीतिमा निर्भर रहेको हुन्छ। समाजमा क्रियाशील भइरहँदा उत्पन्न हुने क्रिया प्रतिक्रियाको रूपान्तरणशील व्यवस्थापन गर्न सक्नु नै जिम्मेवार राजनीतिक दलको दायित्व र कर्तव्य हो। विशेषगरी लोकतान्त्रिक शासन प्रणालीमा राजनीतिक दल समाजका ऐना हुन्। जसले विद्यमान समाजको चित्र दलहरूले अख्तियार गरेको नीति, कार्यक्रम र घोषणापत्रमार्फत प्रतिबिम्बित हुन्छन्। लोकतन्त्रको आँखीझ्यालबाट समाजका विद्यमान सवालहरू वस्तुनिष्ठ नियाल्न सक्दा मात्र समाज बुझ्न, चिन्न र बदल्न सकिने हो। समाज भनेकै अन्तरसंघर्षको कारखाना हो, जुनमा विभिन्न खालका भिन्नभिन्न अन्तरवस्तुमा अन्तरविरोध अन्तरसंघर्ष हुँदै आइरहेका हुन्छन्। तिनीहरूको समन्वयात्मक सम्बन्धलाई गुणात्मक रूपान्तरणका निम्ति बलियो जनआधार भएको राजनीतिक दल चाहिन्छ। पार्टीका व्यवस्थित संगठनात्मक संरचनाहरूको परिचालनले पार्टी मात्र बलियो हुने कुरा होइन यसले सिंगो समाजलाई नै मर्यादित र संस्कारी बनाउने कुरा हो।
समाजलाई बदल्न पहिला आफैँ बदलिनु पर्छ भन्ने मान्यताका साथ नेकपा (एमाले)ले जन तहमा आधारित अभियान सञ्चालन गर्दै आइरहेको छ। मिसन ग्रासरुट, समृद्धिका लागि संकल्प यात्रा झुलाघाटदेखि चिवाभन्ज्याङ अभियान हुँदै अहिले तीनमहिने वडाकेन्द्रित जरा अभियान सञ्चालन गरिरहेको छ। वडाकेन्द्रित जरा अभियान माघदेखि चैत्रसम्म देशका ६ हजार ७ सय ४३ वडामा चलिरहेको छ। यो अभियानलाई विगतमा सम्पन्न भएका सबै अभियानको संश्लेषणका रूपमा पार्टी लिएको देखिन्छ। मिसन ग्रासरुटको प्रमुख उद्देश्य पार्टीलाई गाउँ तहमा बलियो बनाउने थियो। किनकि त्यतिबेला पार्टी ठूलो संकल्पको सामना गर्दै पुनर्गठन गर्नुपर्ने थियो। त्यस्तै समृद्धिका लागि संकल्प यात्रा –चिवाभन्ज्याङदेखि भुलाघाटसम्मको अभियान पार्टीको मूल नेतृत्वसहित समाजका विभिन्न आयामको अध्ययन गर्ने र सम्बन्ध स्थानीय सन्देश राष्ट्रिय दिने थियो। जुन अभियानहरू नेपाली समाजमा राजनीतिक जागरण पैदा गर्न सफल भएका थिए।
एमालेले सञ्चालन गरेका ती राजनीतिक अभियानपश्चात् नेपाली समाजमा प्रश्न गर्नेहरूको संख्यामा वृद्धि भएको देखिन्छ। हिजो राज्यले दिएको मात्र लिनेहरू आज राज्यले नदिँदा वा राज्यबाट नपाउँदा किन ? भन्दै प्रश्न गर्ने नागरिकहरूको चेतना स्तर बनेको छ। राजनीतिक जागरण आम नागरिकका निम्ति एक यस्तो हतियार हो जुन हतियारले मानिसलाई अर्काको अधीनस्थ हुनबाट जोगाउँछ। पार्टीलाई नागरिक भेट्न होइन पार्टी नागरिकलाई भेट्न जानुपर्छ भन्ने मान्यता विकास भएको छ। पछिल्ला दिनहरूमा सबै राजनीतिक दलहरू एमालेको सिको गर्दै गाउँमा पुगेका देखिन्छन्। लोकतान्त्रिक दलीय राज्य व्यवस्थामा दलहरू जनतामा जाने कुरा लोकतन्त्र स्थायित्वका निम्ति सकारात्मक पक्ष हो।
समाजलाई बदल्ने संकल्प बोकेको राजनीतिक दल समाजसँग जोडिनै पर्छ। जन तहमा जरा भएको राजनीतिक दलले मात्र स्थानीय तहमा रहेका जनताका समस्या बुझेको हुन्छ। नागरिकका एजेन्डासँग साक्षात्कार गर्ने सामर्थ बोकेको राजनीतिक दलले मात्र जनतालाई समृद्धिको अनुभूति गराउँदै वास्तविक परिवर्तनको नेतृत्व गर्न सक्छ। नेकपा एमालेले अहिले वडा तहमा सञ्चालन गरेको जग तहको अभियानले समाजका आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक विषयहरूको शल्यक्रिया गरेको छ। नेपाली समाजमा रहेका व्याप्त समस्याहरूको समाधानका निम्ति यो अभियान आमजनतासँग जीवन्त संवाद गर्न सफल भएको छ। लोकतन्त्रमा दल कमजोर हुँदा लोकतान्त्रिक व्यवस्था कमजोर हुन्छ। र प्रतिगामी शक्तिहरूको चलखेल बढ्ने खतरा रहन्छ। प्रतिगामी शक्तिहरूको चलखेल रोक्न पनि राजनीतिक दलहरू आधारभूत तहमा जोडिएकै हुनुपर्छ।
लोकतन्त्रमा कमजोर राजनीतिक दलले शासन गर्ने कुरा कल्पना पनि गर्न सकिन्न तर संसदीय अंकगणितका कारण जनआधार कमजोर भएका राजनीतिक दलले लोकतन्त्रमा पनि शासन गर्ने अवसर प्राप्त गर्ने गरेका हुन्छन्। जब देशमा कमजोर राजनीतिक दलले शासन गर्दा देशमा राजनीतिक अस्थिरता पैदा हुन्छ। र गलत मनशाय बोकेका शक्तिहरू सल्बलाउने खतरा पैदा हुन्छ । २०७९ को संसदीय निर्वाचनको परिणाम एक खालको हुँदाहुँदै सरकार निर्माण त्यो परिणामका हिसाबले हुन सकेन। र संसद्मा तेस्रो रहेको दलको नेतृत्वमा सरकार गठन हुन पुग्यो। जुन दलसँग शासन गर्ने जन म्यान्डेट थिएन तर सरकार केही समय चलायो। त्यही विन्दुबाट देशमा एक खालको अस्थिरताको ढोका खुल्न आरम्भ भएको देखिन्छ। अहिले इतिहासका पानामा सीमित भइसकेका शक्तिहरूसमेत सल्बलाउने चेष्टा गरिरहेका देखिन्छन्। जनताले बिर्सिसकेको राजनीतिक कोर्स र २०७२ सालको संविधानले सम्पूर्ण ढंगले अस्वीकृत गरिसकेको तत्कालीन राजसंस्थाको विषय आज केहीका निम्ति बहसको विषय बन्न पुगेको छ।
अहिले देशमा संघिय लोकतान्त्रिक शासन व्यवस्था छ। देश सम्पूर्ण हिसाबले यो व्यवस्था कार्यान्वयनका निम्ति अभ्यस्त भइरहेको छ। लोकतान्त्रिक प्रणालीअन्तर्गतका अवयवहरू हिजोको भन्दा आज परिपक्व हुँदै आइरहेको अवस्था छ। कुनै बेला समाज भनेको कसैको शासन गर्ने थलो मात्र हो भन्ने धारणा थियो भने आज म बसेको समाज मेरो हो भन्ने धारणामा रूपान्तरण भएको छ। जुन धारणाले नागरिकमा आत्मविश्वास बढेको छ र आफूलाई लागेको कुरा व्यक्त गर्ने भएका छन्। लोकतान्त्रिक व्यवस्थाले दिएको नागरिक स्वतन्त्रताका अधिकारकको गलत फाइदा उठाउने र लाभ लिने केही व्यक्तिको मनशाय देखिन्छ। लोकतन्त्रमाथि आउन सक्ने सम्भावित खतराहरूका निम्ति रक्षा कबज राजनीतिक दल हुनु, दलको संगठित शक्ति नै लोकतन्त्रको सुरक्षा कबज हो। यही परिवेशलाई अनुमान गर्दे नेकपा (एमाले) ले आफ्नो संगठित शक्ति जनताको जग तहमा परिचालन गरेको छ।
समय क्रममा समाजमा उत्पन्न हुने स्वाभाविक र अस्वाभाविक सवालहरूको यथोचित निरूपण गर्न एमाले वडा तहमा छ। यो अभियानले आम नागरिकमा आशा सञ्चार गर्नुका साथै लोकतन्त्र रक्षाका निम्ति जग तहमा संगठनरूपी बलिया पिलर तयार गरेको छ। बलिया संगठनरूपी पिलर भएको बलियो राजनीतिक दलले मात्र देश समृद्ध र जनता सुखी बनाउन सक्छन्। र तीनै दलका संगठनले लोकतन्त्रको भारलाई सजिलै थाम्न सक्छन्।
प्रतिक्रिया दिनुहोस !