रोङ गाउँपालिकामा गुरु किसान

रोङ गाउँपालिकामा गुरु किसान

इलाम : इलामको रोङ गाउँपालिकाले ‘गुरु किसान’ घोषणा गरेको छ। गाउँपालिकाले बुधबार रोङ गाउँपालिका ५ मा आयोजित समारोहमा ‘गुरु किसान’ घोषणा गरिएको हो। गाउँपालिका भित्रका करिब पाँच हजार किसानबाट गुरु किसान छनौट गरिएको गाउँपालिकाले जनाएको छ। 

बुधबार गाउँपालिका ५ मा स्थापना भएको कृषि प्रशोधन उद्योगको उद्घाटनसँगै छनौट भएका एक सय २१ गुरु किसानलाई गाउँपालिकाले मागमा आधारित सेवाटेवा प्रदान गर्ने गाउँपालिका अध्यक्ष मणीकुमार स्याङ्बो (सुवास) ले जानकारी दिए।

गाउँपालिका भित्र रहेका करिब चार हजार पाँच सय किसानमध्ये पहिलो चरणमा एक सय २१ किसान छनौट गरिएको गाउँपालिकाले जानकारी दिएको छ। कृषि तथा पशुपन्छी विकासमन्त्री रामप्रसाद अधिकारी तथा कोशी प्रदेश उद्योग कृषि तथा सहकारी विकासमन्त्री खगेन सिँग लिम्बु र गाउँपालिका अध्यक्षले गुरु किसान घोषणा तथा कृषि प्रशोधन उद्योगको उद्घाटन गरे। कृषि पेशालाई सम्मानित पेशाका रूपमा विकास गर्न र उत्पादनमा प्रतिस्पर्धा गराउन गुरु किसान छनौट गरिएको हो। 

गुरु किसान परिचयपत्र वितरणसमेत गरिएको छ। गाउँपालिका भित्रका ६ वटै वडाका किसान छनौट गरेर वडास्तरीय अभिमुखीकरण समेत प्रदान गरिएको छ। पालिका छनौट भएका ‘गुरु किसान’ ले स्थानीय कृषि प्राविधिकका रूपमा समेत अन्य कृषकलाई सहयोग गर्ने छन्। पालिकाले प्रत्येक वर्ष गुरु कृषक थप गर्दै लैजाने लक्ष लिएको गाउँपालिका अध्यक्ष मणीकुमार स्याङबो (सुवास)ले जानकारी दिए। उनले अनुसार गुरु किसान व्यवस्थापन कार्यविधि २०८० जारी भएको छ। गाउँपालिकाका कम्तीमा तीन सय गुरु किसान प्रबद्र्धन गर्ने लक्ष रहेको जनाइएको छ।

‘उत्पादन, प्रशोधन र बजारको तीन खम्बे रणनीति समेत बनाएको छ। संघीय सरकार अन्तर्गत योजना आयोगको पाँच करोड विशेष अनुदानबाट तीनवटा उद्योग स्थापना गर्न लागिएको छ। सबैभन्दा पहिला स्थापना भएको कृषि प्रशोधन उद्योगको बुधबार नै उद्घाटन गरिएको हो। अन्य दुईवटा उद्योग निर्माणाधिन अवस्थामा रहेका छन्। संघीय सरकारको अनुदानबाट करिव ७० लाख लागतमा कृषि प्रशोधन उद्योगको भवन निर्माण गरिएको छ। त्यस्तै करिव ४० लाख लागतमा औजार खरिद गरिएको गाउँपालिकाका लेखा अधिकृत मनिस भट्टराईले जानकारी दिए।

यहाँका व्यावसायिक र निश्चित मापदण्ड पूरा गर्ने किसानहरूबाट गुरु किसान छनौट गरिएको हो। गाउँपालिकामा विशेष गरेर अलैंची, चिया, कफी, अदुवा, सुपारी, बेसार, सुन्तला उत्पादन हुन्छ। गाउँपालिकाले रोङ गुन्द्रुक, रोङ मह, रोङ बेसार, रोङ तिते करेला ब्राण्डिङ गरेर बजारीकरण गरिरहेको छ। त्यस्तै गाउँपालिकाले सिस्नोको चिया समेत उत्पादन गर्दै आएको गुरु कृषक राम आचार्यले जानकारी दिए। 

गुरु कृषक सोम अर्यालले गाउँगाउँमा पुगेर कृक्षको अवस्था अध्यायन पछि गुरु किसान छनौट गरेको बताए। कृषक राम आचार्यले रोङ पालिकाले कृषि क्रान्ति गरेको बताए। गुरु किसानका लागि संघीय सरकाले १५ लाख सहकार्य गरेको छ भने बाकी सबै खर्च गाउँ पालिकाले व्यहोरेको छ। 

रोङ गाउँपालिकाको भौगोलिक परिवेश, प्राकृतिक स्रोत एवं बजारको पहुँचले उपलब्ध गराएको अवसर र किसानहरूको अन्तर्निहित क्षमतालाई विकास गर्दै आधनिक कृषि प्रविधिहरूको उपयोगगरी व्यावसायिक कृषिको माध्यमबाट दिगो आर्थिकविृद्धि तथा खाद्य सुरक्षातका लागि नेपालमै पहिलोपटक कृषि गुरु नामक योजना अघि सारेको पालिकाले जनाएको छ। रोङ गाउँपालिकाका अध्यक्ष मनि कुमार स्याङ्बो भन्छन् ‘कृषि भूमिको अवैज्ञानिक प्रयोग, निर्वाहमुखी कृषि प्रणाली र गैर कृषि क्षेत्रको तुलनामा कृषि क्षेत्रको न्यून आम्दानीको कारण कृषि क्षेत्र आकर्षक र सम्मानित हुन सकेको छैन हामी यो कार्यक्रममार्फत वास्तविक किसानको अवस्था परिवर्तनको प्रयासमा लागेका छौं।’

रोङ गाउँपालिका भित्र रहेका कृषकहरू मध्येबाट नै उत्कृष्ट ज्ञान, सीप, दक्षता नेतृत्वहासिल गरेका ‘गुरु किसान’ तयार गर्न कार्यविधि निर्माण गरेको अध्यक्ष स्याङ्बोले बताए। पालिका अध्यक्ष स्याङ्बो भन्छन् ‘सानो सानो प्रयास गरिरहेका छौ, किसानको जीवन स्तर कसरी माथि उठाउँन सक्छौं भनेर प्रयास गरिरहेका छौ।’ गुरु किसान कार्यक्रम यसैको निरन्तरता भएको बताए।

गुरु किसान कार्यक्रमले रोङ गाउँपालिकाका परि श्रमी र समर्पित किसानहरू मध्येबाट गुरु कृषक छनौट गरी कृषि तथा पशुपालनसम्बन्धी अन्य किसानहरूलाई ज्ञान सिप क्षमता विकासमा योगदान गर्ने जनशक्ति को विकास गर्ने लक्ष राखेको छ। गुरु किसान हुन योग्य किसानको छनौट गरेपछि कृषि सामग्री, तालिम, कृषि उपकरण लगायतको क्षत्रमा सहजीकरण गर्ने अध्यक्ष स्याङ्बोले बताए।उनले भने ‘गुरु किसान योग्य र उदाहरणीय भए पछि अरू कृषकहरूलाई आफ्नो योग्यता, क्षमता र अनुभवबाट उदाहरणीय बनाउन सहयोग गर्ने छन्।’

कार्यक्रमले गुरु किसानहरूको नेतृत्वमा अन्य कृषकहरूमा खाद्यबाली, तरकारी, उच्च मूल्य बाली, लगायत पशुपालनको क्षेत्रमा व्यवासायिक क्षमता विकास गर्ने लक्ष राखेको छ। कार्यक्रमले गुरु किसानलाई व्यावहारकि र अनुभवले खारिएको अघोषित प्राविधिकका रूपमा विकास गर्ने लक्ष समेत राखेको छ।

अध्यक्ष स्याङ्बोले भने, ‘किसानको उत्पादन, परिमाण, गुणस्तर र निरन्तर उत्पादनजस्ता कुरामा एकरूपता ल्याउन गुरु किसान कार्यविधिलाई कार्यपालिकाले स्वीकृत गरेको छ।’ उनीहरूलाई ‘लोगो’ र परिचयपत्र वितरण गरिने गाउँपालिकाले जनाएको छ। उनले भने, ‘गुरु किसानलाई पालिकको हरेक कार्यक्रमममा आसनग्रहण हुन्छ, सम्मान हुन्छ।’ गाउँपालिकाले गुरु किसानमार्फत उत्पादकत्वमा प्रतिस्पर्धा गराउन खोजेको छ।

रोङ गाउँपालिकाको कुल १५६ दशमलव ०२ वर्ग किलोमिटर क्षेत्रमध्ये ४९ दशमलव ६२ वर्ग किलोमिटर जमिन खेती योग्य रहेको छ। पालिकको तथ्यांकअनुसार पालिकाभरीमा अलैची २० मेट्रिक टन, धान ३५० मेट्रिक टन, मकै १५० मेट्रिक टन, सुन्तोला १६० मेट्रिक टन, सुपारी ३५ मेट्रिक टन, अदुवा १५ मेट्रिक टन, केरा १०० मेट्रिक टन, आलु १८० मेट्रिक टन र इस्कुस ५०० मेट्रिक टन उत्पादन हुने गरेको छ।

यसबाहेक तोरी, बेसार, सिस्नु, खुर्सानी, च्याउ, कुरिलो, मुला, काक्रो, टमाटर, तिते करेला, कुरिलोलगायतका बालि किसानले लगाउने गरेको पालिकाको कृषि शाखाले जनाएको छ। रोङ गाउँपालिकामा उत्पादन भएको कृषिउपज स्थानीय बजार जोरककलश, हर्कटे, झापाको चारआली, बिर्तामोड, काँकरभिट्टा, इटहरीदेखि भारतको सिलिगुडीसम्म पुग्ने गरेको गुरु कृषक राम आचार्यले बताए। 

रोङ गाउँपालिकाका ८० प्रतिशत नागरिक कृषि पेशामा आवद्र्ध भएको एक तथ्यांकले देखाएको छ। अध्यक्ष स्याङ्बो भन्छन् ‘हामी तिनै किसानको दिगो विकासका लागि काम गरिरहेका छौ।’

पशुनस्ल सुधारमा किसानसँग साझेदारी

रोङ गाउँपालिकाले गाई, बाख्रा र बंगुरको नस्ल सुधार गर्नका लागि कृतिम गर्भधानका लागि कृषकलाई ५० प्रतिशत अनुदान प्रदान गर्ने गरेको छ। ८० देखि ९० प्रतिशतसम्म बाच्छि जन्मने सेक्सड सिमेन (विर्य)को मूल्य ३ हजार पर्छ। पशुपन्छी तथा मत्स्य विकास शाखाका पशु सेवा प्राविधिक राकेशकुमार राउतका अनुसार सो रकमको आधा अथवा एक हजार ५ सय रोङ गाउँपालिकाले व्यहोर्छ भने आधा रकम किसानले व्यहोर्ने गरेका छन्।

सिमेन(विर्य) बाहेक प्राविधिक खर्च बापत किसानले ७ सय प्राविधिक खर्च व्यहोर्ने व्यवस्था छ। गत आर्थिक वर्षमा पालिकको लागत सहयोगमा २ हजार ५९३ वटा गाई, बाख्रा र बंगुरमा कृतिम गर्भधारण गराएको राउतले बताए।

रोङ गाउँपालिकामा ३१ वटा दुग्ध संकलन केन्द्र मार्फत दैनिक ८ हजार लिटर दुग्ध संकलन हुने गरेको छ। दुग्ध उत्पादन वृद्धि गर्ने योजना सहित कृतिम गर्भधारणमा अनुदानको प्रवन्ध गरेको गाउँपालिकाले जनाएको छ। यस वर्ष देखि किसानका लागत सहभागिता घटाउने तयारी गरेको पालिकाले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.