सुनटोपी पित्ताल्या काँदो दैलेखी कर्दको
डा. मोहन तिमिल्सिना त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत पद्मकन्या, अमृत साइन्स, ललितकला, शिक्षालगायत उपत्यकाका विभिन्न क्याम्पसमा अध्यापन गर्ने प्राध्यापक हुनुहुन्छ। झन्डै ४० वर्ष नेपाली विषय अध्यापन कार्य गरेर हजारौं विद्यार्थीलाई शिक्षा दान गर्ने अवकाश प्राप्त व्यक्तित्व हो उहाँ। मूलघर त्रिपुरासुन्दरी गाउँपालिका काफलडाँडा धादिङ भएता पनि हाल उहाँको अस्थायी बसोबास काठमाडौंमा छ। त्रिभुवन विश्वविद्यालयबाट २०३४ सालमा नेपाली विषयमा स्नातकोत्तर तह उत्तीर्ण गर्नुभएका उहाँ कर्णाली अञ्चलका देउडा गीतको व्याख्या–विश्लेषण राम्ररी गर्नुहुन्छ। त्यतिले नपुगेर स्थानीय कलाकारले गीतको रचना गरे झैं मज्जासँग देउडा गीतको समेत रचना गर्नुहुन्छ। काठमाडौं उपत्यका र छेउछाउका मानिसले सुदूरपश्चिमको संस्कृतिको चर्चा मात्र नभएर गीत गाउनु, गीत हाल्नु (गीतको रचना गर्नु) आफैंमा कौतुहलको विषय बन्यो।
को गयो चैतको लेक को लाग्यो कुर्लन
कर्णाली फाल हाल्याजन मन् लाग्यो उर्लन।
गीतले भन्छ– वसन्त ऋतुअन्तर्गत चैत्रको महिना नयाँ पालुवा पलाउने, वनजंगल हरियो हुने, कोइली न्याउली चराको मीठो आवाज एकातिर, अर्कोतिर ग्वाला गोठालाहरू चरा जस्तै गरी देउडा भाकामा गीतहरू गाउने हुँदा परदेशीलाई घरको याद दिलाउँछ। नेपालको लामो नदी कर्णाली वर्षायाममा हाम फालेर उर्लेर बगे झैं मन पनि गाउँघर सम्झेर एकोहोरिन्छ।
कुराको मेलोमेसो बुझ्दै जाँदा तिमल्सिना २०३४ सालमा तत्कालीन राष्ट्रिय विकास सेवा (राविसे) अन्तर्गत १० महिनासम्म बाजुरा जिल्लाको जुकोट पुगेर सेवा गर्नुभएको रहेछ। कर्णाली नदीपारिका वाई, साइपाटा र जुकोटका बासिन्दाको उठबस खेतीपाती बाजुरावासीको भन्दा कालीकोट जिल्लावासीसँग बढी हुने गर्छ। जुकोटको शम्भुसुरुन्दा निमाविमा नेपाली विषयमा अध्यापन कार्य गर्दा विद्यालयस्तरीय अतिरिक्त क्रियाकलाप गराउनु हुँदोरहेछ उहाँ।
कार्यक्रममा देउडा गीतमात्र गाउन लगाउनु हुँदोरहेछ। प्रत्येक शनिबार गाउँका मानिससँगै ग्वालो बनेर देउडा गीतका नयाँनयाँ भाका संकलन गर्नुहुँदो रहेछ। भदौ पूर्णिमा, माघेसंक्रान्ति र बिसु पर्वमा स्थानीयसँगै देउडा खेल खेल्न अघि सरेपछि देउडा गीतसंगीत प्रतिको मायामोह दिनप्रतिदिन बढ्दै गएछ। स्थानीय मानिसले बोल्ने गरेको भाषामा रस बसेपछि खस भाषा नै प्यारो मानी बोल्नु भएछ। यतिमात्र कहाँ हो र ? छैठपाठमा खेल्ने देउडा गीतमा सवाल–जवाफ पनि गर्न लाग्नु भएछ।
सुनटोपी पित्तल्या काँदो दैलेखी कर्दको
आँखो रुदो मेहरीको मन् रुदो मर्दको।
गीतले भन्छ– दैलेखमा पेट्रोल खानीमात्र होइन, सुनखानी, पित्तलखानी पनि छन् तर उत्खनन हुन नसक्दा दैलेखवासी मात्र होइनन्, नेपाल नै गरिब छ। देशको गरिबी देखेर महिला वर्गमात्र होइनन्, पुरुष वर्ग पनि रुने गर्छन्।
रामरमिता गर्न सिपालु, गाउँघरका बूढापाकासँग अर्ती, उपदेश र प्राचीन समयका घटना परिघटनाहरू सुन्ने बानी पनि रहेकाले डा. तिमिल्सिना कर्णाली नदी वारिपारिका बस्तीमा निकै लोकप्रिय हुनुभएछ। राविसेअन्तर्गतको सेवा थपिदिए नेपाली समाजको पुख्र्यौली थातथलोबारे अझ बुझ्न सकिने उहाँको सोच रहेछ। तर कार्यालयको नियमानुसार फर्कनै पर्ने रहेछ। १० महिनापछि राजधानी फर्कंदा मन गरुंगो भयो रे उहाँको।
दुल्लुका दरबार राम्रा छायाका झिंगटी
साईका मेरा छुट्टिनका दिन आया निकटी।
गीतले भन्छ– कुनै बेला त्यस जिल्लाको सदरमुकाम दुल्लु थियो। पछि दैलेखका मानिसको चलाखीपनले रातारात दैलेखमा सदरमुकाम सारियो। झिंगटीले छायाँका भए पनि त्यहाँका दरबार सुन्दर देखिन्छन्, जुन ऐतिहासिक पनि छन्। हामीबीचको गहिरो सद्भाव भएता पनि छुट्टिनुपर्ने दिन आए तर दुल्लु दरबार तत्कालीन राजाले छाडेर गए।
माथिका गीतमा हालको कर्णाली प्रदेशअन्तर्गत दैलेख र छिमेकी जिल्लाहरू जाजरकोट, सुर्खेत, कालीकोट, अछामको तत्कालीन राजनीतिक परिवेश, सामाजिक अवस्था धर्म रीतिरिवाज स्थितिबारे राम्ररी व्याख्या गर्न खोजिएको छ। काठमाडौं फर्कंदा तिमिल्सिनाले आधा कर्णाली बोकेर ल्याउनु भएछ। हाम्रो पुर्खाहरूको स्थलो, नेपालभरका थर, जात, गोत्र आदि सभ्यताकोे जननी कर्णाली नै रहेछ। जुन कुरा संस्कृतिविद् सत्यमोहन जोशीद्वारा लिखित पुस्तकबाट थाहा पाइन्छ।
गलबन्दी ल्याइदिया दाजु बजार गै भन्या
फेरिपन भेट अरौंला परानी रै भन्या।
गीतले भन्छ– त्यसबेला कालीकोट, दैलेख, बाजुरा, जुम्ला जिल्लाको हाटबजार कैलाली जिल्लाको चिसापानी र कटाक्षे थियो। कर्णाली नदीको किनारामा अवस्थित चिसापानी येनकेन आफ्नो गतिमा परिवर्तन गर्दैछ। तर कटाक्षे बजार २०५९ सालबाट पूर्व–पश्चिम राजमार्गसँगैको लम्की बजारमा सरेको छ। जंगल क्षेत्रभित्र परेकाले कटाक्षे बजारका हजारौं मानिसमध्ये कुनै नजिक रहेको ऐतिहासिक पर्यटकीयस्थल टीकापुर पुगे भने केही लम्की सरे। हाटबजार गएका दाजुलाई भाइले गलबन्दी ल्याइदिन गरेको अनुरोधको गीत हो यो। हामी दूरवस्तीमा बसे पनि परानी (शरीर) स्वस्थ र निरोगी हुन प¥यो, भेट गरौंला भनी आस देखाएको गीत हो माथिको।
खस भाषा समृद्ध भाषा हो। अहिले नेपाली भाषाको क्रमिक विकास भइरहेछ। खसभाषाको विकसित रूप नै त्यसबेला गाउँघरमा बोलिने खसभाषा हो। जुम्ला जिल्लाको सिञ्जा, दरालाई खसभाषाको जननी मानिन्छ। विक्रमको ११औं शताब्दीमा नागी मल्लको पालामा खासभाषाको प्रयोग भएको मानिन्छ। त्यसबेलाका शिलालेखहरूको अनुसन्धान र उत्खनन गरी अध्ययन गर्नु, गराउनु अपरिहार्य भइसकेको बताउनु हुन्छ, डा. मोहन तिमिल्सिना।
आज उदै भोलि उदै काँ बग्छ पानीय
झटना झलना नलाई नौला सुखानीय।
गीतले भन्छ– हिमालबाट बग्दै आएका काली, सेती कर्णाली, भेरीजस्ता नेपालका सबै हिमनदी दक्षिणतिर बगिरहेछन् तर कहाँ गएर यिनको मिलन हुन्छ थाहा छैन। यसैगरी, मानिसको जिन्दगीमा पनि धेरै थरीसँग मिलन हुन्छ, कुनैसँग त प्रेम बस्छ तर सधैंभरि एकसाथ बस्न मुस्किल हुन्छ। त्यसैले नयाँ प्रेमी (नौलो सुनखानी) यो परदेशीसँग गहिरो प्रेम न गाँस।
आहा ! यी गीतले राष्ट्रभरि संस्कृतिप्रेमी र साहित्यनुरागीबीच परिचय दिन पाएको छैन। कतै हराएर गए, लोप भए सुदूरपश्चिम र कर्णाली प्रदेशको लोकगीत, लोकसंगीत र लोकजीवन नै नासिने पो हो कि ? चिन्ताको विषय बनेको छ।
बत्ती पनि बल्दा हुन् कि बिजुलीका पोल
निका फुच्चा हेरिजाऊ है दरा डुल्न्या डोर।
गीतले भन्छ– पानीबाट पनि बिजुली निस्कन्छ र ? कुनै बेला गाउँघरमा यो प्रश्न उब्जन्थ्यो। अहिले सम्भव छ भन्ने कुराको प्रमाण देखाए बिजुलीका पोलहरूले। राम्रा नराम्रा (फुच्चा) सबैथरी मानिस भेटिन्छन् समाजमा। दरा (बस्ती)मा घुम्ने डोर (पुलिस)ले बिजुलीले उज्ज्यालो दिए झैं न्याय अन्याय देखाऊ है भनी गायकले सन्देश दिएको गीत हो यो।
मस्तै ज्ञान क्यै नि छैन ज्ञान एउटै गीताको
फेरि दर्शन पाइएला कि रामचन्द्र सीताको।
गीतले भन्छ– गाउँघरका अशिक्षित मानिसलाई गीतानामक पुस्तकका बारे र त्रेतायुगका सीताका जीवन कहानीका बारेमा ज्ञान कसरी प्राप्त भयो होला ? उत्तर आउँछ पुर्खाहरूबाट। हो, देउडा गीतसँग हाम्रा पितापुर्खाहरूको जीवनपद्धति गाँसिएको पाइन्छ। त्यसैले पनि देउडा गीतहरू श्रुतिप्रधान गीत पनि हुन्। माथिको ऐतिहासिक देउडा गीतले यही कुरा देखाउँछ।
यी र यस्तै मर्मस्पर्शीय, संस्कृति र सभ्यतापरक धेरै गीतको पोको बोकेर प्रा.डा. मोहन तिमिल्सिना त्यसबेला कर्णाली दराबाट उपत्यका फर्कनुभयो। नेपाली लोकसाहित्य र भाषालाई विद्यार्थीलाई मात्र नभएर जनविकास मावि, बल्खु, काठमाडौंमा अध्यापन गराउँदै आउनुभएकी पत्नी रीतालाई पनि देउडा गीत सिकाउनु भएछ रसिक डा. साबले। देउडा गीतको संकलक उहाँ अहिले वर्षका हिसाबले ७५ पुग्नै लाग्नुभयो। तर देउडा गीत र देउडा खेलको कुरा गर्दा युवावस्थाको जोस देखाउनु हुन्छ। देउडाका सफल संकलक डा. साहेब अन्तमा यो गीत भनेर ती दिनहरूको सम्झना गर्नुहुन्छ :–
कोइ पानी चपाउँदा हुन् कि म त त्यसै निल्दो
आग् डण्याको बुको माया मौरीजन चिल्दो।
प्रतिक्रिया दिनुहोस !