अन्नपूर्ण मिडियाको निरीक्षण गर्दै एमाले महासचिवले भने- लोकतन्त्रको आधारमाथि आक्रमण भएको हो
काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजावादीहरूले नियोजितरूपमा अन्नपूर्ण पोस्ट्लगायत मिडियाहरूमा आक्रमण गरेको बताएका छन्। आइतबार तीनकुनेस्थित अन्नपूर्ण पोस्ट्को कार्यालयमा निरीक्षण गर्दै महासचिव पोखरेलले लोकतन्त्रको आधारमाथि आक्रमण भएको बताए।
'लोकतन्त्रको महत्त्वपूर्ण आधार रहेको सञ्चारमाध्यममाथि नियोजितरूपमा प्रहार भएको छ। रिपोर्टिङमा रहेका पत्रकारमाथि पनि दमन गरिएको छ,' उनले भने, 'अन्नपूर्ण र कान्तिपुरजस्ता स्थापित मिडिया हाउसमा नियोजित आक्रमण हुनु भनेको लोकतन्त्रको आधारमाथि आक्रमण भएको हाम्रो पार्टीले ठहर गरेको छ। यो दुई सञ्चार गृहमा भएको आक्रमण मात्र होइन। सम्पूर्ण प्रेस जगतमा भएको आक्रमण भएको रूपमा लिनुपर्छ। हामी लोकतन्त्रको पक्षमा छौं। हामी अन्नपूर्ण मिडियाको साथमा छौं।'
उनले राजावादीहरूले निजी सम्पत्तिमा क्षति पुर्याएर, व्यवसायीक समूहलाई आतंक पारेर, सार्वजनिक सम्पत्तिमाथि आगजनी गरेर हिंसा फैलाएको आरोप लगाए। उनले घटनामा संलग्नहरूलाई कानुनी कारबाही गर्न मागसमेत गरे।
उनले अहिले नयाँ पुस्ताले पनि निरंकुशतावादीको स्वार्थ थाहा पाएको बताए। 'लोकतन्त्रमा हुर्केको पुस्ताका लागि यसअघि जुनसुकै व्यवस्था के हो र भन्ने थियो। तर, नयाँ पुस्ताले पनि त्यो घटनाले निरंकुशतावादी कस्तो हुन्छ भन्ने थाहा पाए,' उनले भने।
उनले नेकपा एमालेले पनि चैत १५ को घटनालाई कडा रूपमा भर्त्सना गरेको र केन्द्रीय सचिवालय बैठकले आपराधिक क्रियाकलाप संलग्नलाई कारबाहीको माग गरेको बताए।
एमाले महासचिव शंकर पोखरेलसँगै संगठन विभाग प्रमुख काशीनाथ अधिकारी, जनसंगठन समन्वय संयन्त्र प्रमुख भानुभक्त ढकाल, बागमती प्रदेश इन्चार्ज डा. राजन भट्टराई, केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारी, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डे, उपाध्यक्ष चेतन अधिकारी र महासचिव हीरामान लामा, उद्योग व्यापार संगठन अध्यक्ष गीरथ सापकोटा, महासचिव बालकृष्ण शिवाकोटी र एमाले काठमाडौं अध्यक्ष दीपक निरौला निरीक्षणमा सहभागी थिए।
उक्त टोलीलाई अन्नपर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापा, अन्नपूर्ण पोस्ट्का प्रधान सम्पादक अखण्ड भण्डारी र महाप्रबन्धक मनोज बस्नेतले तोडफोड र क्षतिका विषयमा जानकारी गराएका थिए।
प्रतिक्रिया दिनुहोस !