तीन महिनापछि पुनः सुरु भयो दाङमा हवाई सेवा
दाङ : दाङको टरिगाउँ एर्पोटमा तीन महिनापछि पुनः हवाई सेवा सञ्चालनमा आएको छ। तीन महिनासम्म रोकिएको हवाई सेवा सोमबारबाट पुनः सुरु भएको हो।
तीन महिनापछि सोमबारदेखि टरिगाउँ विमानस्थलबाट केही यात्रुलाई लिएर नेपाल एरलाइन्सको जहाज काठमाडौं गएको हो। नेपाल एयरलाइन्सका स्टेसन इन्चार्ज बलबहादुर सुनारका अनुसार विमानको इन्जिनमा समस्या आएपछि सेवा बन्द भएको थियो।
चैत महिनामा हप्तामा दुई दिन उडान हुने र वैशाख महिनादेखि यात्रु संख्या अनुसार चार दिनसम्म सेवा बढ्न सक्ने इन्चार्ज सुनारले बताए। विमानस्थलको धावनमार्ग ७५० मिटर मात्र भएका कारण साना जहाजले मात्रै सेवा दिने अवस्था रहेको छ।
विमानस्थलको स्तरोन्नति र विस्तारका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिएको छ। यसमा धावनमार्ग १ हजार २५० देखि १ हजार ५ सय मिटर लम्ब्याउने प्रस्ताव छ। यसका लागि चार बिघा जग्गा अधिग्रहण प्रक्रिया अघि बढिरहेको छ।
सरकारले बजेट समेत विनियोजन गरेको छ। साबिक राप्ती अञ्चलको पुरानो विमानस्थल हो। यो विमानस्थल २०११ सालदेखि सञ्चालन हुँदै आएको छ।
प्रतिक्रिया दिनुहोस !