नेपालमा पनि सहकारीको प्रयोग कुनै न कुनै रूपमा प्राचीनकालदेखि नै हुँदै आएको छ।
सहकारीको इतिहास खोज्दै जाँदा परापूर्वकालसम्म पुगिन्छ। मानिस एक सामाजिक प्राणी हो र मानिसबीच पारस्परिक सहयोगको भावना मानव इतिहासको प्रारम्भदेखि विकसित हुँदै आएको पाइन्छ। यसो भए पनि सत्रौं शताब्दीसम्म सहकारी औपचारिक संस्थाको रूपमा स्थापित भएका थिएनन्। अठारौं शताब्दीमा राबोर्ट वयेन, विलियम किङजस्ता विद्वान्ले सहकारीको महŒवमाथि प्रकाश पारेका थिए। राबोर्ट वयेनले कामदारलाई गरिबीबाट उकास्न ‘सहकारी गाउँ’को परिकल्पना गरेका थिए भने विलियम किङले श्रमिकहरूलाई सहकारीका माध्यमले आफ्नो प्रगति गर्न प्रोत्साहित गरेका थिए।
स्कटल्यान्डको फेनविकका स्थानीय कपडा बुन्नेहरू (विभर्स)ले ओटमिल सस्तोमा बेच्नका लागि आफूहरूसँग भएको साधन जम्मा गरेर सन् १७६१ मा औपचारिक रूपमा ‘फेनविक विभर्स सोसाइटी’ खडा गरेका थिए। त्यसपछि पनि स्कटल्यान्डमै एकपछि अर्को सहकारी संस्था स्थापना भए। हेनरी डंकनले आफ्ना अनुयायीहरूलाई बचत जम्मा गर्न र ऋण प्रदान गर्न सन् १८१० मा स्कटल्यान्डको डमफ्राई जशायरमा ‘मैत्रीपूर्ण समाज’का नामले ‘म्युचुअल सेभिङ’ बैंक स्थापना गरेका थिए। यसैगरी, सदस्यहरूलाई आवश्यक वस्तुहरू सुपथ मूल्यमा उपलब्ध गराउन स्कटल्यान्डमै सन् १८१२ मा ‘लेनोक्सटाउन फ्रेन्डली भिक्टुअलिङ सोसाइटी’ स्थापना भएको थियो। त्यसपछि सन् १८३० को दशकमा बेलायतभरि सहकारी संस्थाहरू गठन गर्ने लहर चलेको थियो।
उदाहरणका लागि सन १८३२ मा लकहस्र्ट लेन औद्योगिक सहकारी संस्था स्थापना भएको थियो भने सन् १८३९ मा गालासिल्स र हविक सहकारी संस्थाहरू गठन भएका थिए। यस अवधिमा खासगरी श्रमिक सहकारी संस्थाहरू खडा भएका थिए। तर त्यसताका स्थापना भएका कतिपय सहकारीले विभिन्न चुनौती सामना गर्नु परेको थियो र सन् १८४० सम्ममा धेरै सहकारी विघटन भएका थिए। उता अमेरिकामा औपचारिक सहकारी संस्थाका रूपमा पारस्परिक अग्नि बिमा कम्पनी सन् १७५२ मा, डेरी सहकारी सन् १८१० मा र उपभोक्ता सहकारी सन् १८४५ मा स्थापना भएका थिए।
नेपालमा पनि सहकारीको प्रयोग कुनै न कुनै रूपमा प्राचीनकालदेखि नै हुँदै आएको छ। उदाहरणका लागि विगतमा नेपालका विभिन्न क्षेत्रमा सहकारी प्रकृतिका गुठी, पर्म, ढिकुरी, धर्मभकारी आदिको प्रयोग भएको देखिन्छ। तीमध्ये ढिकुरी एक किसिमको अनौपचारिक बचत तथा ऋण सहकारी हो जसले आर्थिक उत्थानका लागि आफ्ना सदस्यलाई ऋण प्रदान गर्छ। गुठी समुदायमा आधारित संस्था हो, जसले धार्मिक, सांस्कृतिक तथा सामाजिक गतिविधिहरूको व्यवस्थापन गर्छ।
यस्तै, धर्म भकार अन्तर्गत समुदायका सदस्यहरूले धार्मिक वा सामाजिक कार्यका लागि अन्न वा अन्य साधन योगदान दिन्छन् भने पर्म भनेको किसानहरूलाई खेती समयमै गर्न आवश्यक श्रम आदान–प्रदान गर्ने अनौपचारिक किसिमको सहकारी पद्धति हो।
आधुनिक सहकारीको विश्व इतिहास : औद्योगिक क्रान्तिसँगै श्रमिकहरूले सहनु परेको सास्तीसँगै आधुनिक सहकारीको आरभ्म भएको थियो। विश्वको पहिलो आधुनिक सहकारीका रूपमा बेलायतको राचडेलमा सन् १८४४ मा स्थापना भएको ‘राचडेल सोसाइटी अफ इक्विटेबल पायोनियर्स’ लाई लिइन्छ, जुन उपभोक्ता सहकारी थियो। विश्वमा पहिलो आधुनिक वित्तीय सहकारीका रूपमा जर्मनीमा फ्रान्ज हर्मन सुल्जे–डेलिट््जले सन् १८५२ मा सहरी क्रेडिट युनियन र फ्रेडरिक विल्हेल्म राइफेसेनले सन् १८६४ मा ग्रामीण क्रेडिट युनियन स्थापना गरेका थिए।
महिला श्रमिकहरूको अधिकारको वकालत गर्न र महिला मताधिकारलाई प्रवद्र्धन गर्न सन् १८८३ मा बेलायतमा एलिस एक्ल्यान्डद्वारा महिला सहकारी गिल्ड स्थापना गरिएको थियो भने सहकारीका मूल्य र मान्यताहरूलाई विश्वभर प्रवद्र्धन गर्न सन् १८९५ मा अन्तर्राष्ट्रिय सहकारी गठबन्धन स्थापना भएको थियो। जापानमा सबभन्दा पहिले सन् १९०० मा ग्रामीण ऋण सहकारी स्थापना भएको थियो भने क्यानडामा अल्फोन्स डेजार्डिन्सले सन् १९०१ मा सबैभन्दा पहिले क्रेडिट युनियन स्थापना गरेका थिए।
नेपालमा आधुनिक सहकारीको विकास भएको सात दशक पुग्न लाग्दा पनि यस क्षेत्रमा अपेक्षित प्रगति भएको छैन। सहकारीसम्बन्धी समसामयिक नीतिगत, कानुनी, संस्थागत तथा नियामक सुधार गरेर आगामी दिनमा सहकारीको स्वस्थ विकास गरिनु पर्छ।
भारतमा सहकारीलाई संस्थागत गर्न सन् १९०४ मा सहकारी ऋण समाज ऐन अपनाइएको थियो भने सहकारीको दायरा विस्तार गर्न सन् १९१२ मा सहकारी संस्था ऐन, १९१२ लागू गरिएको थियो। अमेरिकामा सबैभन्दा पहिलो सहकारीका रूपमा सन् १९०८ मा सेन्टमेरिज को—ओपरेटिभ क्रेडिट एसोसिएसन स्थापना भएको थियो भने सन् १९०९ मा म्यासाच्युसेट््स राज्यमा क्रेडिट युनियन एक्ट पारित भएपछि क्रेडिट युनियनको प्रयोग बढ्दै गएको थियो। सन् १९३४ मा फेडरल क्रेडिट युनियन ऐन लागू भएपछि गैर–लाभकारी क्रेडिट युनियनको संयन्त्र अमेरिकाभर फैलिएको थियो।
नेपालमा आधुनिक सहकारीको विकास : नेपालमा आधुनिक सहकारीसम्बन्धी कानुनी व्यवस्था कार्यकारी आदेश, २०१३ जारी भएदेखि भएको हो भने नेपालको पहिलो सहकारीसम्बन्धी ऐन सहकारी संस्था ऐन, २०१६ हो। यस ऐनको ठाउँमा साझा संस्था ऐन, २०४१ लागू गरिएको थियो भने त्यस ऐनलाई सहकारी ऐन, २०४८ ले प्रतिस्थापन गरेको थियो। २०७४ मा सहकारी ऐन, २०४८ लाई खारेज गरेर सहकारी ऐन, २०७४ लागू गरिएको थियो जुन अहिलेसम्म व्यवहारमा छ। उक्त सहकारी ऐनहरूलाई कार्यान्वयन गर्न सहकारी नियमावली २०१८, साझा संस्था नियमहरू २०४३, सहकारी नियमावली २०४९ र सहकारी नियमावली २०७५ जारी गरिए।
२०१३ मा जारी भएको कार्यकारी आदेश २०१३ अन्तर्गत नेपालको पहिलो सहकारी ‘बखानपुर सहकारी ऋण समिति’ लगायतका सहकारी स्थापना भए भने सहकारी संस्था ऐन, २०१६ लागू गरिएपछि कार्यकारी आदेशअन्तर्गत दर्ता भएका सहकारी संस्थाहरू यसै ऐनअन्तर्गत दर्ता भएको मानिने व्यवस्था गरियो। सहकारी संस्था ऐन २०१६ र त्यसपछि लागू गरिएका विभिन्न ऐनअन्तर्गत विभिन्न समयमा विभिन्न सहकारी संघसंस्था स्थापना भए। जसको संख्या २०१७/१८ सम्म जम्मा ३८२, २०४६/४७ सम्म ९१७ र २०६९/७० सम्म २६,७४१ पुग्यो। २०७९/८० मा दर्ता रहेका करिब ३१,७१५ सहकारीमध्ये प्रारम्भिक सहकारी संस्था ३१,३७३ र सहकारी संघ ३४२ थिए। यी विभिन्न सहकारीका ७३ लाख सदस्य थिए, जसमध्ये ५६ प्रतिशत महिला भएको अनुमान छ। यिनीहरूले ९३ हजार जनालाई प्रत्यक्ष रोजगारी दिएका थिए।
सहकारीको प्रशासन, प्रवद्र्धन र नियमन गर्न विभिन्न संस्था स्थापना गरिए। २०१० सालमा सहकारी विभाग स्थापना गरियो भने २०१९ मा सहकारी प्रशिक्षण केन्द्र। २०२० सालमा सहकारी बैंक स्थापना गरियो, जसलाई २०२४ मा कृषि विकास बैंकमा रूपान्तरण गरियो। २०४८ मा राष्ट्रिय
सहकारी बोर्ड स्थापना गरिएकोमा यसलाई २०८१ मा खारेज गरियो। २०५० मा राष्ट्रिय सहकारी संघ स्थापना भएको थियो, जुन २०५४ मा अन्तर्राष्ट्रिय सहकारी महासंघको सदस्य भयो। २०५७ मा कृषि मन्त्रालयलाई कृषि तथा सहकारी मन्त्रालय नामकरण गरियो भने २०६९ जेठ ५ मा सहकारी तथा गरिबी निवारण मन्त्रालय बनाइयो। २०६० मा राष्ट्रिय सहकारी बैंक स्थापना गरियो भने २०६९ मा राष्ट्रिय सहकारी नीति २०६९ जारी गरेको थियो।
मुलुक संघीयतामा रूपान्तरण भएपछि सहकारी संघ, प्रदेश तथा स्थानीय तीनै तहको अधिकार क्षेत्र राखिएकाले प्रदेश तथा स्थानीय तहअन्तर्गतका सहकारीका लागि कानुनी व्यवस्था गर्न २०७४ मा नमूना प्रदेश तथा नमुना स्थानीय सहकारी कानुनहरू निर्माण गरिए। जसअन्तर्गत प्रदेश तथा स्थानीय सरकारहरूले आआफ्ना क्षेत्रमा सहकारी कानुन तय गरी कार्यान्वयन गरिरहेका छन्। संघ, प्रदेश तथा स्थानीय तहको कार्यक्षेत्र भित्रका बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको नियमन गर्न २०८१ मा एक राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन गर्ने व्यवस्था गरिएको छ।
निष्कर्ष : सहकारीको अवधारणा परापूर्वकालदेखि विकसित हुँदै आएको भएता पनि सहकारी संस्थाहरू औपचारिक रूपमा अठारौं शताब्दीदेखि देखिन थालेको पाइन्छ। आधुनिक सहकारीको विकास सन् १८४४ मा बेलायतमा ‘राचडेल सोसाइटी अफ इक्विटेबल पायोनियर्स’ स्थापना भएपछि भएको देखिन्छ। नेपालमा आधुनिक सहकारीको विकास २०१३ मा बखानपुर सहकारी ऋण समिति स्थापनासँगै भएको हो। नेपालमा आधुनिक सहकारीको विकास भएको सात दशक पुग्न लाग्दा पनि यस क्षेत्रमा अपेक्षित प्रगति भएको छैन। सहकारीसम्बन्धी समसामयिक नीतिगत, कानुनी, संस्थागत तथा नियामक सुधार गरेर आगामी दिनमा सहकारीको स्वस्थ विकास गरिनु पर्छ।
प्रतिक्रिया दिनुहोस !