लागुऔषधको दलदलमा फस्दै युवा : सुनसरीबाट ब्राउन सुगरसहित नौ जना पक्राउ
धरान : लागुऔषध ब्राउन सुगरसहित सुनसरी प्रहरीले नौ जनालाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरो बिराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट संयुक्तरुपमा खटिएको प्रहरी टोलीले कोशी गाउँपालिका वडा नं.-१ भन्सार कार्यालय अगाडिबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए।
भारतको बिरपुरबाट नेपालतर्फ शंकास्पदरुपमा मोटरसाइकल र पैदल आउँदै गरेका उनीहरूलाई चेकजाँच गर्ने क्रममा शरीरभित्र लुकाई छिपाई राखेको अवस्थामा लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको डीएसपी खतिवडाले बताए ।
उनका अनुसार सुनसरी इटहरी उप-महानगरपालिका वडा नं. १६ बस्ने वर्ष ३४ को मनोज कुमार चौधरी साथबाट २७.२७ ग्राम ब्राउन सुगरसहित पक्राउ परेका छन् । इटहरी उप-महानगरपालिका वडा नं-६ बस्ने २३ वर्षीय सनम तामाङ साथबाट २६ ग्राम र इटहरी उप-महानगरपालिका वडा नम्बर २ बस्ने २७ वर्षीय मोटरसाइकल चालक निरज लिम्बूको मलद्वारबाट ३.५६ ग्राम ब्राउन सुगर बरामद गरिएको डीएसपी खतिवडाले बताए । तामाङसँगै रहेका सोहि वडाका २२ वर्षीय सन्दिप मगरलाई समेत पकाउ गरिएको उनले बताए ।
त्यस्तै सुनसरी रामधुनी नगरपालिका -९ का १६ वर्षीय आदित्या चौधरीको साथबाट २.१ ग्राम र धरान उप-महानगरपालिका -१७ का २८ वर्षीय बेगराज लिम्बूको साथबाट प्लाष्टिकसहित ३.१३ ग्राम र उनीसँगै रहेका सोहि वडाका ३४ वर्षीय सागर राई ब्राउन सुगरसहित पक्राउ गरिएको डीएसपी खतिवडाले बताए ।
त्यस्तै रामधुनी नगरपालिका -२ बस्ने २६ वर्षीय मनिष चौधरीको साथबाट २.५६ ग्राम ब्राउन सुगर र सोही नगरपालिका- ५ बस्ने २६ वर्षीय विज्ञान साहको साथबाट ३५.८८ ग्राम ब्राउन सुगर बरामद गरिएको हो।
पक्राउ परेकाहरूको साथबाट एकथान मोटर साइकल र एकथान स्कुटर बरामद गरिएको छ । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा राखेर थप अनुसन्धान थालिएको डीएसपी खतिवडाले जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस !