मोरङको जहदाबाट ११ क्विन्टल बढी गाँजा बरामद, २ जना पक्राउ

मोरङको जहदाबाट ११ क्विन्टल बढी गाँजा बरामद, २ जना पक्राउ
सुन्नुहोस्

विराटनगर  : मोरङको जहदाबाट प्रहरीले बिहीबार दिउँसो ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार अलगअलग स्थानबाट ११ क्विन्टलभन्दा बढी गाँजा बरामद गरिएको हो।

जोशीले १ हजार १ सय २ किलोग्राम गाँजा बरामद भएको जानकारी दिए। जहदा गाउँपालिका–७ का २७ वर्षीय उमेश कामतको घरबाट १ हजार ८८ किलो गाँजा बरामद भएको उनको भनाइ छ। 

घरभित्र गाँजा लुकाएर राखेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट इन्स्पेक्टर सरोज खनालको नेतृत्वमा टोली परिचालन गरिएको थियो। इन्स्पेक्टर खनाल नेतृत्वको टोलीले दिउँसो साढे १ बजेतिर कामतको घर खानतलासी गर्दा गाँजा फेला परेको हो। गाँजा बरामद गरेर कामतलाई समेत पक्राउ गरिएको जानकारी डीएसपी जोशीले दिए। 

त्यस्तै, जहदा –५ का ३३ वर्षीय अरविन साहको घरबाट १४ किलो गाँजा बरामद भएको छ। इन्स्पेक्टर खनाल नेतृत्वको टोलीले दिउँसो करिब २ बजेतिर साहको घरमा छापा हानेको थियो। गाँजा बरामद भएपछि साहलाई पनि प्रहरीले पक्राउ गरेको छ। दुवै ठाउँबाट बरामद भएको गाँजासहित पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको छ। 

प्रहरीका अनुसार बरामद भएको गाँजा भारततिर कटाउने तयारी रहेको हुनसक्छ। ‘गाँजा बरामद भएको स्थान नेपाल–भारत सीमानजिक पर्छ। घरमा भण्डारण गरेर राखिएको गाँजा प्रहरीको आँखा छलेर भारततिर कटाउन लागिएको आशंका छ। यस विषयमा थप अनुसन्धान भइरहेको छ। अनुसन्धानपछि वास्तविकता पत्ता लाग्छ,’ डीएसपी जोशीले भने। 

उनका अनुसार गाँजा कहाँबाट ल्याएर भण्डारण गरिएको हो भन्ने बारेमा यकिन भइसकेको छैन। यद्यपि, पूर्वी पहाडी जिल्ला धनकुटामा उत्पादन हुने गाँजा त्यहाँको प्रहरीसँग ‘सेटिङ’ मिलाएर भारत कटाउन सीमा क्षेत्रमा ल्याइएको हुनसक्ने प्रहरीको अनुमान छ। धनकुटामा प्रहरीसँगै ‘सेटिङ’ मिलाएर खुलेआम गाँजाको खेती गर्ने गरिएको विषय बारम्बार बाहिर आइरहेको छ। 
प्रहरी स्रोतका अनुसार नेपालमा भन्दा भारतमा गाँजाको मूल्य दोब्बर छ। 

नेपालमा प्रतिकिलो २० हजार रुपैयाँसम्म किनबेच हुने गाँजा भारत पुर्‍याएपछि किलोको ४० हजार रूपैयाँसम्ममा बिक्री हुने गरेको प्रहरी अधिकारीहरुको दाबी छ। स्रोतका अनुसार धनकुटालगायत पहाडी जिल्लामा प्रहरीकै ‘सेटिङ’मा गाँजाको अवैध खेती हुँदा पनि नियन्त्रणका लागि चासो दिइएको छैन। खेती गरेर उत्पादन गरिएको गाँजा विभिन्न बाटोको प्रयोग गर्दै भारत पुर्‍याउने गिरोह अहिले सक्रिय रहेको प्रहरीको विश्लेषण छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.