कुकुरले टोकेर घाइते भएका पुरुषको मृत्यु
विराटनगर : मोरङको बेलबारीमा बाटो हिँड्दै गर्दा कुकुरले टोकेर घाइते भएका १ जना पुरुषको बिहीबार मृत्यु भएको छ। प्रहरीका अनुसार मोरङको मिक्लाजुङ गाउँपालिका–६ मगर टोलका अन्दाजी ६२ वर्षीय गौडे भनिने कृष्णबहादुर मगरको मृत्यु भएको हो।
मगरलाई बेलबारी नगरपालिका–१० भाउन्नेमा छाडा कुकुरले बिहीबार बिहान ९ बजेतिर टोकेर घाइते बनाएको थियो। बेवारिसे कुकुरले टोकेपछि उनी सडकमा रक्ताम्य भएर लगेका थिए।
बेलबारी–१० का वडाध्यक्ष गंगाबहादुर याक्खाका अनुसार सडकमा रक्ताम्य अवस्थामा लडिरहेको देखेपछि उद्धार गरेर उपचारका लागि पठाइएको हो।
मगर केही समययता भाउन्ने क्षेत्रमै बस्दै आएका थिए। बाटो हिँड्दै गर्दा अचानक बेवारिसे कुकुरले टोकेर उनी घाइते भएको वडाध्यक्ष याक्खाले बताए। स्थानीय प्रत्यक्षदर्शीले सुरुमा घटनाको जानकारी गराएको र पछि सीसी क्यामेरा फुटेज हेर्दा पनि कुकुरले टोकेको देखिएको उनको भनाइ छ।
याक्खाका अनुसार दायाँ खुट्टाको पिँडुलामा टोकेर मगरलाई गम्भीर घाइते बनाएपछि घटनास्थलबाट कुकुर भागेको थियो। सडकमा लडिरहेका मगरलाई सुरुमा उद्धार गरेर उपचारका लागि नगर अस्पताल बेलबारी लगिएको थियो। त्यहाँ सम्भव नभएपछि थप उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइयो।
अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरिदिएको मोरङ प्रहरी प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए। उनका अनुसार कुकुरले टोकेर लागेको चोटबाट अत्यधिक रक्तश्राव भएका कारण मगरको मृत्यु भएको चिकित्सकले बताएका छन्।
शवलाई पोस्टमार्टमका लागि कोशी अस्पतालमै राखिएको छ। परिवारका सदस्य सम्पर्कमा आइसकेको र शुक्रबार पोस्टमार्टम गरेर शव जिम्मा लगाइने प्रहरीको भनाइ छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस !