बिमस्टेक बैंकक भिजनसहित ६ बुँदे प्रस्ताव पारित
काठमाडौं : बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को छैटौं शिखर सम्मेलन बैंकक सोचपत्र, २०३० जारी गर्दै सम्पन्न भएको छ ।
यस क्षेत्रको व्यापार विस्तार, सम्पर्क सञ्जाल र मानवीय सुरक्षालाई केन्द्रमा राखेर सम्मेलनले समृद्धि, लचिलोपन र खुलापनको नाराअन्तर्गत बिमस्टेक बैंकक भिजनसहित ६ बुँदे प्रस्ताव पारित गरेको हो । पारित प्रस्तावबारे जानकारी दिन आयोजक राष्ट्र थाइल्यान्डका प्रधानमन्त्री पेथोङ्थान सिनावात्राले पत्रकार सम्मेलन गरेकी थिइन् ।
प्रस्तावमा बिमस्टेकलाई प्रभावकारी बनाउन कार्यमुखी संयन्त्र गठन, यसको भविष्य निर्धारणका लागि प्रबुद्ध व्यक्तिहरूको समूह (ईपीजी) गठन, म्यारिटाइम ट्रान्सपोर्ट सम्झौता, भूकम्पबाट प्रभावित म्यान्मार र थाइल्यान्डलाई सहयोग गर्ने विषयसहितको संयुक्त वक्तव्य, पर्यटन र संस्कृतिलाई प्राथमिकता दिँदै जनता–जनताको सम्पर्क विस्तारका विषयहरू छन् ।
थाई प्रधानमन्त्री शिनावात्राले शिखर सम्मेलनको सम्मुखमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्यान्डको पहिलो औपचारिक भ्रमण गरेर दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थपिएको बताइन् । प्रधानमन्त्री ओलीले ‘बिमस्टेक’ शिखर सम्मेलनका मुख्य अन्तरवस्तु र संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्यसँग नेपालले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा गहिरोसँग प्रतिध्वनित हुने बताएका छन् ।
सम्मेलनमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समृद्धि, लचिलो र खुलापनजस्ता बिमस्टेक सम्मेलनका तीन आधार स्तम्भ, दिगो विकास लक्ष्य र नेपालको राष्ट्रिय आकांक्षासँग गहिरो रूपमा प्रतिध्वनित हुने बताएका हुन् ।
उनले बिमस्टेकले परिवर्तनशील समयलाई मात्र नभई हाम्रो क्षेत्रीय सहयोगलाई पुनर्जीवित गर्ने अवसरलाई सदुपयोग गर्नुपर्ने भन्दै, ‘मलाई विश्वास छ शिखर सम्मेलनको विषयवस्तुले हामीलाई त्यो मापन प्रदान गर्दछ, जुन जनता, समृद्धि र कल्याणको पक्षमा छ ।’
उनले यस क्षेत्रका अर्थतन्त्रहरू समान छैनन् भन्ने कुरा स्वीकार गर्दै विशेष आवश्यकता भएका सदस्य राष्ट्रलाई सक्षम बनाउन प्राथमिकताका साथ सहयोग गर्न सबैलाई आग्रह पनि गरे ।
जलवायु परिवर्तनले सम्पूर्ण मानव जातिको अस्तित्वमा संकट सिर्जना गरेको उल्लेख गर्दै उनले यहाँका हिमालयहरू एसियाका लागि पानीका स्रोत भएको भन्दै यहाँका पहाडले विश्वव्यापी तापक्रम घटाउने काममा योगदान पुर्याइरहेको रहाम्रो तर्फबाट भएको न्यून कार्बन उत्सर्जनका बाबजुद पनि तिनीहरूले असमान आक्रमणको सामना गर्नु परिरहेको बताए । ‘यसको प्रभाव पहाडहरूमा मात्र नभई
तल्लो तराई र तटीय क्षेत्रहरूमा पनि फैलिएको छ’, उनले भने ।
पहाडहरूको दुर्दशा र पहाड–महासागरबीचको सम्बन्धलाई उजागर गर्न नेपालले आगामी मे महिनामा ‘सगरमाथा संवाद’को पहिलो
संस्करण आयोजना गर्न लागेकोसमेत उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस !