प्रदूषणको चपेटामा काठमाडौंवासी

प्रदूषणको चपेटामा काठमाडौंवासी

काठमाडौं : केही दिनयता काठमाडौं डम्म तुँवालोले ढाकेको छ। विशेषगरी काठमाडौं उपत्यका र पूर्वी तराईका जिल्लामा यस्तै किसिमको तुँवालोले जनजीवन प्रभावित बनेको छ। यो तुँवालो सामान्य बादल मात्र नभई वायु प्रदूषण भएको मौसम विद् बताउँछन्। यसले गर्दा मानिसको आँखा-नाक पोल्ने, टाउको दुख्ने, घाँटी दुख्ने र श्वास–प्रश्वासमा समस्या देखिन थालेको स्वास्थ्यकर्मी बताउँछन्। 

नेपालमा वर्षमा दुईपटक वायु प्रदूषण हुने गरेको वातावरणविद् एवं वायु गुणस्तर अनुसन्धानकर्ता डा. भूपेन्द्र दास बताउँछन्। पहिलो हिउँदमा (डिसेम्बर र जनवरी) र अर्को भनेको सुक्खायाम (मार्च, अप्रिल) सबैभन्दा बढी वायु प्रदूषण हुने गरेको छ। ‘खुला रूपमा हुने आगलागी वन डढेलो र कृषि अवशेष जलाउने काम मुख्य गरी चैत १५ देखि वैशाख १५ सम्म हुने गरेको छ। वर्षभरि सबैभन्दा बढी प्रदूषण यही अप्रिलमा नै हुन्छ,’ उनले भने। 

दासको अध्ययनअनुसार वर्षमा सबैभन्दा बढी ५० प्रतिशतसम्म प्रदूषण अप्रिल महिनामा नै हुने गरेको देखिन्छ। त्यसपछि फेबु्रअरी र मार्च महिनामा ३० प्रतिशत र बाँकी ९ महिनामा २० प्रतिशत वायु प्रदूषण हुने गरेको छ। अप्रिल महिना भर्खर सुरु भएको भन्दै डा.दासले प्रदूषण बढ्न सक्ने खतरा अझै रहेको बताए।

पछिल्लो समयमा काठमाडौं उपत्यकामा प्रदूषण बढेको छ। विभिन्न स्थानमा भइरहेको आगलागी, वन डढेलो, सवारीसाधनबाट निस्किने धूवाँ, इँटा उद्योगबाट निस्किने ग्यासलगायतका कारणले वायु प्रदूषण बढेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनी बताउँछन्। नेपाल विपद् प्राधिकरणको पछिल्लो ७ दिनको तथ्यांक हेर्ने हो भने देशका १९५ स्थानमा आगलागी भएको छ भने १६८ स्थानमा वन डढेलो लागेको छ।

‘अहिले वायु पश्चिमबाट पूर्वतिर नै बगेको छ। कुनै ठाउँमा आगलागीजन्य क्रियाकलाप भएका छन् भने हावाले काठमाडौं उपत्यकामा उक्त प्रदूषण ल्याएर थुपार्ने गर्छ। 

उपत्यकामा कुनै पनि प्रदूषण छिरिसकेपछि, निस्किनका लागि ठूलो हुरी नै चल्नुपर्छ या पानी पर्नुपर्छ,’ भन्दै पुडासैनीले २० मिटर प्रतिसेकेन्डसम्मको हावा चल्यो भने मात्र प्रदूषण बाहिर लिएर जाने जानकारी दिए। 

अहिले उपत्यकामा त्यस्तो खालको हावाहुरी पनि नचलेको र पानी पनि नपरेको कारणले प्रदूषण बढिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी ३ दिन (शुक्रबार, शनिबार र आइतबार) को मौसम पूर्वानुमान गर्दा पनि उपत्यकामा पानी पर्ने देखिँदैन। यसले वायु प्रदूषण पूर्ण रूपमा हट्ने सम्भावना नभएको पुडासैनीले जानकारी दिए। 

यद्यपि बिहीबार भन्दा शुक्रबार भिजिबिलिटी बढेको थियो। शुक्रबार दिउँसोको समयमा हावा बढी चलेको महाशाखाले जानकारी दिएको छ। यही कारण शुक्रबार काठमाडौं केही खुलेको थियो। ‘विगत केही दिनदेखि काठमाडौंको भिजिबिलिटी निकै नै घटेको छ। बिहानको समयमा भिजिबिलिटी १ किलोमिटरसम्म झर्दा यसले हवाई उड्डयनलाई असर गरेको छ’, पुडासैनीले अन्नपूर्णसँग भने। 

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुल पनि वायु प्रदूषणले बाह्य तथा आन्तरिक उडानमा असर गरिरहेको बताउँछन्। धेरै उडान रद्द हुने, डाइभर्ट हुने र आकाशमा नै होल्ड हुने समय बढेको उनको भनाइ छ। आन्तरिक उडानतर्फ सबैभन्दा बढी लुक्ला विमानस्थलमा उडान हुन नसकेको भुलले बताए। नेपालमा स्टल रुट (पहाडी तथा दुर्गम जिल्लामा हुने उडान) मा भिएफआर (आँखाले देखेको भिजिबिलिटीमा उडान गर्ने) उडान गर्नका लागि हेलिकप्टरका लागि भिजिबिलिटी १५ सय मिटर र आन्तरिक अन्य जहाजका लागि भिजिबिलिटी ५ हजार मिटर चाहिन्छ। 

सबैभन्दा बढी प्रभावित लुक्ला विमानस्थल भएको भन्दै गत शुक्रबार पनि कुनै जहाज त्यहाँँका लागि उड्न नसकेको भुलले जानकारी दिए। यस्तै, आन्तरिकतर्फ काठमाडौं, धनगढी, विराटनगर जस्ता विमानस्थलमा आइएफआर (यन्त्रमूलक उडान) मा जहाज उडान र अवतरण गर्न कम्तीमा १६ सय मिटर भिजिबिलिटी चाहिन्छ। ती विमानस्थलका उडान-अवतरण पनि प्रभावित भएका छन्। अन्तर्राष्ट्रिय जहाजलाई अवतरण गर्ने क्रममा चाहिने भिजिबिलिटी भनेको तिनको प्रकारमा भर पर्ने हुन्छ। ११ सय मिटरदेखि, ३२ सय मिटरसम्म भिजिबिलिटी चाहिन्छ भने उडान गर्न कम्तीमा ८ सय मिटर भिजिबिलिटी भए पुग्ने भुलले बताए। पर्यटकीय मौसममा वायु प्रदूषणले उडान प्रभावित हुँदा असर परेको भूल स्वीकार्छन्।

बिहीबार करिब १२ बजेतिर २५ सय भिजिबिलिटी थियो भन्दै मौसमविद् पुडासैनीले बिहीबार दिनैभरि ४ हजारदेखि ५ हजारको बीचमा भिजिबिलिटी रहेको जानकारी दिए। ‘शुक्रबार पनि बिहानपख (७–८ बजे) १६ सय मिटरसम्म भिजिबिलिटी झरेको थियो। यो समयमा पनि हवाई उडान केही प्रभावित भएको थियो। शुक्रबार अपराह्न काठमाडौंको भिजिबिलिटी ६ हजार मिटर रहको छ। शनिबार बिहान (करिब ९ बजेसम्म) को पूर्वानुमानअनुसार काठमाडौंको भिजिबिलिटी १५ सयसम्मको सम्भावना रहेको छ,’ उनले भने।

वायु प्रदूषणमा नेपाल उच्च

हाम्रा अध्ययनले अप्रिल महिनालाई सबैभन्दा बढी प्रदूषित देखाएको छ भने सरकारले त्यहीअनुसार काम गर्नुपर्छ। अप्रिल अझै बाँकी भएकाले सरकारका निकाय थप सजग हुनु आवश्यक छ। योजना र छलफलमा नै सरकार केन्द्रित रहेको छ।  अध्ययनले ३ महिना बढी प्रदूषित हुने देखाएकाले सरकारले यसमा नियन्त्रणको काम गर्नुपर्छ। डा.भूपेन्द्र दास, वातावरण विद् एवं वायु गुणस्तर अनुसन्धानकर्ता

विश्व वायु प्रदूषण मापन केन्द्र आइक्यूएयरको तथ्यांकअनुसार पहिलो हुँदै काठमाडौंको एक्युआर्ई १८२ रहेको छ भने दोस्रोमा बंगलादेशको ढाकाको एक्युआर्ई १६० रहेको देखिन्छ। गत साताभर नै वायु प्रदूषणमा नेपाल उच्च एक्युआईसँगै ५ औं स्थानको वरपर नै रहेको छ। उक्त इन्डेक्समा सन् २०२१ ६० एक्युआईसँगै ४२ औं स्थानमा रहेको नेपाल वायु प्रदूषण उच्च भएसँगै २०२२ मा १४० एक्युआईसँगै तेस्रो स्थानमा उक्लिएको थियो। २०२३ मा १ सय २४ एक्युआईसँगै तेस्रों स्थानमा थियो। सन् २०२४ मा कम डढेलोका कारण १ सय एक्युआईको गुणस्तरहीन वायुसँगै नेपाल विश्वमा ७ औं नम्बरमा रहेको थियो। 

वातावरण विभागका अनुसार वायु गुणस्तर सूचकांक ०–५० हुँदा राम्रो, ५१–१०० मध्यम, १०१–१५० संवेदनशील समूहका लागि अस्वथ्य, १५१–२०० अस्वस्थ, २०१–३०० निकै अस्वस्थ तथा ३०१ भन्दा माथिले वायुको गुणस्तर खतरनाक तह पुगेको संकेत गर्छ। काठमाडौं उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ ले पनि नेपाल सरकारले निर्धारण गरेको एक्युआर्ईको मान ३०० भन्दा बढी भएको अवस्थालाई विपद्का रूपमा लिने उल्लेख गरेको छ। अन्तर्राष्ट्रिय संस्था आइक्यूएयरका अनुसार विश्वमा वायु प्रदूषणका कारण बर्सेनि करिब ७० लाख मानिसको ज्यान जाने गरेको छ।

नेपालमा विशेषगरी मंसिरदेखि जेठ महिनासम्म वायु प्रदूषण उच्च हुने गरेको पाइन्छ। विगत केही हप्तादेखि नेपालको तराई क्षेत्र लगायत काठमाडौं उपत्यकामा वायु प्रदूषण बढेको विभागले जनाएको छ। नेपालमा वायु प्रदूषणको मुख्य कारक उद्योग कलकारखाना र सवारीसाधनबाट निष्कासन हुने धूवाँ, वन डढेलो, खुुला रूपमा फोहोर तथा कृषिजन्य अवशेष जलाउने, घरबाट निस्कने धूवाँ, सडक तथा निर्माण कार्यहरूबाट उड्ने धुलोसँगै आयातित कारण पनि रहेको वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वातावरण विभागका वातावरण निरीक्षक गोबिन्द लामिछाने बताउँछन्। हिउँदको समयमा वायु प्रदूषण बढ्ने गरेको भन्दै लामिछानेले देशभरि नै पानी पर्न नसकेको कारण वायु प्रदूषण झन् बढेको बताए। 

वायु प्रदूषण अवस्था मापनसम्बन्धी पछिल्लो तथ्यांकअनुसार हावाको कणको आकार २.५ पीएम (२.५ माइक्रोनभन्दा सानो धुलोका कण) लाई आधार मान्दा दक्षिण–पश्चिम दिशाबाट आउने हावासँग सम्बन्धित रहेको देखाउँछ। नेपालका विभिन्न स्टेसनहरूका लागि अत्यधिक प्रदूषित महिना पनि दक्षिण पश्चिमी वायुसँग जोडिएको देखिन्छ र मनसुनको महिनाहरूमा पूर्वी दिशाबाट बढी मात्रामा हावा आउने विभागले जनाएको छ। मार्च र अप्रिल महिनामा हुने वायु प्रदूषण मुख्यता आगलागीसँग सम्बन्धित छ। डढेलो जति बढ्यो वायु प्रदूषण बढ्ने विभागले जनाएको छ। वायु प्रदूषणले मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने र विशेष गरी बालबालिका, वृद्धवृद्धा एवं श्वास–प्रश्वास र मुटुका बिरामी, गर्भवती महिलाहरूलाई बढी प्रभाव पार्ने भएकाले यस्तो बेला विशेष सावधानी अपनाउन भनिएको छ। यसका लागि ठोस तथा प्लास्टिकजन्य फोहोर तथा कृषिजन्य अवशेषहरू नजालाउने, सवारीसाधनको नियमित मर्मतसम्भार गर्ने, उद्योग कलकारखाना तथा भान्साहरूमा स्वच्छ ऊर्जाको प्रयोग गर्ने लगायतमा ध्यान दिन विभागले सार्वजनिक सूचना जारी गर्दै आइरहेको छ।

नेपालमा प्रवृत्ति विश्लेषणको तथ्यांक छैन

करिब ३ वर्षदेखि नेपालमा वायु प्रदूषण बढ्ने गरेको तथ्यांकले देखाउँछ। वातावरण विद् तथा अनुसन्धानकर्ता डा. भूपेन्द्र दासका अनुसार कृषि अवशेष जलाउँदा वार्षिक करिब ३० प्रतिशतले वायु प्रदूषण बढेको छ। यस्तै, सन् २००३ देखि २०१७ सम्ममा गरेको उनको अध्ययनअनुसार हरेक वर्ष करिब १६ प्रतिशतले सवारीसाधन दर्ता बढेको छ। यसले वायु प्रदूषण बढाएको छ। 

यस्तै, अर्को एक अध्ययनले सन् २०१२ देखि २०२१ सम्म प्रवृत्ति विश्लेषण गर्दा साढे ३ लाख जंगलमा आगलागी भएको छ। त्यसमा सन् २०२१मा सबैभन्दा बढी वन डढेलो लागेको थियो। सन् २०२५ मा पनि वन डढेलो प्रवृत्ति बढ्ने जोखिम रहेको अनुसन्धानकर्ता दास बताउँछन्। अर्का एक सोधकर्ता डा. क्षितिज दाहालको शोधपत्रअनुसार विगत दुई दशकमा नेपालभरि उपराष्ट्रिय रूपमा वन आगलागीको संवेदनशीलता बढेको देखाएको छ। 

हाम्रा डाँडाकाँडाका कारण वायु प्रदूषण तुरुन्तै हट्न सक्ने देखिँदैन। अझ काठमाडौं उपत्यकामा त झन् खतरनाक बनिरहेको छ। यहाँबाट वायु प्रदूषण कम हुनका लागि कि पानी पर्नुपर्‍यो कि हावा चल्नुपर्‍यो।  अध्ययनका अनुसार नेपालमा वायुप्रदूषणका कारण करिब ३ वर्ष आयु घटेको छ भने तराईको मात्र ६ वर्ष आयु घटेको छ। प्रा.डा.रेजिना मास्के, त्रिभुवन विश्वविद्यालय

नेपालमा वन डढेलोले ५०० मिलियन टन कार्बन उत्सर्जन भएको छ र यसले जैविक विविधतामा खतरा उत्पन्न गरेको उक्त शोधपत्रको निष्र्कष छ। इन्फर्मेसन जियोग्राफीमा प्रकाशित अध्ययनअनुसार नेपालका जंगलहरू जलवायु परिवर्तनका कारण बढ्दो वन डढेलोको गम्भीर जोखिममा छन्। अन्तर्राष्ट्रिय वैज्ञानिकहरूको टोलीद्वारा सञ्चालित यस अनुसन्धानले अनुमान गरेअनुसार यदि डढेलोको जोखिम नियन्त्रण गरिएन भने १७० मिलियन टन माटो कार्बन र ३२५ मिलियन टन काठ कार्बन उत्सर्जन हुन सक्छ, यसले जलवायु चुनौतीलाई थप गम्भीर बनाउने उनीहरूको आंकलन छ।

उक्त अध्ययनअनुसार नेपालका दक्षिणी प्रदेशहरू–लुम्बिनी, मधेस, र सुदूरपश्चिम सबैभन्दा उच्च वन डढेलो जोखिममा छन्। नेपालका २० मध्ये ६ वटा संरक्षित क्षेत्रहरू, जस्तै चितवन र बर्दिया राष्ट्रिय निकुञ्जले चरम खतरा सामना गरिरहेका छन्, जसले दुर्लभ वन्यजन्तुहरू–बंगाल बाघ, एक सिँगे गैंडा, र जंगली हात्तीको बासस्थान जोखिममा पारेको छ। साथै, काठमाडौं लगायतका प्रमुख सहरहरूको हावाको गुणस्तर झन् बिग्रिन सक्ने पनि आंकलन गरेको छ। 

अध्ययनले भनेजस्तै नै अहिले सामान्य मानिसले नै आंकलन गर्न सक्ने गरी प्रदूषण बढेको त्रिभुवन विश्वविद्यालयकी प्राध्यापक डाक्टर रेजिना मास्के बताउँछिन्। सबैतिर डढेलो लागिरहेको छ भने तराईका जिल्लामा कृषि अवशेष जलाउने क्रम बढेको छ। यही समयमा नै छिमेकी देशहरूमा कृषि अवशेष जलाउने क्रम बढेको भन्दै मास्के यी सबै कारणले प्रदूषण बढेको बताउँछिन्। नेपालमा मुस्किकले प्रायः ३ महिना मात्रै वर्षा हुने गरेकोले पनि प्रदूषण बढ्ने गरेको उनको भनाइ छ। 

बाह्य केही अध्ययनले प्रदूषणको प्रवृत्ति विश्लेषण गरे पनि सरकारी तवरबाट भने अहिलेसम्म अध्ययन हुन नसकेको वातावरण निरीक्षक गोबिन्द प्रसाद लामिछाने बताउँछन्। वातावरण विभागले आगमी जुनसम्म भने काठमाडौंको रत्नपार्कमा राखिएको स्टेसनको प्रवृत्ति विश्लेषण गरी प्रतिवेदन सार्वजनिक गर्ने तयारी गरिरहेको बताए। यो प्रतिवेदनले सन् २०१७ देखि हालसम्मको वायुको गुणस्तरको अध्ययन तथा विश्लेषण गर्ने र यसले प्रवृत्ति विश्लेषणमा सहयोग पुग्ने उनको भनाइ छ।

प्रदूषण नियन्त्रणमा के गर्दै छन् सम्बद्ध निकाय ?

काठमाडौं उपत्यकामा प्रदूषण बढेकोले विज्ञहरूले जोर–बिजोर गरेर सवारी चलाउन र सातामा २ दिन बिदा दिन सुझाव दिएका छन्। यता, वायु प्रदूषण रोक्न भनेर नै सरकारले बजेट छुट्ट्याउने गरेको छैन। जलवायु परिवर्तनमा बजेट छुट्टिने गरे पनि त्यसलाई सिधै वायु प्रदूषणसँग जोडेर हर्ने चलन नभएको वातावरण विभागका वातावरण निरीक्षक लामिछानेको भनाइ छ। वायु प्रदूषणको जिम्मेवारी वातावरण विभागसँग मात्र निहित नभएर स्थानीय सरकार, प्रदेश र संघीय सरकारका पनि विभिन्न विभागहरूसँग ठोक्किने गरेको छ। 

वायु प्रदूषण कम गर्नेदेखि यसको जाँचसम्मका पूर्वाधारमा हाम्रो लगानी निकै नै कम भएको लामिछाने स्वीकार्छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवत्ता रामबहादुर केसी आगलागी तथा वन डढेलो नियन्त्रणका लागि जनचेता नै फैलाउने काम गरिरहेको बताउँछन्। ‘अहिले पनि आगलागीको मुख्य कारण मानवीय नै रहेको छ। वन ऐन २०७६ र वन नियमावली २०७९ ले पनि वनमा आगो लगाउनेलाई दण्ड तथा जरिवानाको व्यवस्था गरेको छ, तर कार्यान्वयनमा समस्या भइरहेको छ। यसका लागि जनचेतना नै प्रभावकारी माध्यम हो,’ केसी बताउँछन्।

विगत ३ वर्षदेखिको वायु प्रदूषणसम्बन्धी अध्ययनले पनि पूर्वीतिरबाट भइरहेको वन डढेलोले प्रदूषण बढाएको देखाउँछ भने दक्षिणी भेग चितवन, सौराहामा वन डढेलो बढ्दो छ। अहिले पश्चिमी वायु चलिरहेको भएर चितवन हुँदै काठमाडौंतिर बगेको हावाले काठमाडौंमा प्रदूषण बढाएको हो।  हसना श्रेष्ठ, वातावरण निरीक्षक, वातावरण विभाग 

कति हुँदा वायु हानिकारक हुन्छ ? 

नेपालमा पीएम २.५ भनिने निकै नै मसिना कण मापन गर्ने गरी रहेका मापन केन्द्रहरू धेरैजसो ठाउँमा राखिएका छन्। विश्व स्वास्थ्य संगठनले तोकेभन्दा धेरै गुणा बढीले हाम्रो वायु खतरनाक रहेको अनुसन्धानकर्ताहरू बताउँछन्। वातावरण विभागअन्तर्गत देशका २७ स्थानमा वायुमापन उपकरण राखिएका छन्। ती उपकरण राखिएका स्थानको हावाको नमुना लिएर प्रदूषणको मापन गर्ने गरेका छन्। पीएम २.५ को मतलब त्योभन्दा सानो कणहरू कति छन् र पीएम १० ले १० माइक्रोनभन्दा सानो धुलोका कणहरू कति छन् भनेर हेर्ने गर्छ। 

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को मापदण्डअनुसार पीएम–२.५ को मात्रा वार्षिक पाँच माइक्रोग्राम प्रतिघनमिटर नाघ्दा प्रदूषित मानिने वातावरणविद् डा. दास बताउँछन्। विश्व वायु प्रदूषण मापदण्ड २०२४ को प्रतिवेदनले नेपालीले श्वास फेर्ने हावा १३ गुणा धेरै प्रदूषित रहेको उल्लेख छ। 

सन् २०२४ मा नेपालको हावामा धुलोधूवाँको कण पीएम–२.५ सरदरमा ४२.८ माइक्रोग्राम प्रतिघनमिटर देखिएको छ। यस्ता कणमा नाइट्रोजन अक्साइडदेखि कार्बनमोनो अक्साइडसम्म र कार्बनसँगै धातु पनि हावामा धुलोधूवाँको कणमा मिसिएको हुन्छ। अझ कोइला उत्सर्जनबाट निस्किने सल्फरडाई अक्साइड घातक हुने वातावरणविद् दास बताउँछन्। विशेषगरी इँटा भट्टामा कोइलालाई इन्धनका रूपमा प्रयोग गरिन्छ। हिउँद र सुक्खायाममा इट्टा उत्पादन बढ्ने हुँदा यसले वायु प्रदूषणमा थप टेवा दिएको र भिजिबिलिटि घटाएको प्राध्यापक डाक्टर मास्के बताउँछिन्। 

पछिल्लो एक सातादेखि हाम्रा सहरहरू निकै नै प्रदूषित बनिरहेका छन्। एक्युआई ३०० भन्दा माथि पुगि काठमाडौं, धनगढी, पोखरा, विराटनगर लगायतका स्थानका हावा निकै नै दूषित भइरहेको छ। वायु प्रदूषणका थोरै कारणहरूको बारेमा मात्र चर्चा हुने गरेको छ। यसमा वन डढेलो, आगलागी, सवारीसाधन, कृषि जीवाशेषमा आगो लगाउने, इँटा उद्योगलाई वायु प्रदूषणको कारण मानिन्छ। तर, त्यसमा हाम्रो ऊर्जाका लागि प्रमुख साधनका रूपमा रहेको दाउराको प्रयोगले वायु प्रदूषणमा भूमिका खेल्ने गरेको छ। साना उद्योगहरू पनि वायु प्रदूषणको स्रोत भएको भन्दै वातावरण निरीक्षक हसना श्रेष्ठ सुक्खा र हिउँदमा वायु प्रदूषण बढ्ने गरेको बताउँछिन्। पीएम २.५ धुलाका कणहरू समस्या हो। सबै स्रोतबाट यही कणहरू निस्किन्छ, यसलाई कम गर्नसक्नुपर्छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.