बढ्दै आवेशमा हत्या

बढ्दै आवेशमा हत्या
सुन्नुहोस्

काठमाडौं :

बहिनी जिस्क्याएको निहुँमा मध्यरातमा हत्या

ललितपुरको इमाडोलमा चैत १४ गते राति खुकुरी प्रहार गरी एक युवकको हत्या भएको छ। रामेछाप स्थायी घर भई ललितपुर बस्दै आएका ३० वर्षीय रिपेश खातीको खुकुरी प्रहार गरी हत्या गरिएको हो। जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख श्यामकृष्ण अधिकारीका अनुसार हत्या आरोपमा रामेछापकै २५ वर्षीय सुमन रसाइलीलाई प्रहरीले पक्राउ गरेको छ। उनका अनुसार राति करिब साढे ११ बजे आपसी विवाद हुँदा रसाइलीले खातीलाई खुकुरी प्रहार गरेका हुन्। प्रहरीका अनुसार मृतकको घाँटीको दुवै भाग र गालामा गहिरो चोट लागेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानमा रिपेश एक युवतीलाई जिस्क्याएको जानकारी पाएपछि सुमनले राति नै रिपेशलाई भेट्न बोलाएका थिए। भेट्न पुगेपछि एक्कासि उनीमाथि खुकुरी प्रहार गरेका हुन्।

ललितपुर प्रहरी प्रमुख अधिकारीका अनुसार सुमनको १४ वर्षीया बहिनीलाई रिपेशले जिस्क्याएको थाहा पाएपछि सुमन रिसाएका थिए। भेटेर कुरा गर्न भन्दै रातको ११.३० मा सुमनले रिपेशलाई बोलाए। पहिल्यैदेखि चिनजान भएको र एउटै जिल्लावासी भएको कारण पनि रिपेश मध्यरातमै सुमन भेट्न पुगे। रिसाएर बसेका सुमनले रिपेश भेट्नासाथ खुकुरी प्रहार गरे र त्यही हत्या गरे। अधिकारी भन्छन्, रिस नियन्त्रण गर्न नसक्दा यो घटना भएको देखिन्छ। रातिको घटना भएकाले प्रहरीले ढिलामात्रै खबर पायो। समयमा उद्धार हुन नसक्दा उनको मृत्यु भएको थियो। बहिनी जिस्क्याएको निवेदन प्रहरीमा दिएको भए पनि यो जघन्य अपराध हुन्नथ्यो।

सामान्य विवादमा अभयको हत्या

काठमाडौं महानगरपालिका–१४ कलंकीको एलआरआई स्कुलनजिकै विवाद हुँदा एक युवकको हत्या भएको छ। हत्या हुनेमा ढुंगेअड्डा घर भएका अभय गोले छन्। यही चैत ११ गते राति ९ बजेतिर कलंकीको एलआरआई स्कुल नजिकको सडकमा दुई समूहबीच विवाद भएको थियो। विवादको क्रममा अनियन्त्रित भीडले अभयमाथि धारिलो हतियार प्रहार गरेका थिए।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहोराका अनुसार, २१ वर्षीय रोहित खड्का, विनय लामा र पर्वित श्रेष्ठको समूहले मृतक गोले समूहलाई खुकुरी र रड प्रहार गरेको थियो। घटना हुनासाथ प्रहरी पुग्दा मृतक गोले चोट लागेको अवस्थामा बीच सडकमा ढलेका थिए। उपचारको लागि उनलाई कलंकीको सहिद मेमोरियल अस्पतालमा पुर्‍याइएको थियो। केही समयपछि नै उनलाई मृत घोषणा गरिएको थियो।

काठमाडौं प्रहरी प्रवक्ता बोहोराका अनुसार साथीहरूबीचको सामान्य विवादले उग्ररूप लिँदा हत्याजस्तो जघन्य अपराध भएको हो। समस्यालाई आफैँ सल्टाउन खोज्दा अपराध घट्यो। हत्या नै गर्नेभन्दा पनि होलीका दिन भएको विवादलाई इगो लिँदा अनाहकमै युवक मारिए। परिवारले सन्तानको विषयमा अपडेट नलिनु र काबुमा राख्न नसक्दा पनि घटना घट्न पुग्यो।

सामान्य विवादमा साथीले नै हत्या गरे

गत फागुन २७ गते मध्यपुर थिमि नगरपालिका– ६ बस्ने ३२ वर्षीय लक्ष्मण खड्काको कुटपिट गरी हत्या भएको थियो। उनको हत्या गरेको आरोपमा सर्लाहीका ३९ वर्षीय यादव पौडेल र सिन्धुली २४ वर्षीय अनिश तामाङ पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी ढुण्डीराज नेउपानेका अनुसार सामान्य विवादमा पौडेल र तामाङले आवेगमा आएर खड्कालाई कुटपिट गरेको बताएका छन्। खड्का मध्यपुर थिमी मगरगाउँमा अचेत अवस्थाका भेटिएका थिए। 

१०० रुपैयाँका लागि हत्या

भक्तपुरकै मध्यपुर ठिमी नगरपालिकामा रहेको नीलवाराहीस्थित पिकनिक स्पटमा खोटाङका ओमप्रकाश राई मृत भेटिए। टाउको र कानमा चोट लागेको अवस्थामा शव भेटिएको थियो। कबाडीको काम गर्दै आएका राइकोे हत्या गरेको आरोपमा रोल्पाका हिमाल बुढामगर पक्राउ परेका छन्। स्थानीय पूजामा चढाएको १०० रुपैयाँ भेटी लिने क्रममा उनीहरूको विवाद भएको थियो।

पछिल्लो दुई हप्तामा उपत्यकामा चारवटा जघन्य हत्याका घटना घटे। हेर्दा र सुन्दा निकै सामान्य लाग्ने कारणहरूमा मान्छेको ज्यान नै समाप्त पार्ने खालका अपराध किन हुन्छन् ? आवेशमा हुने यस्ता अपराधहरू नियन्त्रण गर्न सम्भव छ ? रिसलाई नियन्त्रण गर्न नसक्दा जघन्य अपराधको बाटो समाउने युवाहरू किन उद्दण्ड हुँदै छन् ? 

नेपाल प्रहरीका प्रवक्ता दिनेशकुमार आचार्यका अनुसार, सामान्य विवादमा ख्यालख्यालमै अरूको ज्यान लिने यस्ता घटना हुनु दुःखद् अवस्था हो। आवेशप्रेरित घटना कुनै पूर्वयोजना वा तयारीले घटाएका हुँदैनन्। यसलाई नियन्त्रण गर्न अत्यन्तै गाह्रो छ। कसको घरमा के भइरहेको छ ? कुन कुन समूहबीच झैझगडा पर्‍यो ? प्रहरीलाई अग्रीम जानकारी हुँदैन। आवेशले निम्त्याउने अपराध रोक्नै सकिन्न। घटना भइसकेपछि अनुसन्धान गर्ने तथा सजाय दिलाउने जिम्मा प्रहरीले पूरा गर्छ। समाजमा अपराध हुन नदिनको लागि त समाजमा नै जनचेतना फैलाउनुपर्छ। हरेक परिवारले आफ्ना छोराछोरीको व्यवहार र कामको विषयमा नियन्त्रण गर्नुपर्ने हुन्छ।

प्रहरी प्रवक्ता आचार्य अगाडि भन्छन्, अपराधबिनाको समाज राज्यको परिकल्पना हो। यसका लागि सबैले आआफ्नो ठाउँबाट सहयोग गर्नुपर्छ। अपराध गर्नेहरूले कानुन जानेका हुन्छन्? भन्ने प्रश्नमा प्रहरी प्रवक्ता भन्छन्, ‘आवेशको बेलामा भोलि के होला भनेर प्रायः कसैले पनि सोचेको हुँदैन ?’ रिसको बलामा रिजल्टको ख्याल नगर्दा नै यस्ता घटना घट्ने हो। समाजमा बेरोजगारी बढेर युवाहरू कामविहीन हुँदा पनि अपराधका घटना बढ्ने उनको तर्क छ। उनी भन्छन्, ‘आवेशका अपराध कि त पैसाका लागि घटेका हुन्छन् कि त सम्बन्धको विषयमा जोडिएका हुन्छन्। यो बिल्कुल व्यक्तिगत कारण हुन्छ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.