मेस्तरबस्तीमा शिक्षाको ‘इजोत’
जनकपुरधाम : शैक्षिक अवस्था निकै कमजोर रहेको मेस्तर समुदायमा शिक्षाको उज्यालो छर्न मेस्तर समुदायकै युवाको पहलमा निःशुल्क ट्युसन कक्षा सञ्चालनमा ल्याइएको छ। अज्ञानताको अँध्यारोबाट शिक्षाको उज्यालोतर्फ लग्ने यस कक्षाको नाम युवाले ‘इजोत’ अर्थात् उज्यालो राखेका छन्। ६ महिना अगाडिसम्म सुँगुरको खोर र मदिरा भट्टी रहेको मेस्तर बस्तीको चोकमा अहिले बालबालिकाका लागि निःशुल्क पढ्ने ट्युसन कक्षा सञ्चालनमा आएको छ। जनकपुरधाम उपमहानगरपालिका– १ सीताचोकको मेस्तरबस्तीका बालबालिका अहिले साँझको ५ बज्नेबित्तिकै किताब, कापी र विद्यालयको झोला बोकेर ट्युसन कक्षा प्रवेश गर्छन्।
पुरानो चदरा, बाँस र प्लास्टिकको त्रिपालले जेनतेन घेरबेर गरेर बनाइएको एउटा सानो कक्षाकोठाभित्र मधुरो बत्तीको उज्यालोमा बालबालिकाले पढ्न पाएका छन्। बस्तीभरिका कक्षा १ देखि ८ सम्मका ६० बालबालिका अध्ययनरत ट्युसन कक्षामा उनीहरूलाई किताबी ज्ञानमात्रै नभई व्यावहारिक र सामाजिक परिवेशमा कसरी सभ्य र सुसंस्कृत भएर बस्ने भन्ने ज्ञानसमेत दिने गरिन्छ।
‘हामी मेस्तर समुदाय यस सभ्य समाजमा निकै पछाडि परेका छौं। यसको मुख्य कारण हो हामी शिक्षामा पछाडि छौं। त्यसैले आफ्नो बस्तीका बालबालिकालाई समाजको मूलधारमा ल्याउन हामीले यो निःशुल्क ट्युसन कक्षा सञ्चालनमा ल्याएका छौं,’ कक्षा सञ्चालनको सुरुवात गरेका मेस्तर समुदायकै युवा इन्द्रजित मेस्तर भन्छन्, ‘मेरो परिवारमा पनि बुवाआमा पढ्नु भएको थिएन। उहाँहरूले सरसफाइको काम गरेर जीवन चलाउनुभयो। म सानो हुँदा कक्षा ८ सम्म मात्र पढ्न पाएँ र म पनि सरसफाइकै काममा लागेँ तर, जब जब मैले आफ्नो जीवनमा कुनै काम वा अवसर पाउँथे त्यहाँ कम पढेलेखेकै कारण पछाडि पर्नु पथ्र्याे। यो पीडालाई कम गर्न आफ्नो समुदायका बच्चाहरूको राम्रो भविष्यका लागि उनीहरूलाई पढ्ने वातावरण बनाउँदै छौं।’
इन्द्रजितसँगै युवा आनन्द राउत र कृष्णा मेस्तरले मिलेर कक्षा सञ्चालन गर्ने गरेका छन्। बालबालिकालाई पढाउन बनाइएको सानो झुपडी पनि यिनै युवाले आफैंले सरसामान जोहो गरेर बनाएका हुन्। सरसफाइकर्मीकै रूपमा रहेर काम गर्ने मेस्तर समुदायमा शिक्षा, सरसफाइ र समृद्धिको अवस्था निकै दयनीय रहेको हुँदा यस समुदायका बालबालिकासमेत विद्यालय गए पनि चाँडै पढाइ छाड्ने प्रवृत्ति बढ्दो छ।
‘हाम्रो समुदायमा बच्चाहरू धेरै पढ्यो भने पनि अगाडि गएर सरसफाइकर्मी नै बन्छ भन्ने सोच छ। तर, हामीले राम्ररी शिक्षा आर्जन गर्र्यौं भने लोकसेवा पास गरेर सरकारी जागिर खान सक्छौं, राम्रो ठाउँमा जागिर पाउन सक्छौं। सबै कामहरू गर्न सक्छौं, जुन अन्य समुदायका व्यक्तिहरू गर्छन्। यही सोच अभिवृद्धि गर्न हामी बालबालिकाको शिक्षा सुधारमा लागिपरेका छौं,’ कक्षा १० को परीक्षा सकेर अगाडि पढाइ गर्ने सोचमा रहेका र हाल आफ्नै बस्तीका बालबालिकालाई निःशुल्क कक्षामा पढाउने गरेका युवा कृष्ण मेस्तर भन्छन्, ‘मानिस—मानिसबीचको विभेद र फरकपना हटाउने एक मात्र माध्यम शिक्षा हो। त्यसैले हाम्रो बस्तीका बालबालिकाले यो फरकपना भोग्नु नपरोस् भन्दै इजोतलाई अघि बढाउन लागिपरेका छौं।’
इजोत निःशुल्क ट्युसन कक्षामा शैक्षिक सामग्री तथा सरसफाइको लागि स्वास्थ्य जाँचको व्यवस्थामा मधेस प्रदेशसभा सदस्य रामआशिष यादवले सहयोग गरिरहेका छन्। यादवले बालबालिकाका लागि चाहिने कापी, कलम, स्कुल ब्यागलगायतका सामग्रीहरू बेलाबखत उपलब्ध गराउने गरेका छन् भने ‘हेल्दी स्कुल अभियान’ स्वास्थ्य जाँच शिविर पनि सञ्चालन गर्दै आएका छन्।
‘मेस्तर समुदायको जीवनस्तर उकास्न शिक्षा आवश्यक रहेको ठानेर सोही समुदायका केही जागरुक युवाले यो राम्रो शैक्षिक अभियान सुरु गरेका हुन्। यो निकै सराहनीय र प्रशंसनीय छ,’ सांसद यादवले अन्नपूर्णकर्मीसँग कुरा गर्दै भने, ‘मैले आफ्नो तर्फबाट सक्दो सहयोग गर्दैछु। पहिले त त्यो ठाउँमा खुट्टा राख्न सक्नेसम्मको स्थिति थिएन। यस्तो दुर्गन्धित र फोहोर हुन्थ्यो तर, अहिले हामी सबैले लागेर त्यसलाई बालबालिकाको लागि पढ्ने थलो बनाएका छौं र आगामी दिनमा अझ राम्रो बनाउने योजना छ।’
प्रतिक्रिया दिनुहोस !