गर्मी बढेसँगै रौतहटको वनमा डढेलो
रौतहट : गर्मीको सुरुवातसँगै रौतहटका विभिन्न वन क्षेत्रहरूमा डढेलोको प्रकोप तीव्र बन्दै गएको छ। पश्चिमी तातो हावाको असरसँगै फैलँदो डढेलोले वनस्पति मात्र नभई वन्यजन्तु र मानव बस्तीसमेत प्रभावित बन्दै गएको हो।
स्थानीय सरोज राउतका अनुसार हाल दैनिकजसो जिल्लाका वन क्षेत्रमा डढेलो लागिरहेको छ। डढेलोको त्रासका कारण जंगली जनावरहरू सुरक्षित आश्रय स्थल खोज्दै बस्ती र राजमार्गतर्फ देखा पर्न थालेका छन्।
डढेलोको उच्च जोखिम क्षेत्रका रूपमा लमहा, पौराई, गैडाटार, चन्द्रनिगाहपुर, भोलनटार, सिमरी, बलेरी, जंगलसैया र भैसही लगायतका क्षेत्रहरू चिनिएका छन्। चन्द्रपुर नगरपालिका-६ का वडाध्यक्ष सहदेव केसीका अनुसार डढेलोले वन नजिकका बस्तीहरू समेत जोखिममा परेका छन्। हालै चिम्नीटोल र डाबरी टोल नजिकको सामुदायिक बनमा लागेको डढेलो दमकलको सहायतामा नियन्त्रणमा ल्याइएको थियो।
डिभिजन वन कार्यालयले डढेलो नलगाउन आग्रह गर्दै संलग्न व्यक्तिको पहिचान गरी कारबाही गर्ने चेतावनी दिएको छ। यता डिभिजन बनले सक्रिय रुपमा डढेलो नियन्त्रण गर्न चासो नदेखाएको स्थानियको आरोप छ। डढेलोले बर्सेनि वनसम्पदा, वन्यजन्तु, मानव बस्ती र पर्यावरणीय सन्तुलनमा ठूलो क्षति पुर्याउने गरेको पाईन्छ।
प्रतिक्रिया दिनुहोस !