शकुनी सल्लाहले असफल नेतृत्व

शकुनी सल्लाहले असफल नेतृत्व

 

 

पाण्डवका सल्लाहकार थिए, श्रीकृष्ण । कौरवका सल्लाहकार थिए, शकुनी । रामलाई कैकेईले औधी माया गर्थिन् । तर रामलाई जन्म दिने आमा कौशल्या थिइन् । जब मन्थरा राम र कैकेईको बीचमा आइन्, रामप्रति कैकेईको सारा प्रेम समाप्त भयो । यतिमात्र होइन, रामलाई वनवास जानुपर्‍यो । मन्थराको सल्लाहमा कैकेईले रामलाई वनवास पठाउन र आफ्ना छोरा भरतलाई राजगद्दी दिलाउन त सफल भइन् । तर, कैकेईले अन्यायपूर्ण तरिकाले रामबाट खोसेको त्यो राजगद्दी भरतले ठाडै अस्वीकार गरेर आफ्नै आमाको गालामा न्यायको थप्पड हाने । मन्थराको बहकाउमा लागेर कैकेई प्रजाको नजरबाट मात्र होइन, आफ्नै छोरा भरतको नजरबाट पनि गिर्न पुगिन् । शकुनीकै कारण कौरवको सर्वनास भयो ।

यो इतिहास छर्लंग हाम्रोसामु छ । तर हामीहरू शकुनी सल्लाहले जीवनमा कसरी बर्बादी ल्याउँछ भन्ने कुरा पढेर–सुनेर पनि यसतर्फ सचेत हुन सकेका छैनौं । त्यसैले त आज हरेक मानिस–मानिसमा, घरपरिवारमा, समाजमा र राष्ट्रमा समस्या यस कारण छ कि त्यहाँ श्रीकृष्ण होइन, शकुनीहरू छन् । मन्थराहरू छन् । शकुनी मन्थराहरूले नै घरघरमा झैझगडा तथा मारपिट गराएका छन् । 
समाजको सद्भाव बिगारेका छन् । राष्ट्रलाई भड्खालोमा जाकेका छन् ।

२०४६ सालमा प्रजातन्त्र पुनस्र्थापनापछि बनेको पहिलो निर्वाचित सरकारले ठीकठाक काम गरिरहेको थियो । तर शकुनीहरूले आफ्नै पार्टीका ३६ समूहलाई सिध्याउन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई उस्काए । नेपाली कांग्रेसको बहुमत भएको प्रतिनिधिसभा विघटन गरेर गिरिजाप्रसाद कोइरालाले मध्यावधि निर्वाचन गराए । नतिजा, कांग्रेस हार्‍यो । नेकपा एमाले ठूलो पार्टी बन्यो । हग पार्लियामेन्टका कारण राजनीतिक अस्थिरतामात्र होइन, चरम विकृतिहरू देखा परे । यदि गिरिजाप्रसाद कोइराला शकुनी सल्लाहकारहरूको उस्काहटमा नलागी देश, जनता र प्रजातन्त्रलाई केन्द्रमा राखेर अघि बढेको भए, पाँच वर्ष नै नेपाली कांग्रेसका सरकार रहन्थ्यो । विकास निर्माणले गति लिन्थ्यो, राजनीतिक स्थिरता कायम हुन्थ्यो । नेपालमा राजनीतिक अस्थिरताको सुरुआत यहीबाट भएको हो । 

शकुनी सल्लाहकारहरूकै कारण २०५७ सालमा गिरिजाले कृष्णप्रसाद भट्टराईलाई हटाएर आफू प्रधानमन्त्री बने । गिरिजालाई हटाएर शेरबहादुर देउवा प्रधानमन्त्री बने । शकुनीहरूकै कारण उतिबेला शेरबहादुर देउवाले २०५९ सालमा प्रजातन्त्रलाई दरबारमा बुझाउने काम मात्र गरेनन् कि अहिले कांग्रेसलाई डिस्चार्ज भएको ब्याट्रीजस्तो बनाएका छन् र कांग्रेसको अधिवेशन सार्ने कोसिस गरिरहेका छन् । प्रतिगामीहरूले टाउको उठाउने कोसिस गरिरहेका छन् । लोकतन्त्र नै खतरामा पर्न सक्ने स्थिति देखा पर्दैछ । तर पनि शेरबहादुर देउवाको चेत खुलेको छैन, खुल्नेवाला पनि छैन । त्यो किनभने अहिले पनि उनी शकुनीहरूको घेरालाई आफ्नो सुरक्षा कवच ठानेका छन् र उनीहरूकै उस्काहटमा लोकतन्त्रको धज्जी उडाउने काम गरिरहेका छन् । 

शकुनी सल्लाहकारकै कारण सुशील कोइराला राष्ट्रपति बन्ने अवसर गुमाए । सुशील कोइराला राष्ट्रपति बनेको भए सम्भवतः विद्यादेवी भण्डारी राष्ट्रपति बन्ने मौका पाउन्थिइनन् । अनि केपी शर्मा ओलीले गिरिजा शैलीमा माधव—प्रचण्ड ग्याङ्ग सिध्याउन पटकपटक मध्यावधि निर्वाचनको घोषणाको आँट गर्दैनथे । केपी शर्मा ओली, माधव नेपाल र प्रचण्ड शकुनीहरूको उस्काहटमा नलागेको भए नेकपा फुट्ने पनि थिएन । नेपाली राजनीतिमा शकुनी सल्लाह ज्यादै खतरनाक हुँदै आएको छ । शकुनी सल्लाहको कारण नै नेपालका हरेक प्रधानमन्त्री लक्ष्यतिर होइन, लस्ट (गुमाउने) तिर लागेका छन् । लस्टको मनोवैज्ञानिक अर्थ कामुकता होइन, लक्ष्यबाट विचलित हुनु हो । 

काम कुरो एकातिर प्रधानमन्त्रीहरू शकुनीहरूको घेराभित्र भएपछि नेपालको यो स्थिति हुनु कुनै अनौठो कुरा होइन । 
गिरिजा र देउवा सरकारमात्र होइन, मनमोहन सरकार, प्रचण्ड सरकार, माधव र बाबुराम सरकार, ओली सरकार, नेपालमा जति पनि सरकारहरू आए, गए ती सबै सरकारहरू प्रत्यक्षपरोक्षरूपमा शकुनी सल्लाहकै कारण जनताका सामु गिरे । बदनाम भए । केही पतन भए । केही नामेट भएर गए । राजा राणाहरूले प्नि यिनै शकुनी सल्लाहका कारण देशलाई ठुलो क्षति गराए । आफ्नै खाल्टो आफैं खने । शकुनीकै कारण ज्ञानेन्द्रले राजतन्त्र समाप्त पारे । अहिले फेरि चुपचाप एक नागरिक भएर आफ्नो व्यापार व्यवसाय नगरेर शकुनीहरूको सल्लाहमा दुर्गा प्रसाईंजस्ता उद्दण्डलाई कमान्डर बनाएर बिध्वंश मच्चाए, अझ यस्तै हर्कत गर्ने कोसिस गर्दैछन् । यस्तै आपराधिक हर्कत गरे पनि आफैं ध्वस्त हुन सक्छन् । अरूलाई ढाल्छु भन्ने मानिस ढालिन पनि सक्छ है ।

तस्बिर यति छर्लंग छ, तर नेपालका राजनीतिक पार्टीहरूले व्यक्तिगत, गुटगत र पार्टीगत स्वार्थका कारण तनमनबाट श्रीकृष्णलाई अपनाउन र शकुनीलाई हटाउन सकेका छैनन् । यो नै नेपाल र नेपालीको विडम्बना हो । अहिलेको मात्र होइन, उहिल्यैदेखि नै नेपाल सरकारको सल्लाहकारहरूमा मेडिकल माफियाहरू छन्, शैक्षिक माफियाहरू छन्, भूमाफियाहरू छन्, काला बजारियाहरू तथा मानव तस्करहरू छन् । यिनै माफिया शकुनीहरूको सल्लाहबमोजिम सरकारले मनस्थिति र त्यो शकुनी मनस्थितिले योजना बनाउने गरेको छ । त्यसैले त नेपालमा माफियाका लागि हिरा कटाई र आम नागरिकका लागि ढाड भच्चाइको परिस्थितिसिर्जना भएको हो । एउटा मनोवैज्ञानिक सत्य के हो भने मनस्थितिले परिस्थिति बनाउँछ । मनस्थिति ठीक नबनाएसम्म परिस्थिति कदापि ठीक हँुदैन । के हारको मनस्थितिले कसैले जित्न सक्दछ ? जितका लागि जितको मनस्थिति आवश्यक छ । जब मानिसको मनमस्तिष्कमा जीतको मनस्थिति पैदा हुन्छ र मानिस लक्ष्यमा अर्जुनदृष्टि अगाडि बढ्छ, तब उसको जित निश्चित छ । 

एक जना मनोवैज्ञानिकले भनेका छन्, तिम्रा साथीहरू को को हुन् मलाई देखाइदेऊ, मैले तिम्रो भविष्य बताउन सक्दछु । हुन पनि हो, आसेपासेबाट नै मानिसको जीवन प्रभावित हुन्छ । मानिसको संगत जस्तो छ, ऊ त्यस्तै हुने गर्छ । शकुनी सल्लाहले मानिस दुर्योधन बन्न त सक्दछ । तर अर्जुन बन्न सक्दैन । अर्जुन बन्न श्रीकृष्ण सल्लाह नै चाहिन्छ । 

हो, अहिले हाम्रासामु श्रीकृष्ण त छैनन् । तर, गीता त छ नि । गीताको सम्बन्धमा कतिपय मानिसहरू गलत धारणा छ । यो शकुनी सल्लाहको फल हो । वास्तवमा गीता न त कर्मकाण्ड हो, न त धर्मग्रन्थ हो । गीता मनोविज्ञान हो । मानिसका लागि  श्रीकृष्णले उपहार दिएको सक्सेस मैनुअल हो । दिशा निर्देशक हो । उत्प्रेरक हो । गीता राजनीतिक मनोविज्ञान पनि हो । गीतामा भावनात्मक रूपमा समर्थ, इमान्दार, ज्ञानवान् र चरित्रवान् राजनीति फर्मुला पनि उल्लेख छ । खासमा माक्र्सवादको सुँगारटाइ गर्ने नेपालका कम्युनिसटहरूले तथा पढ्दै नपढ्ने कांग्रेसीहरूले ज्ञानको महासागर श्रीमद्भगवतगीता पढेर यसका भनाइहरूलाई आफ्नो जीवनमा रूपान्तरित गरेको भए हामी नेपाली विश्वका सबैभन्दा सचेत, जागरुक तथा विकसित नागरिक हुने थियौं । त्यो किनभने गीता मनोविज्ञान बुझ्ने मानिस न बेइमान हुन सक्दछ न विश्वासघाती नै ।

यस्ता मानिसले आफ्नो नाफा नोक्सानको लागि काम गर्दैन र आफ्नो कर्मलाई आफ्नो धर्म मानेर शतप्रतिशत त्यसको पालना गर्छन् । जितहारसँग न त अति उत्साहित हुन्छन् न त अति दुरुत्साहित । चुनाव जिते पनि अहंकार गर्दैनन्् । सिर्फ असल काम गर्छन् । आफ्नो कर्तव्य इमान्दारका साथ पूरा गर्छन् । चुनाव हारे पनि असल काम गर्न छोड्दैनन् । कर्तव्य, इमान्दारिता तथा निष्पक्षता गीताले दिने राजनैतिक धर्म हो ।

महात्मा गान्धीले स्वर्ग जाने अभिलाषाले गीता पढ्दैनथे । आफ्नो विराट लक्ष्यमा विजयको झन्डा गाड्न गीता पढ्ने गर्थे । उनले भनेका नै छन्, जब म समस्याहरूबाट घेरिन्छु, जब मेरो वरिपरि कठिनाइहरू आउँछन्, मैले आफूलाई एक्लो महसुस गर्छु, मैले लक्ष्य देख्न छाड्छु । तब मैले गीता खोलेर पढछु, तुरुन्त मलाई मेरो लक्ष्य प्रस्ट हुन्छ । 

अतः हामी सबैले मनन् गर्नुपर्ने कुरा के हो भने जबसम्म मानिसले आफ्नो मनमस्तिष्कबाट, आफ्नो दायाँबायाँबाट शकुनीहरूलाई निकाल्न सक्दैनन्, मन्थराहरूलाई हटाउन सक्दैनन् । श्रीकृष्ण सल्लाहअनुसार अगाडि बढ्दैनन्, तबसम्म मानिसको जीवन सफल हुन सक्दैन । यो निश्चित छ । नेपाली राजनीतिक नेतृत्वलाई असफल बनाउने पनि यिनै शकुनीहरू हुन् । नेपाली राजनीतिक नेतृत्वले यो मनोविज्ञान कहिले बुझ्ने हो ?
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.