खण्डहर बन्यो जयगढ, पुनर्स्थापनाको पर्खाइ

खण्डहर बन्यो जयगढ, पुनर्स्थापनाको पर्खाइ

अछाम  : नामै जयगढ, अर्थात् जितको खुसियालीमा जयजयकार गर्ने ठाउँ । तर, त्यही जयगढमा रुवावासी चलेको छ । अधिकांश घर, पसल ध्वस्त छन् । आगोले जयगढ बजार खण्डहर बनेको छ । बजार मात्रै जलेको छैन, स्थानीयका मन पनि डढेका छन् । जयगढका उजाड र अत्यासलाग्दा दृश्यले जो कोहीलाई स्तब्ध बनाउँछ । 

चैत ८ गते बान्नीगढी जयगढ गाउँपालिकामा विपद्सम्बन्धी नमुना अभ्यास गराइयो । सरस्वती माविनजिकै रहेको बस्तीमा भीषण आगलागी गराइयो, खोज, उद्धार, उपचार र राहतबारे सर्वसाधारणलाई जानकारी दिइयो । दुर्भाग्य नै भन्नुपर्छ, नमुना अभ्यासको १७ दिनपछि जयगढ बजार आगोको लप्कामा पर्‍यो, एकैपटक खरानी भयो । २३ वटा घर–पसल स्वाहा भए । जयगढले पहिलोपटक ठूलै विपद्को सामना गर्नुपर्‍यो । 

बुधबार साँझ एउटा आईएमई सेन्टरमा ग्यास सिलिन्डर विस्फोट भयो । त्यहाँबाट सल्किएको आगोले पूरै जयगढ बजार नै खरानी बनायो । शरीरको एकजोर लुगाबाहेक अरू सबै नष्ट भएको पीडित निर्मला रावलले बताइन् । उनले भनिन्, ‘बम पड्केको जस्तो ठूलो आवाज आयो । हामी सबै कराउँदै के भयो भन्दै बाहिर निस्कियौं । आगो दनदनी बलेर एक–एक गर्दै घरहरूमा सल्किन थाल्यो । आँखै अगाडि सबै चिज खरानी हुन थाले ।’ बजारको दायाँबायाँका सबै घर आगोले निल्दै निर्मलाको घरसम्म पुग्ने अवस्था आयो । बजारका अरू घर–पसल जोगाउन निर्मलाको घर भत्काउनुपर्ने सुझाव दिइयो । निर्मलाले ठूलै छाती गरेर आफ्नो घरमा डोजर लगाउने अनुमति दिइन् । उनको घर भत्काएर आगो अरू पसलमा सल्किनबाट रोकिएको थियो । 

दमकल र पर्याप्त पानीको अभावका कारण जयगढ बजारमा लागेको भीषण आगो नियन्त्रणमा ल्याउन करिब ६ घण्टा लागेको थियो । स्थानीय पुष्पराज शर्माले सञ्चालन गरेको आईएमई सेन्टरमा साँझ ७ बजेर २० मिनेटमा ग्यास सिलिन्डर विस्फोट भएर आगलागी सुरु भएको स्थानीयको भनाइ छ । राति १२ बजेर ३० मिनेटमा मात्रै आगो नियन्त्रणमा आएको थियो । मंगलसेन नगरपालिकाको दमकल नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

पुरानो भौतिक संरचना, घनाबस्ती, जिल्लामा एकमात्र दमकल हुनु, बजारको साँघुरो बाटो, पानीको अभावका कारण आगलागी नियन्त्रणमा लिन समस्या भएको थियो । आगलागीबाट बजारका ३०/३५ घर, पसलहरू जलेर नष्ट भएको स्थानीय संगम साउदले बताए । क्षतिको यकिन विवरण संकलन भइरहेको साउदले बताए । उनले भने, ‘आगो नियन्त्रणभन्दा बाहिर थियो । बिहान ३ बजेसम्म आगो पूर्णरूपमा निभेको थिएन । हावाहुरीका कारण आगोले झन् उग्ररूप लियो ।’

तत्काल राहतका लागि विपद् व्यवस्थापन कोषबाट ६ लाख उपलब्ध गराउने निर्णय भएको गाउँपालिका अध्यक्ष टेकबहादुर साउदले बताए । उनले भने, ‘ठूलो विपद्को सामना हामीले गर्नुपर्‍यो । अकल्पनीय घटना भयो । अहिले गाउँपालिका नै शोकमा छ । पीडितहरूलाई राहत उपलब्ध गराउन तर्फ लागिपरेका छौं । जयगढ बजार नै सखाप भयो ।’

गाउँपालिकाले घटनाबारे प्रेस विज्ञप्ति निकाल्दै भौतिक संरचनाबाहेक करिब ८ करोड बराबरको क्षति भएको आकलन गरिएको उल्लेख गरिएको छ । २३ वटा घरमा रहेका ३५ वटा घर,पसलहरू पूर्णरूपमा जलेर नष्ट भएको विज्ञप्तिमा उल्लेख छ । गाउँपालिकाबाट पीडितहरूका लागि खाद्यान्न, आवास र लत्ताकपडाको व्यवस्था भइसकेको र दीर्घकालीन व्यवस्थापन र पुनस्र्थापनाका लागि संघ, प्रदेश सरकार तथा अन्य निकायहरूसँग आवश्यक पहल भइरहेको विज्ञप्तिमा भनिएको छ । आगलागीको यो घटनालाई सिकाइका रूपमा लिँदै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सतर्कता अपनाउने गाउँपालिका अध्यक्ष साउदद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ । 

प्रदेश सरकारको ५० लाख आर्थिक सहयोग
जयगढ बजारमा भएको आगलागी पीडितलाई सुदूरपश्चिम प्रदेश सरकारले ५० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । बुधबार बिहान बसेको प्रदेश विपद् जोखिम न्यूनीकरण तथा नियन्त्रण परिषद्को बैठकले उक्त सहयोगको निर्णय गरेको हो । मुख्यमन्त्री कमलबहादुर शाहले प्रारम्भिक क्षतिको विवरणका आधारमा ५० लाख सहयोग गर्ने निर्णय गरिएको जानकारी दिए ।

क्षतिको पूर्ण विवरण प्राप्त भएपछि प्रदेश सरकारले थप सहयोग गर्ने मुख्यमन्त्री शाहले बताए । घटनाको स्थलगत अवस्था बुझ्नका लागि सामाजिक विकासमन्त्री मेघराज खड्का र आन्तरिक मामिलामन्त्री हीरा सार्की जयगढ पुगेका छन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.