राजतन्त्र ब्युँताउँछु भन्दै आन्दोलनका नाममा बैंक डुबाउने र रक्सीका बोतल लुट्नेहरूको भ्रममा नपरौं : प्रधानमन्त्री ओली
झापा : प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ठूला दलको सहभागितामा सरकार बनेसँगै देश स्थिरता, स्थायित्व, विकास र सुशासनको बाटोमा अघि बढेको बताएका छन्।
दमकमा आयोजित एमालेको जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकासका नाममा तमासा (स्टन्ट) गर्नेहरूले ड्राइभिङ सिक्दै नसिकी गाडी चलाउन खोजेझैँ ढुंगा हानेका भरमा राजनीति चलाउन खोज्छु भनेर उधुम मच्याएको आरोप लगाए।
'देश अब कानुन र विधिअनुसार अगाडि बढ्छ। आन्दोलनका नाममा बैंक डुबाउनेहरू, आगजनी गर्नेहरू, रक्सीका बोतल लुटेर भाग्नेहरूले जनताले फ्ँयाकिसकेको राजतन्त्र ब्युँताउन क्रान्ति गर्छुभन्दा कसैले उल्किनु वा भ्रम पाल्नु पर्दैन। ठूला कुरा गर्ने र हल्ला गर्नेहरूले देश बनाउँछु भनेर धाक लगाएर केही हुँदैन। त्यस्ताहरूको अशली अनुहार चैत १५ गतेको तीनकुनेको अराजक घटनबाट देखिइसकेको छ,' उनले भने, 'विगमा म प्रधानमन्त्री हुँदा पार्टीभित्रका स्वार्थी र फुटवादीले पार्टीलाई सिध्याउने असफल प्रयास गरेका थिए। अदालतको समेत प्रयोग गरेर हामीलाई सरकारबाट बाहिर पठाए। तर, जनताको अभिमतबाट हामी पुनः सरकारको नेतृत्वमा आएका छौं। अब हामीले स्थिरता र स्थायित्वको अठोट गरेर अगाडि बढेका छौं। तपाईँहरू अस्थिरतावादीहरूको कुनै भ्रममा पर्नु पर्दैन।'
प्रधानमन्त्री ओलीले निर्माण कार्य रोकिएका र बन्न बाँकी रहेका बाटा र आयोजनाहरू अब अगाडि बढ्ने जनाउँदै आगामी बजेट र नीति तथा कार्यक्रममा नयाँ ढंगले अगाडि बढाउने उचित नीति र कार्यक्रम लिएर आउने प्रतिबद्धता गरे। उनले कृषिको आधुनिकीकरण र विस्तारका लागि प्राथमिकता दिँदै उद्यमशीलताको विकास गर्न सरकारले प्राथमिकता दिने बताए। 'हामीले अध्यादेश हुँदै विभिन्न पाँच महत्त्वपूर्ण कानुन ल्याएका छौं। भूमिसम्बन्धी कानुन पनि चाँडै आउँछ। यसप्रति निजी क्षेत्र र सबैको सकारात्मक धारणा छ। घाटामा रहेको अर्थतन्त्र उकालो लाग्न थालेको छ,' उनले भने।
भूमिहीन सुकुम्बासीहरूका समस्या समाधान गर्न अब आउने संसदको अधिवेशनको सुरुमै कानुन ल्याइने उनको भनाइ छ। 'मुलुकलाई गरिबीबाट मुक्त गराउन हामी क्रियाशील रहनेछौं। समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न हामी दत्तचित्त भएर लाग्नेछौं। एमाले बिनाको नेपालको सपना देख्नेहरूको देशद्रोही सपना पूरा हुँदैन। एमाले झन् ठूलो भएर विजयी भएर आउनेछ। जनतामा आधारित यो पार्टी देशको भविष्य हो। एमाले असफल भए देश असफल हुन्छ,' उनले भने।
प्रतिक्रिया दिनुहोस !