फोहोर व्यवस्थापन नगर्दा सदरमुकाम नै दुर्गन्धित बालबालिकामा जोखिम बढ्यो
कालीकोट : कालीकोटको सदरमुकाम मान्ममा फोहोर व्यवस्थापन नगर्दा सदरमुकाम नै दुर्गन्धित भएको छ। अब्यबस्थित रूपमा फालिएको फोहोरका कारण बालबालिकाहरूमा जोखिम बढ्दै गएको हो। जिल्लाको भर्ता, छातीलगायतका क्षेत्रबाट सदरमुकाममा मान्ममा मजदूरीका लागि आएका बाबुआमा काममा व्यस्त हुन्छन्। छोराछोरीको हेरचाहका लागि अभिभावकको ध्यान नपुग्दा बालबालिका फोहोर खेल्न जान्छन्। यी जनजाति समुदायका बालबालिका हुन्।
यसरी सदुमुकाम मान्म नजिकैको जंगलमा जथाभावी फोहोर फालिनुले थप समस्या आएको छ। खाँडाचक्र नगरपालिकाले फोहोर व्यवस्थापन गर्नु पर्ने हो। तर, अहिलेसम्म डम्पिङ क्षेत्रसम्म नबनाइ बजारको फोहोर यसरी फालिनुले सिमान्तकृत तथा जोखिममा रहेका बालबालिका र वातावरणमा समेत प्रभाव परेको नागरिक समाजका अगुवा खडानन्द अधिकारीले बताए।
उनले भने वडा नं. १ मा पर्ने कालीकोटको सदरमुकाम मान्मको फोहोरलाई व्यवस्थापन गर्न नसक्दा सदरमुकाम नै दुर्गन्धित भएको छ। यस्तै, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराइले बजार नजिकैको जंगलमा खुला ठाउँमा फालिएको फोहोरले प्रदूषण मात्र होइन बालबालिकाको ज्यानमा समेत जोखिम बढाएको बताए।
उनले भने फोहोर थुपारिएको ठाउँमा दिनानुदिन बालबालिका केही न केही वस्तुको खोजी गरिरहेका हुन्छन्। यस्तो सम्वेदनशील विषयमा जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेको छ। कति दिन प्रहरी खटाउनु, यो त नगर सरकारले ध्यान दिनुपर्ने हो।
वडा सरकारले केही समय पहिले छाडा पशुचौपाया तथा बंगुरको व्यवस्थापनका लागि पहल गरेको थियो। अहिले भने वडा सरकार पनि थाकेको छ। वडाको अनुरोध नगरसरकारले स्वीकार नगर्दा यस्तो भएको हो। सदरमुकाम रहेको मान्म बजारलाई व्यवस्थित बनाउन वडाले धेरै प्रयास गरे पनि नगरको सहयोग बिना सफल नभएको वडाअध्यक्ष धर्मराज ताम्राकारले बताए। उनले भने फोहोर फालेको ठाउमा कसैले पनि बालबालिका नछोड्नु भनेर सूचना गरेकै छौं।
तर कसका बालबालिका हुन् फोहोरमा केही भेटिन्छ कि भनेर होला दैनिक रूपमा खेलिरहेका हुन्छन्। स्थानीय हिक्मत मल्लले फोहोर थुपारिएको ठाउँमा बालबालिका जाने भएकाले जोखिम बढेको बताए। उनले भने बालबालिकालाई यहाँ रोक्ने कोही छैनन्।
वडा सरकारले सूचना गरेको भन्ने विषय गलत हो। प्रशासनले पनि ध्यान दिएको छैन। नगर सरकारले फोहोर व्यवस्थापनका लागि कानमा तेल हालेर बसेको छ। बजार व्यवस्थापन तथा फोहोर व्यवस्थापन गरी वातावरण स्वस्छ बनाउन स्थानीयले पहल गरेकै छौं। तर सुन्दिनेले सुनेका छ्र्रैनन्।
होटलमा प्रयोग भएका मदिराका बोतलदेखि धेरै जोखिम समान यहाँ यत्रतत्र फालिएको छ। यसैलाई बालबालिकाले खोजिरहेका हुन्छन्। भरपर्दो खाने कुरा घरमा नपाउने भएकाले पनि यस्ता खानेकुरा खोजिरहेका हुन्छन्। प्लास्टिकमा पोको पारेको भात दाल, मिति सकिएका बजारका वस्तुभाउ जस्ता खाने कुरा खोजेर बालबालिकाले खाने गरेको स्थानीय नयनबहादुर रोकायाले बताए। उनले भने यहाँको फोहोर व्यवस्थापनका लागि नागरिकले पनि धेरैपटक आवाज उठाउने गरेका छन्।
फोहोर व्यवस्थापन नगरे मानवीय अस्वस्थता बढाउने भएकाले नगरपालिकाले यस्ता विषयमा ध्यान दिन नागरिकको भनाइ छ। तर, नगरपालिका उपप्रमुख गाणेशबहादुर शाहीले भने नगरपालिका नै बिरामी भएकाले नागरिकलाई सुरक्षित राख्न सक्ने अवस्था नभएको बताए। उनले भने डाक्टर आफैं बिरामी छ भने बिरामीको उपचार कसरी गर्ने भन्दै उल्टो प्रश्न गरे। खासमा खाँडाचक्र नगरपालिका आफैं पनि अस्तव्यस्त छ। छ महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन थियो।
बल्ल काम चलाउका रूपमा तिलागुफा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत देव किरण बुढालाई काजमा ल्याएर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ। शिक्षकले समयमा तलब नपाएको भन्दै केही दिन अघि नगरपालिकामा ध्यानआकर्षण पत्रसमेत बुझाए। उता शिक्षकले तलब पाएका छैनन्। यता नगरप्रमुख कमलबहादुर शाहीले फोहोर व्यवस्थापनदेखि अन्य धेरै काम सुधार गर्न लागि परेको बताए। उनले भने परिणाम आउन समय लाग्छ।
यसका लागि नागरिकले धैर्य गर्नुपर्छ। फोहोर जथाभावी फालेका कारणले खानेपानीको स्रोत पनि प्रदूषण भएको खाँडाचक्र नगरपालिका वडा नं. ११ सियाँलाका रोषन पाण्डेले बताए। उनले भने वातावरणसमेत निकै प्रदूषण छ। सडकमा आऊजाऊ गर्नसमेत गाह्रो भएको छ। सडकमा हिँड्ने नागरिक नाक थुनेर हिँडिरहेका हुन्छन्। यसको समयमा व्यवस्थापन गर्न नसकेमा ठूलो जोखिम निम्ताउने पक्का छ। समयमै डम्पिङ क्षेत्र बनाएर फोहोर व्यवस्थापन नगर सरकारले गर्नुपर्छ।
प्रतिक्रिया दिनुहोस !