अतिक्रमणले थिलथिलो शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज
गुलरिया : जैविक विविधताले भरिपूर्ण कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज अतिक्रमणले थिलथिलो परेको छ। दक्षिणतर्फ सीमावर्ती भारत र पूर्वतर्फ सुकुम्बासी नेपाली बस्तीको अतिक्रमणले निकुञ्ज संरक्षणमा चुनौती थपिएको छ।
वन्यजन्तुको स्वर्गतुल्य बासस्थान मानिने शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटनको मूलधारसँग जोडिन नसक्दा स्वदेशमै आयआर्जनको ढोकासमेत बन्द भएको छ। ३ सय ५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्ज जैविक विविधताले भरिपूर्ण रहे पनि लामो समयदेखि अतिक्रमणको चपेटामा परेको निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत मनोज साहले बताए।
पानी, घाँसे मैदान, स्वस्थ वन भएका कारण निकुञ्ज वन्यजन्तुको लागि सुन्दर बासस्थान हो। पछिल्लो समय निकुञ्जमा जैविक विविधताको संयोजन राम्रो हुँदै गएकाले वन्यजन्तुको संख्यामा समेत वृद्धि भएको उनले बताए।
निकुञ्जमा हात्ती, बाघ, गैंडासँगै बारसिंगाको संख्या दिनानुदिन बढेको छ। निकुञ्जमा जैविक विविधतामा कुनै समस्या नभए पनि सुकुम्बासीहरूको व्यवस्थापन तथा भारतीय तर्फबाट अतिक्रमण मुख्य चुनौतीको रूपमा देखिएको छ। दक्षिण भारतीय सीमातर्फ पिलर नम्बर २७ र २८ सिकारी तालसम्मको करिब ९ सय बिघा क्षेत्रफल भारतीय पक्षबाट अतिक्रमण गरी कृषि कार्य भइरहेको उनले बताए।
पूर्वतर्फ धक्का, तारापुरको अतिक्रमित छुटेको बस्ती व्यवस्थापन हुन नसक्दा निकुञ्जलाई समस्या परेको छ। निकुञ्जको बर्सेनि बजेट कटौतीले पनि पूर्वाधारलगायतका निर्माणमा समस्या देखिएको उनले प्रष्ट्याए।
जैविक विविधताको दृष्टिले महŒवपूर्ण मानिने शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ४४ वटा पाटेबाघ र २३ वटा एकसिंगे गैंडा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले बताए। निकुञ्जमा तीन सयभन्दा बढी कृष्णसार छन्। बारसिंगाको लागि यो नेपालकै प्रमुख निकुञ्ज हो। उनले भने, ‘शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जैविक विविधताको अथाह सम्भावना भए पनि पर्यटक आगमनको हिसाबले चिन्ताजनक छ।’ निकुञ्जको तथ्यांकअनुसार विदेशी २ सय र स्वदेशी ४ हजार पर्यटक अवलोकनका लागि यहाँ भित्रिएका छन्। पर्यटनमा निजी क्षेत्रको लगानी नहुँदा पर्यापर्यटन प्रवद्र्धनमा चुनौती थपिएको उनको भनाइ छ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज जैविक विविधताको हिसाबले सम्पूर्णता भएको मानिन्छ। सानो निकुञ्ज भए पनि जैविक विविधतामा सम्पन्न छ। निकुञ्ज वन्यजन्तुको बासस्थानको दृष्टिले समेत मजबुत छ। पर्यटनको मूलधारसँग निकुञ्जलाई जोड्न नसक्दा आर्थिक समृद्धिको बाधक बनेको हिमालय नेचरका वरिष्ठ कार्यक्रम अधिकृत श्रीराम घिमिरेले बताए।
निकुञ्जसँग समुदायलाई जोड्दै व्यवस्थापकीय सुधार गर्न सके यो नेपालकै प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्छ। निकुञ्जको अतिक्रमण अन्त्य गर्दै प्रचारप्रसार गर्न सके पश्चिम नेपालकै पर्यटकीय हब बनाउनु पर्नेमा उनको जोड छ।
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको दक्षिणवर्ती भारतीय सीमासँग जोडिएको अतिक्रमित खेती गरिएको नेपाली भूमि। तस्बिर : यादव आचार्य।
प्रतिक्रिया दिनुहोस !