वायु प्रदूषणको चपेटामा पर्यटन
काठमाडौं : वायु प्रदूषणका कारण पर्यटन क्षेत्र प्रभावित बन्दै गएको सरोकारवालाहरूले बताएका छन्। उच्च वायु प्रदूषण हुँदा नेपाल आउने पर्यटकले भ्रमण तालिका छोट्ट्याउने तथा रद्द गर्ने क्रम बढेको उनीहरूको गुनासो छ। नेपाल वातावरण पत्रकार समूह (नेवापस) र नेपाल पर्यटन बोर्डले आयोजना गरेको ‘पर्यटन क्षेत्रमा वायु प्रदूषणको असर’ विषयक अन्तत्र्रिmयाका वक्ताहरूले विश्वकै उच्च प्रदूषित सहरहरूमा काठमाडौं सूचीकृत हुँदा पर्यटन उद्योग प्रभावित बनेको बताए।
प्रदूषण कारण हवाई उडान नियमित नहुने, विभिन्न स्वास्थ्य समस्याहरू देखापर्ने, नेपाल आइपुगेका पर्यटकहरू पनि हिमशृंखलाको दृश्यावलोकन गर्न नपाउँदा निराश बन्ने गरेकाले पर्यटन उद्योगमा नकारात्मक प्रभाव बढ्दै गएको उनीहरूको भनाइ छ।
कार्यक्रमलाई सम्बोधन गर्दै पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले भने, ‘पर्यटन उद्योग मात्र यस्तो हो, जसले ग्रिन इकोनमीका लागि योगदान गरिरहेको छ तर प्रदूषणका कारण नेपालको सुन्दर छवि धमिलिने जोखिम बढेको छ।’ नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा पर्यटन क्षेत्रको योगदान महत्त्वपूर्ण रहेको तथ्य भए पनि यो क्षेत्र अझै प्राथमिकतामा रहन नसकेको उनले बताए।
नेपालको पर्यटन क्षेत्रले १० लाखभन्दा बढीलाई प्रत्यक्ष-परोक्ष रोजगार दिएको उल्लेख गर्दै जोशीले भने, ‘पर्यटन क्षेत्रबाट अझै लाभ लिन जलवायु परिवर्तनका जोखिम गराउने, वातावरण प्रदूषणलगायत पर्यटकीय क्षेत्रलाई असर गर्ने गतिविधि कम गर्दै लैजाने र नीतिगत सुधारतर्फ केन्द्रित हुनुपर्छ। वायु प्रदूषणले तत्कालका लागि पर्यटक आवागमन घटाउने, यस्तो समस्या हरेक वर्ष दोहोरिँदा पर्यटन क्षेत्रमा दीर्घकालीन असर पुग्ने उनको ठहर छ।
कार्यक्रमका अन्य वक्ताहरूले वातावरण जति स्वच्छ र स्वस्थ बन्छ त्यति नै पर्यटकीय क्षेत्र दिगो र विश्वासिलो बन्ने धारणा राखे। नेपाल पर्वतारोहण संघ (एनएमए)का वरिष्ठ उपाध्यक्ष ठाकुरराज पाण्डेले भने, ‘नेपालको मौसम सूचना प्रणाली प्रभावकारी र चुस्त बन्दा त्यसको लाभ पर्यटन क्षेत्रले पनि लिएको छ तर प्रदूषणले यो क्षेत्र प्रभावित बनिरहेको छ।’ प्रत्येक पालिकाले प्रभावकारी कदम नचालेसम्म वन डढेलो नियन्त्रण र प्रदूषण रोकथाम निष्प्रभावी बन्ने उनको तर्क थियो।
विज्ञहरूका अनुसार सुक्खायाममा ९० प्रतिशतभन्दा बढी वायु मानव स्वास्थ्य अनुकूल हुँदैन। नेपालमा वार्षिक ४७ हजार हाराहारी व्यक्तिको अस्वस्थकर वायुकै कारण निधन हुने गरेको छ। विगत दुई सातायता काठमाडौंसहित देशका धेरै भेगमा वायु गुणस्तर सूचकांक ‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई) मानव स्वास्थ्यका दृष्टिले जोखिम तहमा पुगेपछि अस्पतालमा बिरामीको संख्या बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताउँदै आएको छ।
वायु गुणस्तरविज्ञ डा. भूपेन्द्र दासका अनुसार नेपालमा अन्तरदेशीय वायु, कृषि, उद्योग-कलकारखाना, खुला क्षेत्रमा बालिने फोहोरमैला, वन डढेलो, पुराना सवारीसाधन प्रदूषणका मुख्य कारण हुन्। ‘नेपालमा ९० प्रतिशत भन्दा बढी प्रदूषण तराई, साढे ६ प्रतिशत मध्यपहाड र ३ प्रतिशत हाराहारी प्रदूषण हिमाली क्षेत्रबाट हुने अध्ययनले देखाएको छ’, उनले भने, ‘प्रदूषण बढ्नुमा मानवीय गतिविधि नै मुख्य कारण हो।’ केही वर्षयता वन डढेलो मुख्य कारण बन्दै गएको दासले बताए।
पर्यटन बोर्डका निर्देशक सुनील शर्मा, नेवापसका अध्यक्ष चन्द्रशेखर कार्की, नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)का सचिव विष्णु पाण्डे, पर्यटन व्यवसायी चक्र कार्की, जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् डा. इन्दिरा कँडेललगायतले स्वच्छ वायुले मात्रै नेपालको पर्यटन उद्योग फराकिलो बनाउने धारणा राखे।
मौसमविद् कँडेलका अनुसार प्रदूषण घटाउन हिउँदे र मनसुन पूर्वाद्धको समयमा हुने वर्षाको भूमिका महत्वपूर्ण रहन्छ। ‘वर्षा गराउने प्रणाली बाह्य मौसमी प्रभाव हो’, उनले भनिन्, तर प्रदूषण घटाउन आन्तरिक रूपमै विभिन्न क्रियाकलाप गर्न सकिन्छ।’
प्रतिक्रिया दिनुहोस !