मेची नदीमा खरबुजा टिप्न किसानलाई भ्याइनभ्याई

मेची नदीमा खरबुजा टिप्न किसानलाई भ्याइनभ्याई
सुन्नुहोस्

झापा : गर्मीयाम सुरु भएसँगै बजारका फलफूल पसलहरूमा खरबुजा देखिन थालिसकेको छ। बजारमा खरबुजाको माग बढेसँगै अहिले नेपाल–भारत सीमा भएर बग्ने मेची नदीको बगरमा रोपिएको खरबुजा टिप्न किसानलाई भ्याइनभ्याई छ। भद्रपुर–३ स्थित मेचीपारि गाउँको झोलुंगेपुल आसपास क्षेत्रका किसानहरूले तीन महिनाको कडा मेहनत र परिश्रमपश्चात् मेचीको बगरमा २ देखि १० किलोसम्मको खरबुजा फलाएका छन्। 

भद्रपुर– ३ का किसान मनोजकुमार राई विगत ५-६ वर्षदेखि बगरखेतीअन्तर्गत मेचीको बालुवामा खरबुजा लगाउँदै आइरहेका छन्। करिब ६ बिघा क्षेत्रफलमा राईले नौ हजार बिरुवा रोपेका छन्। अघिल्लो सिजनमा मौसमले साथ नदिँदा उनलाई लगानी उठाउनै मुस्किल परेको थियो। यो पल्ट खरबुजा सोचेभन्दा राम्रो उत्पादन भएको भन्दै उनी खुसी छन्। यो पल्ट अघिल्लो वर्षको घाटा पूर्ति हुने बताउँदै राईले भने, ‘खेतमा १८ टनभन्दा बढी खरबुजा हुनुपर्छ, एउटै खरबुजा ४ देखि ८ किलोग्रामसम्म फलेको छ।’ 

खरबुजा टिप्न सुरु गरिसकेका छौं। भद्रपुर नगरपालिकाले अनुदानस्वरूप पहिलो पटक बगरखेती गर्नेलाई ४० हजार रुपैयाँ उपलब्ध गराएकोले खेती गर्न सहज भएको उनको भनाइ छ। 

त्यस्तै, अर्को किसान अनय राजवंशीले पनि बगरखेतीलाई निरन्तरता दिँदै आएको छन्। राजवंशीले ३० कट्ठा क्षेत्रफलमा खरबुजा रोपेका छन्। अघिल्लो वर्ष खर्च कटाएर १ लाख ८० हजार आम्दानी गरेको बताउँदै राजवंशीले भने, ‘यसपल्ट पनि राम्रै उत्पादन भएको छ, आम्दानी पनि राम्रै हुनेमा विश्वस्त छु।’ किसानहरूले आफ्नै लगानीमा बगर खेती गर्दै आइरहेको अवस्थामा यस पटक नगरपालिकाले आर्थिक सहयोग गरेर बगरखेती गर्ने किसानहरूलाई झन् हौसला बढाएको उनको भनाइ छ। बगरखेतीमा खरबुजा फलेको देखेर यहाँका किसानहरू एकदमै खुसी देखिएको मेघु राया बताउँछन्। 

हामी केही युवाहरू मिलेर सामूहिक रूपमा ८ देखि १० बिघा क्षेत्रफलमा खरबुजा लगाएका छौं। ‘देशका युवाहरू विदेश पलायन भइरहेको अवस्थामा स्वदेशमै केही गरेर खाऔं भन्ने सन्देश यो बगरखेतीले हामीलाई दिएको छ,’ उनले भने, ‘ श्रम र मेहनत गर्दा जे पनि हुन्छ, माटोमा मात्र होइन, बालुवामा पनि फल फलाउन सकिन्छ।’ नगरपालिकाले पहिलो पटक अनुदान रकम उपलब्ध गराएकोले यो कार्यक्रमलाई निरन्तरता दिन उनले आग्रह पनि गरेका छन्। 

मेची नदीमा उत्पादन भएका खरबुजा झापासहितका पूर्वी जिल्लाहरू लहान, काठमाडौँ र पोखरासम्म पठाइन्छ। यहाँका किसानहरूबाट खरबुजा खरिद गर्न व्यवसायीहरू मेची नदीमै सवारीसाधन लिएर पुग्न थालिसकेका छन्। व्यवसायीले किसानहरूबाट २८ रुपैयाँ किलोमा खरबुजा खरिद गरिरहेका छन्। भद्रपुर नगरपालिकाले बगर खेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत १२ जना किसानलाई ४० हजार रुपैयाँको दरले अनुदान उपलब्ध गराएको छ। नगरपालिकाले किसानलाई प्रोत्साहन गर्न पहिलो पटक यो कार्यक्रम ल्याएको कृषि शाखाका कर्मचारी सुमन विमलीले जानकारी दिए। 

कम्तीमा ३० कट्ठा क्षेत्रफलमा बगरखेती गरिएका किसानहरूलाई नगरपालिकाले अनुदान रकम उपलब्ध गराएको नगरपालिकाका प्रमुख गणेश पोखरेलले बताए। बगरखेतीको अनुगमन गर्दा यो वर्ष राम्रो उत्पादन भएको र यो कार्यक्रमलाई नगरपालिकाले निरन्तरता दिने नगर प्रमुख पोखरेलको भनाइ छ। 

अन्तर्राष्ट्रिय सीमा जोडिएको मेचीको वारपार बगरैबगरै छ। नगरपालिकाले बगरखेतीका किन लगानी नगर्ने भनी प्रश्न पनि उठेको थियो। ‘लगानी गरेअनुसार यहाँ किसानहरूले निक्कै मेहनतका साथ खरबुजा फलाएको रहेछ,’ उनले भने। 

मेचीकै खरबुजा काठमाडौं र पोखराको पाँचतारे होटेलसम्म पुग्ने गरेको बताउँदै उनले भने, ‘यहाँ पनि केही गरेर खान सकिन्छ भन्ने सन्देश युवाहरूले खरबुजा खेतीमार्फत दिएको छ, यो एउटा राम्रो पक्ष पनि हो।’ 

बगर खेतीमार्फत किसानहरूले फलाएको खरबुजा देखेर भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्की पनि दंग परेकी छिन्। चाहे भने स्वदेशमै पनि गरी खान सकिने उदाहरण बगरखेती दिएको उपप्रमुख कार्कीले भनिन्। यहाँ केही नै हुँदैन। 

कमाउन विदेश नै जानुपर्छ भन्ने धेरैको बुझाइ र मानसिकता त्यस्तै रहेको छ। ‘तर, त्यस्तो होइन, उपप्रमुख कार्कीले भनिन्, ‘कृषि पेसामा लाग्ने व्यक्ति कहिल्यै भोकै मर्नु पर्दैन, कृषिमा नगरपालिकाले बर्सेनि लगानी गर्दै आइरहेको छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.