आगलागीका कारण जुगलमा तीन घर ध्वस्त
सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको जुगल गाउँपालिका-६ स्थित हाप्रामा भीषण आगलागी हुँदा तीन घर जलेर ध्वस्त भएका छन्।
आगलागीका कारण मानवीय क्षति नभए पनि तीन घर पूर्णरूपमा ध्वस्त भएको र एउटा घरमा आंशिक क्षति पुगेको जुगल गाउँपालिकाका अध्यक्ष रेशम स्याङ्बोले बताए। उनका अनुसार स्थानीय प्रेम श्रेष्ठ, मिलन श्रेष्ठ र कुमार श्रेष्ठको घर जलेको हो। ‘आगलागी लगत्तै स्थानीय युवाहरूले नियन्त्रणको लागि धेरै प्रयास गर्दा पनि नियन्त्रणमा आउन नसकेको जानकारी आएको छ’, उनले भने।
आगो नियन्त्रणमा ल्याउन नसकिँदा पसल, अन्नपात, सरसामान, वस्त्र सबै जलेर नष्ट हुँदा लाखौंको क्षति भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी नायब उपरीक्षक उमाशंकर यादवले आगलागीको कारण खुल्न नसकेको र तीन घरमा आगो लागेको जानकारी दिए।
‘सम्पूर्ण क्षतिको विवरण आइसकेको छैन। प्रहरी र स्थानीयबासी घटनास्थलमा पुगेर आगो निभाउने प्रयासमा छन्। आगो पूर्णरूपमा नियन्त्रणमा आइसकेको छैन। सावधानी अपनाउँदा मानवीय क्षति हुन पाएन,’ उनले भने। आगलागीमा घरसहित सम्पूर्ण अन्नपात नष्ट भएकाले पीडित परिवारले तुरुन्तै राहत र सहयोगका लागि सम्बन्धित निकायसँग अनुरोध मागेका छन्।
पीडितहरूलाई सहयोगको लागि जिल्ला विपद् व्यवस्थापन समितिलाई अनुरोध गरिएको पालिका अध्यक्ष स्याङ्बोले बताए।
प्रतिक्रिया दिनुहोस !