झन् गम्भीर बन्ने जोखिममा भुटानी शरणार्थी समस्या
झापा :
चरण १ :
राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको कडा नीतिमुताबिक विभिन्न अभियोगमा जोडिएका १० पूर्वभुटानीलाई अमेरिकाले एकैपटक निष्कासन गर्न चाह्यो। उनीहरू भुटानबाट लखेटिएर करिब डेढ दशक नेपालका शरणार्थी शिविरमा बसेका थिए। कागजमा उनीहरूको जन्म मुलुक भुटान थियो।
तर, कहाँ पठाउने ? अमेरिकी अधिकारीहरूले यसको न्यायिक विश्लेषण गरे। र, निचोडमा पुगे– भुटानकै जिम्मा लगाउने। किनभने, उनीहरू भुटानकै सन्तान हुन्।
ती अधिकारीले अमेरिकास्थित भुटानी कूटनीतिक नियोगलाई तिनको ‘ट्राभल डकुमेन्ट’ बनाउन खबर गरे। सँगसँगै भुटान लगेर जिम्मा लगाउनेबारे अवगत गराए।
यसमा भुटान तर्किन चाह्यो। तर, त्यो तर्काइ लामो टिकेन। अमेरिकाले यात्राको ‘रेड जोन’ मा राखिदियो। अर्थात्, भुटानी नागरिकलाई अमेरिका छिर्नै नदिने घोषणा गर्यो। बल्ल भुटान खत्रक्कै गल्यो।
ऊ ट्राभल डकुमेन्ट दिन र उनीहरूलाई ग्रहण गर्न राजी भयो। अमेरिकाले भुटानलाई ‘रेड’ बाट ‘एल्लो’ जोनमा पुर्यायो। धेरै प्रावधान पूरा गरेर भुटानी नागरिक अमेरिका छिर्न पाउने भए।
चरण २ :
अमेरिकाको न्युजर्सीस्थित नेवार्क लिबर्टी इन्टरनेसनल एयरपोर्टबाट युनाइटेड एयराइन्सको जहाज ती १० जनालाई लिएर उड्यो। सैनिक र अध्यागमनका केही अधिकारीसहित आएको जहाज गत चैत १३ गते राति नयाँ दिल्लीमा अवतरण भयो। भोलिपल्ट १४ गते बिहानै भुटानी सरकारी वायुसेवाले उनीहरूलाई दिल्लीबाट भुटानको पारो विमानस्थलमा पुर्यायो। त्यहाँबाट जसै अमेरिकी अधिकारीहरू फिर्ता भए, भुटानी अधिकारीहरूको झेल सुरु भयो। उनीहरूलाई सुविधाजनक होटलको फरक–फरक कोठामा राखियो। अलग–अलग बयान लिन थालियो।
तीमध्ये एकले सुनाएअनुसार–
प्रश्न सोधियो, ‘तपाईंको भुटानमा नजिकको आफन्त को छ ?’
नजिकका आफन्त सबै पहिल्यै लखिटिएका थिए, को भन्नु ? उनले भनिदिए, ‘खास कोही छैन।’
‘जग्गा–जमिन कहाँ छ ? छ कि छैन ?’ अर्को प्रश्न थियो।
जग्गा पनि पहिल्यै खोसिएको थियो। उनले भने छन्, ‘थाहा छैन।’
‘अनि भुटानमा कहाँ बस्नुहुन्छ ? कसरी बस्नुहुन्छ ? कसले सहयोग गर्छ ?’ यस्ता प्रश्नको वर्षा सुरु भयो।
‘नजिकका आफन्त कहाँ छन् ?’ फेरि सोधियो।
‘नेपालको शिविरमा’, उनले उत्तर दिए।
‘तपाईं त्यहीँ जानु राम्रो हुन्छ। हामी पठाउने व्यवस्था गर्छौं’, तिनले दबाब बढाउँदै लगे।
उनी द्विविधामा देखिए।
‘तपाईंका साथीले नेपालै जाने भने’, तिनले सुनाए, ‘तपाईं के गर्नुहुन्छ ?’
यसरी झुक्याएर, फकाएर, प्रलोभनमा पारेर उनीहरूलाई नेपाल पठाउने चाँजो मिलाए। हरेकलाई ३० हजार दिएर ट्याक्सीमा चढाइ काँकरभिट्टानजिक पानी ट्यांकीमा छोडिदिए।
चरण ३ :
सीमा इलाकामा आइपुगे पनि भारतबाट नेपालतिर (काँकरभिट्टा) छिर्न सजिलो थिएन। किनभने, अब उनीहरू तेस्रो मुलुकका विदेशी नागरिक थिए। नेपाल आउन भिसा चाहिन्थ्यो। एउटा ट्याक्सीमा आएका ३ जना (आशिष सुवेदी, सन्दीप दर्जी र रोशन तामाङ) ले बिचौलियालाई २२ हजार रुपैयाँ तिरेर नेपाल छिर्ने चाँजो मिलाए। त्यसमा सफल पनि भए। उनीहरू दमक (बेलाडाँगी) स्थित शिविरमा आए। र, भोलिपल्टै त्यहाँ नेपाल प्रहरीबाट समातिए। आफ्नै पाराले चोरबाटो छिर्दै गर्दा अशोक गुरुङ पक्राउ परे। उनीहरू अध्यागमनको हिरासतमा छन्।
चरण ४ :
नेपाल र नेपाली अधिकारीलाई सकसपूर्ण घटना आइलाग्यो। छोडौं– कानुनले नमिल्ने। थुनेर राखिरहौं– मानवीय संवेदना नहुने। तर, राज्य मानवीयताभन्दा कानुनद्वारा चलेको हुन्छ।
त्यही कानुन टेकेर झापाको अध्यागमन कार्यालयले उनीहरूलाई सम्बन्धित देशमै फिर्ता पठाइदिन विभागलाई २७ पृष्ठको सिफारिस गरेको छ। अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख तुलसी भट्टराईको सिफारिस विभागले ‘अध्ययन’ गरिरहेको थियो-छ।
चरण ५ :
तर, त्यहीबीच उनीहरूलाई देश निकाला हुन सक्ने भन्दै रोक्न सर्वोच्च अदालतमा रिट पर्यो। त्यसमा सर्वोच्चले ‘तत्काललाई निष्कासन नगर्न’ अन्तरिम आदेश दिएको छ।
न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले दिएको आदेशमा भनिएको छ, ‘निवेदकहरू विगतमा नेपालमा शरणार्थीको रूपमा दर्ता भएका र शरणार्थीकै रूपमा तेस्रो देशमा बसोबासमा परी उक्त देशमा अंगीकृत भई कालान्तरमा निजहरूको जीवन खतरामा पर्ने गरी निष्कासन गरी भुटानमा पठाइएको र पुन: भुटानबाट भारत हुँदै नेपालमा पठाइ हाल थुनामा रहेको देखिँदा निजहरूको मातापिता जुन कारणद्वारा भुटानबाट नेपालमा शरणार्थी भई आएका हुन् सो परिस्थितिमा परिवर्तन नभएकाले निजहरू आफ्नो उत्पत्तिको देशमा स्वेच्छाले फिर्ता हुन नसकी पुनर्वासमा गएको अवस्थामा हाल नेपाली अध्यागमन अधिकारीहरूबाट निजहरूलाई पुन: भुटान वा निजहरूले नचाहेको देशमा फिर्ता गर्दा नेपालले अनुमोदन गरेको कन्भेन्सन अगेन्स्ट टर्चर एन्ड अदर क्रुएल, इनह्युमन अर डेरोगाटोरी ट्रिटमेन्ट अर पनिसमेन्ट १९८४ को धारा ३ तथा यस अदालतबाट विगतमा भएका निर्णयहरू र नेपाललाई समेत प्रथाजनित कानूनका रूपमा लागू हुने फिर्ता नपठाउने सिद्धान्तविपरीत हुने देखिँदा यी निवेदकहरूलाई भुटान तथा अन्य कुनै देशमा निष्कासन नगर्नू।’
अनागरिक हुनुको चरम पीडा
अमेरिकासँग ‘होइन’ भन्ने आँट नगरेर भुटान आफ्ना नागरिकलाई ग्रहण गर्छ। तर, अर्को षड्यन्त्र गरेर भोलिपल्टै नेपाल पठाउँछ। नेपाल प्रहरीले त्यसको भोलिपल्टै समात्छ। अध्यागनले देश निकाला गर्न चाहन्छ। अदालतले रोक्छ। उनीहरू हिरासतमै रहिरहनुपर्छ।
यो अनागरिक हुनुको चरम पीडा हो। अब उनीहरू कहाँ जाने ? कतिञ्जेल बनिरहने अनागरिक ?
कहाँ छन् बाँकी १४ जना ?
मार्च २७ बिहान ७:२० मा भुटानको पारोमा अमेरिकाबाट एउटै जहाजमा ल्याइएका नेपालीभाषी १० भुटानी अवतरण गरे। ती सबैको भुटान सरकारले जिम्मा लियो। तिनीहरूलाई ट्याक्सी चढाएर नेपाली सीमातिर पठाइदियो।
तीमध्ये ३ जना शिविर आए। ती र सीमामै १ गरी ४ जना प्रहरी हिरासतमा छन्। त्यही टोलीमा आएका बाँकी ६ जना कहाँ गए ? कि कहाँ पुर्याइए। लगत्तै पछि अमेरिकाले अरू ८ जनालाई भुटानको जिम्मा लगाइसकेको छ। ती पनि त्यहाँबाट धपाइए, कहाँ छन् उसो भए सबै गरेर १४ जना ?
‘उहाँहरू भुटानमा पनि कहीँ, कतै हुनुहुन्छ भन्ने जानकारी छैन’, बेलडाँगी शिविरमा रहेका भुटानी शरणार्थी अधिकार अभियान्ता दिल भुटानी भन्छन्, ‘नेपालमा पनि ४ जना मात्रै पक्राउ पर्नुभएको खबर छ। बाँकी कहाँ हुनुहुन्छ, अज्ञात छ।’
सानो होइन अब समस्या
भुटानी शरणार्थी शिविरबाट पुनर्वासमा गई अमेरिकामा विभिन्न कानुन उल्लंघन गरेको आरोप लागेका थप ६३ जनालाई अमेरिकाले फिर्ता पठाउने तयारी गरिरहेको जानकारी आएको छ। यो संख्या बढ्दै जाने छ। अमेरिकी वा पुनर्वासमा लगेका अन्य देशका सरकारले पुरानो निर्णय खारेज गरे भने १ लाखभन्दा बढी नेपालीभाषी भुटानी घरको न घाटको हुने छन्।
यस्तो अवस्थामा नेपालले यो सबाललाई पार लगाउन सक्छ ? ‘नेपालले उस बेलैमा यलाई अन्तर्राष्ट्रिय मुद्दा बनाउन सकेन’, बेलडाँगी शिविरमै रहेका अर्का शरणार्थी अधिकार अभियान्ता तिलबहादुर राई भन्छन्, ‘हामीलाई आफ्नै देशमा पठाउनेबारे भुटानसँग दह्रो कुरा गर्न सकेन। त्यही कारण नेपाल सरकार र हामी उहीखाले समस्यामा अल्झिएका छौं।’
भुटानमा पुनस्र्थापना निर्विकल्प रहेको बताउने कृष्णवीर तामाङ र सञ्चहाङ सुब्बा पनि अब यो विषयलाई झन् जोडतोडले उठाउनुपर्ने बेला आएको ठान्छन्। ‘नेपाल सरकारले यसलाई सामान्य रूपमा लिनुहुँदैन’, उनीहरूको सुझाव छ, ‘पुनर्वासमा लगेका राष्ट्रहरूको नीति बदलिएमा नेपालका लागि यो थेग्नै नसक्ने विषय बन्न सक्छ।’
बेलडाँगी र पथरी गरी दुईवटा शिविरमा अझै पनि करिब ६ हजार भुटानी शरणार्थीको व्यवस्थापन नेपाल सरकारले गर्दै आएको छ। पुनर्वासमा जान नचाहेका र केही प्राविधिक समस्याले नस्वीकारिएका भुटानी शरणार्थी यहाँ बाँकी छन्।
अध्यागमन विभाग पुग्यो प्रतिवेदन
अमेरिकाबाट निष्कासन भई भुटानले लखेटेर नेपाल आइपुगेका ३६ वर्षीय आशिष सुवेदी, ३१ वर्षीय सन्तोष दर्जी, ३६ वर्षीय रोशन तामाङ र ३० वर्षीय अशोक गुरुङ २३ दिनदेखि इलाका प्रहरी कार्यालय काँकडभिट्टाको हिरासतमा छन्। सुवेदी, तामाङ र दर्जी दमक नगरपालिका–३ बेलडाँगी शिविरबाट पक्राउ परेका थिए। गुरुङ मेचीनगर नगरपालिका–४ स्थित मिलनटुङ सीमा नाकाबाट पक्राउ गरेका थिए। प्रहरीले उनीहरूलाई अनुसन्धानका लागि अध्यागमन कार्यालय काँकडभिट्टाको जिम्मा लगाएको छ।
उनीहरूमाथि अनुसन्धान सकिसकेको जानकारी दिँदै अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख तुलसी भट्टराईले भने, ‘चैत ३१ गते तयार गरिएको प्रतिवेदन अध्यागमन विभाग पठाइसकेका छौँ।’
उनका अनुसार प्रतिवेदनमा चारै जनाको बयान, यहाँ रहँदा बस्दाको कागजात र अमेरिकामा बसोबास गरेका केही कागजातहरू समेटिएका छन्। विभागको आदेशबमोजिम उनीहरूलाई कारबाही प्रक्रिया अघि बढाइने प्रहरीको भनाइ छ।
झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले अमेरिकाले डिपोर्ट गरी भुटान हुँदै नेपाल छिरेका वा छिर्न खोजेका भुटानी शरणार्थीलाई प्रहरी, प्रशासनले नियन्त्रणमा लिएर अध्यागमन कार्यालयलाई जिम्मा लगाउनेबाहेक अन्य क्षेत्राधिकार नरहेको बताए। ‘भुटानी शरणार्थीलाई यहाँ राख्ने वा पठाउने निर्णय अध्यागमनकै हो,’ उनले भने।
सानो झगडाले गराउँदै छ ‘डिपोर्ट’
आशिषका बुबा कुमार भन्छन्, ‘छोरा अमेरिका पुगेर यतैकी केटीसँग विवाह गरेको थियो। उनीहरूको अढाई वर्षकी छोरी पनि छिन्। श्रीमतीसँग घरायसी झैँझगडाका कारण छोरा आशिषलाई अमेरिकन पुलिसले पक्राउ गरे। पक्राउ पर्दा परिवारका सदस्यले जिम्मा लिएर छुटाउनु पर्दो रहेछ। श्रीमतीसँगै झगडा भएका कारण श्रीमतीले नै बुझ्न नपाउँदो रहेछ। त्यहाँ मेरी श्रीमती र छोरी पनि थिए। उनीहरूले पनि छोरालाई बुझ्न नगएपछि अमेरिकाले देश निकाला गरी भुटान पठाइदिएको हो।’ अन्य तीन जनाको आपराधिक क्रियाकलापबारे आफूलाई थाहा नभएको कुमारले भने।
भुटानले उनीहरूलाई बिना कागजपत्र पठाइदियो। छोरासहित तीन जना मेची नदी तैरिएर शिविर आइपुगेका थिए। भुटानले अहिलेसम्म १३ जना भुटानी शरणार्थीलाई लखेटेकामा चार जना सम्पर्क छन्।
भुटानले पछिल्लो लटमा ५ जना शरणार्थीलाई वैशाख १ गते भारतको सिलिगुडीसम्म ल्याएर छाडेको छ। तीमध्ये एक जना नेपाल आइपुगेको खबर छ। तर, नेपालमा उनी कहाँ लुकेर बसेका छन् भन्ने अत्तोपत्तो छैन।
भुटानी नेताहरूले गुहारे अन्तर्राष्ट्रिय समुदाय
अमेरिका र भुटान सरकारले आफ्ना नागरिकहरूलाई बलपूर्वक देश निष्कासन गर्ने र बेपत्ता पार्ने काम गरिरहेको भन्दै भुटानी राजनीतिक दलहरूले दीर्घकालीन समाधानका लागि अन्तर्राष्ट्रिय समुदायसमक्ष गुहार मागेका छन्।
भुटान पिपल पार्टीका अध्यक्ष बलराम पौड्याल, ड्रुक नेसनल कांग्रेस–प्रजातान्त्रिक अध्यक्ष रिन्जिन दोर्जी, भुटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समितिका कार्यवाहक अध्यक्ष तिलक राई, भुटान स्वतन्त्र जनमञ्चका महासचिव डीबी सुब्बा र नेसनल रिकन्सिलेसन कमिटी भुटानका संयोजक कृष्णवीर तामाङले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउँदै गुहार मागेका हुन्।
अमेरिकामा पुनर्वास भएका भुटानी शरणार्थीहरूलाई त्यहाँका सरकारले विभिन्न आपराधिक क्रियाकलापमा संलग्नता देखाउँदै देश निकाला गरी भुटान फिर्ता पठाएको र भुटानले पनि लखेटिरहेको घटनाले आफूहरूलाई स्तब्ध र चिन्तित बनाएको राजनीतिक दलका प्रमुखहरूले बताएका छन्। शरणार्थी नेताहरूले विश्वका सबै संस्थाहरू, अन्तर्राष्ट्रिय समुदाय, एम्नेस्टी इन्टरनेसनल र विशेष गरी भारत र नेपालस्थित अमेरिकी दूतावासलाई सम्पर्कमा नआएकाहरूको खोजी गर्न र राज्यविहीनता एवं पहिचानविहीनता हुने स्थितिबाट बचाउन अपिलसमेत गरेका छन्।
शरणार्थी नेताहरूले पीडितहरूको मानवको रूपमा बाँच्न पाउने न्यूनतम अधिकार सुनिश्चित गर्न सहयोग गर्न, भुटानी नागरिकहरूलाई पटक–पटक शरणार्थी बन्नबाट बचाउन, शरणार्थी समस्याको दीर्घकालीन तथा पूर्ण समाधानका लागि बहुपक्षीय वार्ताको विकल्प नहुँदा यथाशीघ्र यस सम्बन्धमा नेपाल सरकारको अग्रसरतामा अन्तर्राष्ट्रिय जगतको सकारात्मक पहल गर्न, हालै भुटानबाट गलत तरिकाले निष्कासित गरिएका र तीन दशक अघिदेखि स्वदेश फर्कन लालायित सबै भुटानीहरूलाई आफ्नै देशमा सहज रूपले बस्न नसक्ने वातावरण सिर्जना गर्न दीर्घकालीन समाधानको पहल र समर्थनका लागि उनीहरूले संयुक्त विज्ञप्तिमार्फत नै जोडदार माग गरेका छन्।
भुटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समितिका कार्यवाहक अध्यक्ष तिलक राईले अमेरिकाले डिपोर्ट गरेकाहरूलाई भुटानले आफ्नो नागरिक भनेर स्वीकार गरिसकेको अवस्थामा पुन: नेपाल लखेट्नु घोर आपत्तिजनक रहेको उल्लेख गरेका छन्। ‘भुटानले पटक–पटक हाम्रा नागरिकमाथि अन्याय र अत्याचार गरिरहेकाले अब यसको अन्त्यका लागि नेपाल सरकारले तत्काल कूटनीतिक पहल गरी दीर्घकालीन समाधान निकाल्नुपर्छ’, उनले भनेका छन्।
‘१४ जना अझै अज्ञात रहेकाले उनीहरूको खोजी आवश्यक छ,’ उनले भने, ‘अमेरिकाले डिपोर्ट गर्दा हाम्रो नागरिक भनेर भुटानले स्विकार्छ, भुटान आएपछि अनागरिक भन्दै लखेट्छ, यसबारे अन्तर्राष्ट्रिय समुदायसँग कूटनीतिक पहल गरी अहिले लखेटेकाहरूलाई पुन: भुटानमै बसोबासको व्यवस्था मिलाउनुपर्छ। उनीहरूको जन्मभूमि भुटान हो।
उनीहरूलाई अनागरिक भुटानले बनाइदिएको हो। अब नेपाल सरकारले उनीहरूलाई भुटान पठाइदिने व्यवस्था मिलाइदिनुपर्यो। भुटान फिर्ताको गराउन नसकेमा नीति परिवर्तन गरी फेरि शरणार्थी बनाएर यहाँ राखिदिनुपर्यो।’
साढे तीन दशकअघि भुटानले देश निकाला गरेपछि भारत पश्चिम बंगालको बाटो हुँदै झापाको काँकडभिट्टा नाकाबाट नेपाल छिरेका भुटानी शरणार्थीहरूलाई झापा र मोरङमा शिविर बनाएर राखिएको थियो।
२०६३ देखि २०७३ सालसम्म एक लाखभन्दा बढी भुटानी शरणार्थीलाई तेस्रो मुलुक पुनर्वासको योजनाअनुसार अमेरिका, अस्ट्रेलिया, क्यानडा, डेनमार्क, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, नर्वे र बेलायत पुर्याइएको थियो। अहिले आपराधिक घटनामा संलग्न भएको भन्दै भुटान फिर्ता पठाउने थालेपछि त्यसको असर नेपालमा परेको हो। र, त्यो बेलैमा सल्टिएन भने असर गम्भीर एवं ‘क्रोनिक’ बन्ने स्थिति छ।
३४ वर्ष, हजारौं व्यथा
भुटानले सन् १९९१ मा सरकारी सेवाको मेकानिकल जागिर, पुख्र्यौली धनसम्पत्ति अन्यायपूर्वक खोसेर अनागरिक (शरणार्थी) बनाई लखेटेका ती दु:खका पलहरू बिस्तारै–बिस्तारै नारायणकुमार सुवेदी (कुमार)ले बिर्सिसकेका थिए। तर, कुमारको मन मस्तिष्कमा एउटै प्रश्न खेलाइरहन्थ्यो कि अमेरिका जान पाइने हो कि होइन !
दमक नगरपालिका–३ बेलडाँगी शिविरमा १० वर्षदेखि परिवारविहीन बस्दै आएका ५५ वर्षीय कुमारको कान्छी श्रीमती, दुई छोरा र छोरी पालैपालो अमेरिका उडे।
संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्च आयोगले तेस्रो देश पुनर्वास कार्यक्रमअन्तर्गत कुमारका परिवार अमेरिका गए पनि उनी आफू जान पाएनन्। कागजात नमिलेको भन्दै शरणार्थी उच्च आयोगले उनलाई ‘अयोग्य’ ठहर गरिदियो। यहाँ अनागरिक भएर बस्नुभन्दा श्रीमती र छोराछोरीको भविष्य बन्छ भन्दै उनैले उनीहरूलाई जोडबल गरेर अमेरिका पठाए।
‘अमेरिकाले १० वर्षपछि जेठो छोरा आशिषलाई निष्कासन गर्दै भुटान फिर्ता पठाउँछ र भुटानले फेरि लखेटेर नेपाल पठाउँछ भन्ने सपनामा पनि सोचिनँ,’ कुमारले भने, ‘छोरा आशिषसहित तीन जना चैत १५ गते राति १० बजे म बसेको शिविरकै कोठामा आइपुगे।’
भुटानले एकैपटक १० जनालाई लखेटेर नेपाल पठाएको घटना सुन्दा ३४ वर्षअघिका ती दु:खका पलहरू मनमस्तिष्कमा फेरि ताजा भइदिए उनका।
उनी जेठी श्रीमतीसहित दुई वर्षको छोरा आशिष र भर्खरै जन्मिएकी छोरी निलमलाई काँखमा बोकेर काँकडभिट्टा नाकाबाट नेपाल छिरेका थिए। ‘अनागरिक भएर नेपालको शरणमा आइपुगेका ती पलहरू प्रहरी हिरासतमा रहेका छोरा आशिषको अनुहार हेर्दा फेरि झलझली आउँछ,’ उनले भने, ‘छोरा आशिष फेरि अनागरिक भयो। म त एक पटक भएँ। छोरा त दुई पटक शरणार्थी हुनुपर्यो। छोरा नेपालबाटै अमेरिका गएको हो। फेरि नेपाल आइपुग्यो।’
यसमा छोराको के दोष ? उनलाई थाहा छैन। भन्छन्, ‘यहाँ (नेपालमा) त (उसले) कुनै अपराध गरेको छैन। त्यसैले छोरासहित चार जना मसँगै बस्न पाउनुपर्छ।’
प्रतिक्रिया दिनुहोस !