आन्दोलनको भुमरीमा विद्यार्थीको भविष्य

आन्दोलनको भुमरीमा विद्यार्थीको भविष्य
सुन्नुहोस्

नेपालको शैक्षिक इतिहासमा फेरि एकपटक अर्काे विडम्बनात्मक मोड आएको छ । मुलुकभरका शिक्षकहरू विद्यालय शिक्षा ऐन पारित गराउने मागमा आन्दोलनरत छन् । यसैबीच शिक्षामन्त्रीको राजीनामा आएको छ ।

आन्दोलनले कक्षा १२ को परीक्षा, एसईईको मूल्यांकन तथा नयाँ भर्ना प्रक्रियासम्मलाई अवरुद्ध गरिदिएको छ । प्रवेशपत्र हातमा बोकेका विद्यार्थी परीक्षा केन्द्र जाने, नजाने भन्ने अन्योलमा छन् । आन्दोलनको प्रभाव सिधै ती निर्दाेष विद्यार्थीमा परेको छ, जसको भविष्य आज अन्योलको धुवाँभित्र हराइरहेको छ । शिक्षकहरूको माग जायज हुन सक्छन्, उनीहरू संघीय संरचनाभित्र शिक्षाको व्यवस्थापनबारे स्पष्ट कानुनी आधारको अपेक्षा गरिरहेका छन् । विगतमा भएका सम्झौताहरू पालना नभएकाले उनीहरू आन्दोलनमा उत्रन बाध्य भएको दाबी गर्छन् ।

तर शिक्षकहरूले जुन ढंगले शिक्षण कार्य बहिष्कार गरेका छन्, त्यसले उनीहरूको नैतिक दायित्वमाथि पनि गम्भीर प्रश्न उठाएको छ । शिक्षकले आफ्ना माग पूरा गर्न बालहठ देखाउनु उचित हुँदैन । देशको आर्थिक अवस्थाले थेग्नेसम्मका सुविधा माग्नु भने उचित हुन्छ । तर सुविधाका नाममा सडकमा उत्रिएर विद्यार्थीको भविष्यमा खेलवाड गर्नु कदापि हुँदैन । अर्कोतर्फ, माग सम्बोधन कुनै जादुको छडी होइन, त्यसका लागि सरकारले पनि पक्कै समय पाउनुपर्छ । सरकारले पनि आन्दोलन भए माग सुन्ने र अरू बेला कानमा तेल हालेर बस्नु हुँदैन ।

विद्यालय शिक्षा प्रणाली केवल सरकार र शिक्षकबीचको सम्झौतामात्र होइन, यो त देशको भावी पुस्ता निर्माण गर्ने आधारभूत प्रक्रिया हो । अहिले आन्दोलनका कारण नयाँ भर्ना प्रक्रिया प्रायः ठप्प छ । परीक्षा प्रभावित छन् र विद्यार्थीहरू मानसिक तनावमा छन् । आजका यी विद्यार्थी नै भोलिका वैज्ञानिक, नेतृत्वकर्ता र शिक्षक आदि सबै हुन् तर आन्दोलनका कारण उनीहरूलाई अनिश्चितताको दलदलमा धकेलिँदा तिनको मानसिकता र बुझाइ कस्तो होला ?    

सरकार पनि आफ्ना कमजोरीबाट पन्छिन सक्दैन । वर्षौदेखि भएका सम्झौताहरू कार्यान्वयन नगरेर, शिक्षा क्षेत्रप्रति देखाइएको बेवास्ताले आजको संकटलाई जन्म दिएको हो । शिक्षा नीतिलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता कागजमै सीमित हुँदा शिक्षकहरू निराश बनेका हुन् । यथाशीघ्र ऐन पारित गरी विवादको समाधान खोज्नु सरकारको प्रमुख दायित्व थियो र हो । तर सरकारको कमजोरीको प्रतिकारका लागि विद्यार्थीलाई बन्धक बनाउनु शिक्षित र नैतिक दृष्टिले कदापि उचित होइन । आन्दोलन आवश्यक हो तर आन्दोलनको स्वरूप र सीमा पनि जिम्मेवार हुनुपर्छ ।

बालबालिकाको भविष्यमा आघात पुर्‍याएर लडेको आन्दोलन दीर्घकालमा कसैको हितमा हुँदैन । कुनै समय विद्यार्थी पनि शिक्षककै विरुद्धमा सडकमा आउने अवस्था सिर्जना हुन दिनुहुँदैन । अतः आजको आवश्यकता संवेदनशील संवाद, पारदर्शी प्रक्रिया र शीघ्र समाधान नै हो । शिक्षकहरूले पनि आन्दोलित स्वरूपलाई पुनर्विचार गर्नुपर्छ । सरकारले पनि तुरुन्तै समस्या समाधानको दिगो खाका ल्याएर शिक्षा क्षेत्रलाई यथाशीघ्र सामान्य अवस्थामा फर्काउनु पर्छ । यसमा कत्ति पनि विलम्ब गर्ने छुट छैन ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.