बजेटलाई जनमुखी बनाउन मुख्यमन्त्रीको निर्देशन
दाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आर्थिक वर्ष २०८२/८३ को बजेट जनमुखी बजेट बनाउन निर्देशन दिएका छन्। सन्देश दिनेगरी बजेट तर्जुमा गर्न सोहीअनुसार नीति ल्याउन मातहतका निकायलाई निर्देशन दिएका हुन्।
आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा आयोजित बजेट तर्जुमा सम्बन्धी छलफल कार्यक्रममा मुख्यमन्त्रीले सीमित स्रोतसाधनलाई ध्यानमा राखी सुधारमुखी तथा कार्यान्वयन योग्य योजना सहितको बजेट तयारी गर्नुपर्ने बताए। ‘हामी घाटा बजेट ल्याउने पक्षमा छैनौँ ’, मुख्यमन्त्री आचार्यले भने ,‘जति बजेटको सिलिङ बनाइएको छ, त्यसैको आधारमा सन्देश सहितका कार्यक्रम समेटेर बजेट आउँछ। कम बजेटमै सम्पन्न गर्न सकिने, जनताको अनुभूति हुने कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्छ।’
चालू आर्थिक वर्षमा झण्डै ४० अर्बको बजेट ल्याइएको भए पनि आगामी वर्षमा ३२ अर्बभन्दा बढी बजेट बनाउने अवस्था नरहेको उनले स्पष्ट पारे। ‘यसपटक घाटाको बजेट ल्याएर अघि बढ्न सकिँदैन। त्यसैले बजेटको सीमा निर्धारण गरिएको हो ’, उनले भने।
बजेट निर्माणका लागि प्राप्त सुझावलाई परिमार्जन गरी लैजाने र विगतका कमजोरी दोहोयाइने पक्षमा नरहेको पनि मुख्यमन्त्री आचार्यले बताए। समानीकरण अनुदान प्राप्त नहुँदा दायित्व थपिएको अवस्था रहे पनि अब त्यसबाट मुक्त भइसकेको प्रदेश सरकारले अब ऋण बोक्ने, भार थोपर्ने काम नगर्ने उनले बताए।
लुम्बिनी प्रदेश सरकारले आगामी वर्षको बजेट निर्माणलाई यथार्थपरक, परिणाममुखी र जनउत्तरदायी बनाउने गरी छलफल प्रक्रिया अघि बढाएको हो। बजेटले दायित्व व्यवस्थापन, स्रोतको उचित परिचालन, सेवा प्रवाह सुधार तथा समृद्धिको दिशा देखाउने अपेक्षा गरिएको छ। कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले आयोजनाको अवस्था हेरेर बजेटको मापदण्ड निर्माण गरिनुपर्ने बताए।
विगतमा धेरै टुक्रे आयोजना क्षेत्र विकास कोषबाट आएका थिए। अब बजेट बनाउँदा यस बारेमा थप छलफल गर्नुपर्ने धारणा उनले राखे। उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले कार्यान्वयन हुनेगरी बजेट निर्माण गरिनुपर्ने बताए। प्रदेश सरकारलाई सवारी चालक अनुमति पत्र छपाइको जिम्मेवारी आगामी वर्षबाट प्राप्त हुँदैछ। त्यसलाई बजेटमा समेट्नुपर्ने बताउँदै उनले उत्पादन बढाउने, रोजगार सिर्जना गर्ने र समृद्ध प्रदेश निर्माणसँग जोडिएका विषयहरूलाई प्राथमिकता दिनुपर्ने बताए।
स्वास्थ्य मन्त्री खेमबहादुर सारुले मातृ मृत्यु दर, बाल मृत्यु दर, कुपोषणजस्ता समस्यालाई समाधान गर्ने गरी बजेटले प्राथमिकता दिनुपर्ने बताए। स्वास्थ्य संस्थाको भौतिक पूर्वाधार सुधार मात्र नभई सेवा प्रवाहलाई चुस्त बनाउनेगरी प्राथमिकीकरण गरिनुपर्ने उनको भनाइ थियो। सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले शिक्षा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलाई लक्षित गरेर कार्यक्रम समावेश गर्नुपर्ने बताए। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री सीता शर्मा चौधरीले बजेट तर्जुमा छलफल गर्दा आयोजनाको क्षेत्र हेरेर सीमा तोक्नुपर्ने बताइन्।
आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव डिलाराम पन्थीले सेवा प्रवाह चुस्त बनाउने, नागरिकको विश्वास जगाउने कार्यक्रमलाई बजेटमा समावेश गर्ने तयारी भइरहेको बताए। प्रदेशमा रहेका समस्याका सूचकहरूका आधारमा गरिबी निवारण, शिक्षा, स्वास्थ्य र जीवनस्तर सुधारका क्षेत्रलाई प्राथमिकता दिने बताए।
छलफलमा दोस्रो आवधिक योजनाको प्राथमिकतालाई बजेट तर्जुमाको मुख्य आधार बनाउनु पर्ने, प्रदेश गौरवका आयोजनालाई प्राथमिकतामा राखेर बजेट प्रस्ताव गर्नु पर्ने, मर्मत–सम्भारको अभावमा सञ्चालनमा आउन नसकेका आयोजनालाई पुनः सञ्चालनमा ल्याउने गरी बजेट छुट्याउनु पर्ने, आयोजनाको संख्या घटाउने, प्राथमिकीकरण गर्ने, बहुवर्षीय दायित्व घटाउने गरी बजेट निर्माण गर्नु पर्ने लगायतका विषय प्राथमिकताका साथ उठाइएको छ।
प्रतिक्रिया दिनुहोस !