गाउँ रित्तो होइन, उर्वर बनाउने योजना ल्याऊ

गाउँ रित्तो होइन, उर्वर बनाउने योजना ल्याऊ
सुन्नुहोस्

‘विकास गाउँतिर, मान्छे सहरतिर’ पछिल्लो समयमा देशको प्रमुख समस्या बनिरहेको छ । २०७८ सालको जनगणना अनुसार, आन्तरिक बसाइँसराइको प्रवृत्ति तीव्र रूपमा बढिरहेको देखिन्छ । विशेषगरी ग्रामीण भेगका मानिस रोजगारी, शिक्षा, स्वास्थ्य, सेवा सुविधाको खोजीमा सहरतिर सर्दै छन् । यसले गर्दा गाउँहरू बञ्जर हुँदै गएका छन् भने सहरहरू अत्यधिक भीडभाड, बेरोजगारी, सहरी विपन्नता र अव्यवस्थित विस्तारको चपेटामा परेका छन् । 

सहरीकरणलाई विकासको सूचक मान्ने प्रवृत्ति हाबी हुँदा गाउँको मौलिकता, उत्पादन क्षमता र सामाजिक संरचना क्रमशः खुम्चिँदै गएको छ । उत्पादनमुखी कृषि अर्थतन्त्रमा आधारित मुलुकका लागि गाउँहरू खाली हुनु केवल जनसंख्या सन्तुलनको समस्या होइन, यो प्रत्यक्षरूपमा आर्थिक संकट निम्त्याउने चेतावनी पनि हो । गाउँका खेतबारी बाझिँदा देशको समग्र उत्पादन क्षमतामा ह्रास आउँछ, खाद्य सुरक्षामा संकट आउँछ र आयातमा निर्भरता झनै बढ्छ । तराईको उर्वर जमिनमा सहरीकरण फैलिनु अर्काे चुनौतिको घडी हो ।

जनगणनाको तथ्यांकले २० प्रतिशतले स्थायी रूपमा नै मूल थलो छाडेको देखाउँछ । पहाड र हिमाली जिल्लाको बसाईसराई तथ्यांकले देशको जनसंख्या असन्तुलनको जर्जर अवस्था छर्लंग पार्छ । यस्तो अवस्थामा विकासको परिभाषा पुनर्विचार गर्नुपर्ने बेला आएको छ । सडक, भवन वा भौतिक संरचनाको विस्तार मात्रै विकास होइन । विकास त्यो हो, जसले मानिसलाई आफ्नै भूमि, पेसा र समुदायसँग बाँधेर राख्न सघाउँछ । त्यसैले सरकारले अब ‘गाउँ उर्वर बनाउने’ योजना अघि सार्न जरुरी छ । 

कृषि, पशुपालन, घरेलु उद्योग, पर्यटन लगायतका माध्यमबाट गाउँमै रोजगारी सिर्जना गर्न सकिने छ । लगानीकर्तालाई पनि सोही दिशामा लगानीका लागि प्रबद्र्धन गर्ने नीति सरकारको हुनुपर्छ । स्थानीय सरकारको बजेट गाउँलाई मानिसयुक्त हराभरा बनाउने नीतितर्फ केन्द्रित हुनुपर्छ । त्यसैले सहरबाट गाउँ फर्कनेहरूका लागि सहुलियत र प्रोत्साहन दिने नीतिहरू ल्याइनुपर्छ ।

सोका लागि बाख्रापालन, मौरीपालन, जैविक खेती, औषधिजन्य बोटबिरुवा खेती, गाउँमै सञ्चालित व्यवसायका लागि सहुलियत ऋण र तालिमहरू प्रदान गर्नुपर्छ । साथै, ग्रामीण क्षेत्रमा गुणस्तरीय स्वास्थ्य, शिक्षा र प्रविधि पहुँचको विस्तार गर्नुपर्छ, ताकि मानिसलाई शहर पस्नैपर्ने बाध्यता नहोस् । स्थानीय सरकारहरू पनि अब केवल सडक, भ्यूटावर, भवन वा मेला महोत्सवमा सीमित नरही, बसाइँसराइको कारण पहिचान गरी त्यसलाई न्यून गर्ने दीर्घकालीन रणनीति बनाउनुपर्छ । स्थानीय सरकारले गाउँको उत्पादनमा बिक्री वितरणमा सहजीकरण गरिदिनुपर्छ ।

गाउँ छोडेर सहर जाने प्रवृत्तिलाई रोक्न सकेनौं भने हामी निकट भविष्यमा खाद्य संकट, बेरोजगारी र सहरी अराजकता जस्ता गम्भीर समस्यासँग जुध्नुपर्ने हुन्छ । तसर्थ, गाउँलाई आत्मनिर्भर, सुरक्षित र समुन्नत बनाउने दिशामा केन्द्रित विकासको दृष्टिकोण आवश्यक छ । गाउँ उर्वर भयो भने मात्र देश समृद्ध हुने दिशातिर अघि बढ्न सक्छ भन्ने यथार्थ नीतिनिर्माताहरूले बेलैमा बुझ्न आवश्यक छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.