गोत्र–गोत्रका कम्युनिस्ट

गोत्र–गोत्रका कम्युनिस्ट
नेपाल कम्युनिस्ट पार्टीको ७६औं स्थापना दिवसका सहभागी। तस्बिर : अशोक दुलाल।

काठमाडौं : नेपालमा गोत्र–गोत्रका कम्युनिस्ट पार्टी छन्। जो स्वार्थबाहेक कहिल्यै मिल्दैनन्। भाषणमा वाम एकता, कम्युनिस्ट एकताको कुरा पनि छोड्दैनन्। तर, नेपालका कम्युनिस्ट न हिजो मिले, न आज मिलेका छन् न भोलि नै मिल्लान्। केही गरी मिले पनि टिक्दैनन्, स्वार्थ बाझिएपछि टुक्रिने नै हुन्। 

नेपालका कम्युनिस्टहरूले वैशाख ९ गते पार्टी स्थापना दिवस र लेनिन जयन्ती मनाउने गरेका छन्। योपटक पनि कम्युनिस्ट पार्टीहरूले स्थापना दिवस मनाएका छन्। तर, छुट्टाछुट्टै। नेकपाको सबैभन्दा ठूलो कम्युनिस्ट पार्टी नेकपा एमालेले प्रज्ञा भवनमा स्थापना दिवस मनाएको छ भने माओवादी केन्द्रले उसकै पार्टी कार्यालय पेरिस डाँडामा। उता माधवकुमार नेपालले नेतृत्व गरेको एकीकृत समाजावादीले छुट्टै गरेका छन्। अन्य साना कम्युनिस्ट घटकले पनि छुट्टाछुट्टै नै स्थापना दिवस मनाएका छन्। 

उनीहरू स्थापना दिवसमा एकअर्कालाई आलोचना गर्नमै केन्द्रित भए। उनीहरूले वाम एकता कुरा गर्न पनि छोडेनन् तर एकअर्कालाई सक्दो गाली गर्न पनि भ्याए। एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको आलोचना गरेका छन् भने प्रचण्ड र नेपालले ओलीको आलोचना गरे। एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल र महासचिव घनश्याम भुसालले ओली र प्रचण्डको आलोचना गरे। 

एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले १५ वर्षसम्म पार्टीको नेतृत्वमा बसेकाहरू नै पार्टी सिध्याउँछौं भनेर हिँडेको भन्दै माधव नेपालको आलोचना गरे। माधव नेपालतिर लक्षित गर्दै एमाले अध्यक्ष ओलीले ‘कोही १३ वर्ष यही पार्टीको लिडरसिपमा बसे, कोही १५ वर्ष यही पार्टीको लिडरसिपमा बसे। निर्लज्ज ढंगले यही पार्टी सिध्याउँछौं भनेर हिँडे।, उनले थपे, ‘जुन आमाको कोखमा बसेर हुर्कियो, जुन आमाको दूध चुसेर हुर्कियो त्यही आमालाई अस्तित्व पनि राख्दिनँ भनेर मार्न तयार हुने, अपराधी प्रवृत्ति तिनीहरूमा हाबी छ।’ 

एमाले अध्यक्ष ओलीले यस्ता मानिसका कारण कम्युनिस्ट पार्टीभित्र समस्या पैदा भएको जिकिर गरे। उनले भने, ‘दुईतिहाइको पार्टीलाई टर्च बालेर खोज्दा पनि नभेट्ने बनाइदिन्छौं भनेर एमालेमै बसेर अघाएका किर्ना जस्ता भएका, टुम्मटुम्म भएकाहरू, एमालेलाई खोज्दा पनि नभेट्ने बनाउँछौं भनेर हिँडे।’

उनले आफूले पार्टी एकता गर्न चाहेको भए पनि एकता भाँड्न दुरुपयोग गरिएको स्मरण गरे। एमाले अध्यक्ष ओलीले प्रचण्ड र नेपालमाथि आक्रोश पोखेका छन्। कम्युनिस्ट आन्दोलनलाई प्रचण्ड र माधव नेपालले कमजोर बनाएको आरोप लगाउँदै ओलीले ‘डम्बरुमाथि खतरा आयो भने बघिनीले झाप्पु हान्ने’ भन्दै यदि त्यस्तो अवस्था आए आफूहरूले पनि झाप्पु हान्ने चेतावनी दिए। उनले कम्युनिस्ट आन्दोलनलाई आफूले पुनर्गठन गरेर अगाडि बढेको दाबी गरे। 

ओलीले भने, ‘हामीले एकता चाह्यौं, आन्दोलन मजबुत बनाउन चाहेकाले एकता गर्‍यौं। तर, उनीहरूले एकता देश र जनताका निम्ति होइन पार्टी भाँड्न, फुटाउन र विभाजन गर्न प्रयोग गरे। फेरि हामीले आन्दोलनलाई पुनर्गठन गर्‍यौं। उनीहरूले गलत मनसायका साथ पार्टी कब्जा गर्न खोजे। जबसम्म डम्बरुमाथि खतरा हुँदैन तबसम्म बघिनी चुप लाग्छे। डम्बरुमाथि नै खतरा आयो भने बघिनीले झाप्पु हान्छे। हामी पनि त्यस्तै हौंं।’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीको विरोध गरे। उनले एक दिन पनि सरकारको नेतृत्वमा बस्ने हैसियत र औचित्य ओलीले गुमाइसकेको बताए। उनले भने, ‘यो सरकारले अब एक दिन पनि नेतृत्वमा बस्ने औचित्य गुमाइसकेको छ।’ उनले शिक्षकका समस्या समाधान गर्न प्रधानमन्त्री ओली गम्भीर नभएको आरोप लगाए। उनले भने, ‘हजारौं र लाखौं शिक्षक सडकमा छन्। ती शिक्षकको समस्या समाधान गर्न गम्भीर हुनुको सट्टा सरकार र त्यसको नेतृत्व गर्ने प्रधानमन्त्री शिक्षकलाई अपमानित गर्ने, गाली गर्ने, तिनलाई हप्काउनेबाहेक उहाँले केही पनि गर्नुभएन। योभन्दा लाजमर्दो कुरा के हुन्छ। लाखौं शिक्षक र देशभरिका विद्यालयहरू संकटमा छन्।’ उनले केपी शर्मा ओली नेतृत्वको सरकार भ्रष्टचारीको रक्षा र राम्रो काम गर्नेहरूको तेजोबध गर्न लागि परेको बताए। ‘अहिलेको सरकार, खासगरी केपी ओली नेतृत्वको सरकार अलोकतान्त्रिक छ। अपारदर्शी छ। असंवैधानिक छ। हामीले भनेका छौं,’ उनले भने, ‘र, यसले गर्ने भनेको भ्रष्टचारीको रक्षा हो। कोही किन नहोस् राम्रो काम गर्नेको तेजोबध गर्ने। अपमानित गर्ने। नराम्रो काम गर्नेलाई, आफ्नो पक्षमा अन्धो भएर लाग्नेलाई चाहिँ जसरी पनि रक्षा गर्ने काम भएको छ, यसको जोलन्द उदाहरण हो, शिक्षामन्त्रीको राजिनामा।’

पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता खनालले एमाले र माओवादी केन्द्रको आलोचना गरे। उनले माओवादी केन्द्रलाई अवसरवादी पार्टी भएको बताए। उनले केही समयअघिसम्म कांग्रेसको पिँठ्युमा चढेर माओवादीले घमण्ड गरिरहे पनि अहिले क्रान्तिकारी कुरा गरेको टिप्पणी गरे। उनले कांग्रेसको बुई चढेर अहिले एमालेले आगामी निर्वाचनमा पनि बहुमत ल्याउने घमण्ड गरिरहेको बताए।

‘एउटा माओवादी पार्टी छ, जो अस्ति भर्खरसम्म कांग्रेसकै पिँठ्युमा बसेर कराइरहेका थियो। त्यो पिँठ्यु अहिले चिसो भएकै छैन, तातो पिँठ्युमा गएर केपी ओली बसेका छन्। अनि अहिले बाहिर आएर अलिकति कुराहरू गर्न थालेका छन्। अलि क्रान्तिकारी कुरा गर्न थालेका छन् बाहिर आएपछि’, उनले भने। उनले एमालेले बढी घमण्ड गरिरहेको पनि बताए। 

‘नेकपा एमाले भन्ने सबैभन्दा ठूलो पार्टी हामी अर्को पटक पनि जित्छौं, बहुमत ल्याउँछौँ भनेर घमण्ड गरिरहेको छ। तर, त्यो घमण्डको कुरा नेपाली कांग्रेसको पिँठ्युमा बसेर बोल्छ,’ उनले भने, ‘दलाल पुँजीपति वर्गको पार्टीको पिँठ्युँमा बसेर बोल्छ। जो सुधारवादबाहेक केही पनि जान्दैन। यो घोर दक्षिणपन्थी कुरा हो।’

एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई देशको संकटको कुनै चासो नभएको भन्दै आलोचना गरे। उनले ओलीजस्तो मान्छे नेतृत्वमा पुग्नु देशको दुर्भाग्य भएको बताए। 

प्रधानमन्त्रीबाट कम्युनिस्ट योद्धाको सम्मान 

एमालेले नेपाल कम्युनिस्ट पार्टीको ७६औं स्थापना दिवसका अवसरमा ६ ज्येष्ठ नेताहरूलाई कम्युनिस्ट योद्धा सम्मान प्रदान गरेको छ। स्थापना दिवसका अवसरमा पार्टीद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले रत्नप्रसाद शर्मा न्यौपाने (मरणोपरान्त), लालबहादुर विश्वकर्मा (कञ्चनपुर), वाचस्पति देवकोटा (गोरखा), शान्ता मानवी (काठमाडौं), सत्यनारायण मण्डल (सप्तरी), शोभाराम बस्नेत (दाङ) र हरिचरण शिवाकोटी (झापा) लाई उक्त सम्मान प्रदान गरेका छन्। पञ्चायतकालीन भूमिगत जीवनमा पार्टीका नेताहरूको संघर्षमा आधारित पुस्तक ‘सेल्टर’ को विमोचन पनि गरिएको थियो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.