मावि तुल्सीपुर सेन्टरले सुरु गर्यो विद्यार्थी भर्ना
शिक्षकहरू आन्दोलनमै रहेको समयमा विद्यार्थीको अधिकार र भविष्यलाई वञ्चित नगर्ने भन्दै अभिभावक र विद्यालय व्यवस्थापन समितिको दबाबमा सेन्टर स्कुलले भर्ना अभियान सुरु गरेको विद्यालय प्रशासनले जनाएको छ।
दाङ : दाङको तुल्सीपुर उपमहानगरपालिका ६ मा रहेको माध्यमिक विद्यालय तुल्सीपुर सेन्टरले विद्यार्थी भर्ना अभियान सुरु गरेको छ। बुधबारदेखि विद्यालयमा भर्ना सुरु गरिएको हो।
भर्ना अभियानलगायतका शैक्षिक कार्यक्रम रोकेर शिक्षक महासंघको आयोजनामा काठमाडौंं केन्द्रित भएर शिक्षकहरू आन्दोलनमा छन्। शिक्षकहरू आन्दोलनमै रहेको समयमा विद्यार्थीको अधिकार र भविष्यलाई वञ्चित नगर्ने भन्दै अभिभावक र विद्यालय व्यवस्थापन समितिको दबाबमा सेन्टर स्कुलले भर्ना अभियान सुरु गरेको विद्यालय प्रशासनले जनाएको छ।
नेपालकै उत्कृष्ट स्कुलका रूपमा रहेको तुलसीपुर सेन्टरले ९ गतेदेखि विद्यार्थी भर्ना अभियान सुरु गरेको विद्यालय प्रशासनले जनाएको छ। अभिभावकको आग्रह, विद्यालय व्यवस्थापन समितिको निर्णय र विद्यालय प्रशासनको सहजीकरणमा विद्यार्थी भर्ना अभियान सुरु भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखतराम पौडेलले बताए।
शिक्षकहरूको मागलाई ऐक्यबद्धता जनाउँदै र विद्यार्थीको भविष्यलाई पनि वञ्चित बनाउन नहुने भन्दै भर्ना अभियान सुरु गरिएको पौडेलको भनाइ छ। अहिले विद्यार्थी भर्ना नगर्दा त्यसको असर विद्यालय, शिक्षक तथा अभिभावकलाई समेत समस्या हुने देखेर भर्ना सुरु गरिएको उनले बताए। विद्यालयका प्रधानाध्यापक भागवत पौडेलले विद्यालय विद्यार्थीको भविष्य र अधिकारलाई सुनिश्चित गर्न शिक्षक आन्दोलनको मोडालिटी फेर्नुपर्ने बताए। शैक्षिक हड्ताल हटाउनु पर्ने र भर्ना अभियान सुरु हुनु पर्ने बताए।
सामुदायिक विद्यालयमा भर्ना अवरोध भएपछि केही विद्यार्थी निजी विद्यालयमा अध्ययनका लागि भर्ना भएका छन्।
शिक्षक आन्दोलनमा ऐक्यबद्धता, सहभागिता पूर्णरूपमा रहे पनि विद्यार्थीको अधिकार सुनिश्चितताका लागि भर्ना अभियानलाई निरन्तरता दिनुपर्ने उनको भनाइ छ। उनले सरकारले शिक्षका जायज माग तत्काल सम्बोधन गर्न माग समेत गरे। सरकारी विद्यालयमा ताला लाग्ने र बोर्डिङमा विद्यार्थी पठाउने अवस्था बनाउन नहुने प्रधानाध्यापक पौडेलको भनाइ छ।
देशकै उत्कृष्ट तथा मेघा विद्यालयका रूपमा आफूलाई चिनाएको सेन्टर मावि तुलसीपुरमा झन्डै तीन हजार विद्यार्थीले अध्ययन गरिरहेका छन् भने ६ वटा संकायमा प्राविधिक धारका विद्यार्थी पनि छन्। झन्डै १ सय शिक्षक शिक्षिकाले अध्यापन गराइरहेका छन्। विद्यालयको शैक्षिक तथा भौतिक गुणस्तर प्रभावकारी रूपमा रहँदै आएको हुँदा यस वर्ष पनि विद्यार्थीलाई विद्यालयभन्दा बाहिर नजाऊन् भन्ने उद्देश्यले नियमित रूपमा भर्ना प्रक्रिया सुरु गरिएको विद्यालयले जनाएको छ। नयाँ विद्यार्थीलाई प्रवेश परीक्षा लिएर मात्रै भर्ना गर्ने गरिएको छ भने विद्यालयमा अध्ययनरत विद्यार्थीलाई नियमित भर्नामा राखिएको विद्यालय प्रशासनको भनाइ छ।
विद्यालयको भर्ना अभियान सुरु भएदेखि केही शिक्षक नेताहरूसमेत विद्यालयमा आएर भर्ना अभियान अवरोध गर्न खोजेका थिए। तर, विद्यालय व्यवस्थापन समिति र अभिभावकका कारण उनीहरू त्यो रोक्न नसकेर फर्किएका छन्।
शैक्षिक सुधार र विद्यार्थीको भविष्य सुनिश्चिताका लागि पनि विद्यालय भर्ना अभियान नरोकेरै विद्यालय सञ्चालनको प्रक्रियामा लगिएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ। जिल्लाका अन्य सामुदायिक विद्यालयहरूले भने भर्ना अभियान सुरु गरेको सार्वजनिक गरेका छैनन्। निजी विद्यालयहरूमा भने विद्यार्थीको चाप अत्यधिक बढेको निजी विद्यालयहरूले जनाएका छन्। सामुदायिक विद्यालयमा भर्ना अवरोध भएपछि केही विद्यार्थी निजी विद्यालयमा अध्ययनका लागि भर्ना भएका छन्।
प्रतिक्रिया दिनुहोस !