सबै खालका आतंक निर्मूल पारौं
भारत शासित कश्मीरको पहलगाममा इस्लामिक आतंककारीहरूले वैशाख ९ गते २८ जनाको हत्या गरे, जसमध्ये अधिकांश पर्यटक थिए र तिनमा नेपालका एकजनासमेत परे। आतंकवादी हमला पृथ्वीको जुनसुकै कुनामा भए पनि त्यो निन्दनीय यसै पनि हुन्छ, त्यसमाथि पर्यटक बनेर गएका नेपाली नागरिक सुदीप न्यौपानेसमेतको हत्याले यो नेपालले झन् धेरै भत्र्सना गर्न योग्य घटना भएको छ। सँगसँगै यो आततायी नरसंहारले विश्वलाई नै झस्काएको छ। यो आतंकवादको निरन्तर खतरा सम्झाउने एक दर्दनाक क्षण पनि बनेको छ। पहलगाम नरसंहार पक्कै पनि आतंकवादी हमला किन हो भने उनीहरूले निःहत्था र पर्यटकको ज्यान लिएका छन्। विद्रोही हुन्थे भने जिम्मेवार बन्थे, राज्यका प्रतिनिधि वा तिनका संस्थामा हमला गर्थे।
त्यसो त सेप्टेम्बर ११ मा अमेरिकी जुम्ल्याहा भवनमाथिको आक्रमणले देखाएको हो कि यस्ता कट्टरपन्थीहरूले सर्वसाधारण र समाजलाई तारो बनाउन थालेका छन्। उनीहरूको निशाना निहत्था नागरिक पनि हुन्। सन् २००१ को अमेरिकी आक्रमणपछि विश्वमा आतंकवाद नामेट पार्ने अठोट सबैतिरबाट भएको हो। तर भारतमा भएको पछिल्लो आक्रमणले आतंकवाद जीवित रहेको सन्देश प्रष्ट दिएको छ। त्यसको नियन्त्रण र अन्त्यका लागि विश्वका सबै देश फेरि नयाँ शिराबाट अगाडि बढ्नुपर्ने भएको छ। कश्मीरमा भएको हमला केवल भारत र पाकिस्तानबीचको तनावको सहउत्पादन वा कश्मीरका विद्रोहीहरूले गरेको घटनाका रूपमा मात्रै लिनु हुँदैन, यस्तो पाशविक तवरको हत्याकाण्ड विश्वभरिकै चिन्ता र चासोको विषय हो। यस्ता उदण्ड अपराधले पृथ्वीको जुनसुकै कुनामा पनि अर्काे अपराधका लागि उक्साउने प्रयत्न गर्न सक्छन्।
पाकिस्तानस्थित लश्कर–ए–ताइबाको छद्म संगठन द रेसिस्टेन्स फ्रन्टले यो जघन्य अपराधको जिम्मेवारी लिएपछि भारत र पाकिस्तानबीचको सम्बन्ध थप तनावपूर्ण बन्ने र त्यसले अर्काे युद्ध नामको अपराध निम्त्याउने खतरा पनि उत्तिकै छ। तर अपराधको अन्त्य कुनै पनि किसिमको अपराधबाटै गर्न सकिन्न, चाहे त्यो आवरणमा युद्ध नै किन नहोस्। हाम्रो छिमेकी भारतले यो कुरा आत्मसात गर्नुपर्छ। नेपाली नागरिक सुदीप न्यौपानेको समेत हत्या भएको हुँदा हामी यसमा न्यायको प्रतीक्षा भारतबाट गर्छौं। अपराधी पहिचान गरी तिनीहरूमाथि कारबाही गर्ने गुरुत्वर दायित्व भारतीय सरकारमाथि छ। कश्मिरी जनता भने यस्तो आतंकवादको खिलापमा छन् भन्ने त्यहाँ भएका प्रदर्शनले देखाउँछ। अपराधीमाथि कारबाहीको बहानामा भारतीय सत्ताले निर्दाेष नागरिकमाथि कुनै पनि प्रकारको अन्याय हुनु हुँदैन र नहोस् भन्ने मत नेपालको रहनुपर्छ।
प्रतिक्रिया दिनुहोस !