सन्दर्भ : भूकम्प दिवस

भूकम्पमा ८२ घण्टापछि भेटिएका ऋषि भन्छन्, सीप सिकेर आयआर्जन गर्न चाहन्छु

भूकम्पमा ८२ घण्टापछि भेटिएका ऋषि भन्छन्, सीप सिकेर आयआर्जन गर्न चाहन्छु

अर्घाखाँची : १० वर्षअघिको कहालीलाग्दो घटना सम्झिँदा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका—१ ढाकाबाङ साम्ने गाउँका ऋषि खनाल अहिले पनि झस्किन्छन्। जिन्दगीमा आफूमाथि ठूलो बज्रपात भएको र दैवले आफूलाई ठगेको दिनको सम्झना नआए पनि हुन्थ्यो तर बेलाबेलामा झस्काइरहन्छ ऋषिलाई।

विदेश जाने भनेर घरबाट निस्केका उनी विदेश पुग्न त पाएनन् नै। विदेशमा गएर धन कमाएर परिवारलार्ई सुखसँग पाल्ने उनको सपना त पूरा भएन नै विदेश जान हिँडेकै कारण स्वदेशमै बसेर गरिखाने खुट्टा पनि गुमाउनुप¥यो। भाग्यले बाँचेका ऋषि आफू र परिवारलार्ई कसरी बचाउने भन्ने चिन्तामा छन्। दुईवटा बैसाखीको भरमा उनको जिन्दगी चलिरहेको छ। 

२०७२ साल वैशाख १४ गतेको टिकट थियो। मेडिकल रिपोर्ट पनि आइसकेको थियो। दुई दिनपछि विदेश जाने तयारी गरेकाले काम केही थिएन। दिउँसो नयाँ बानेश्वरमा साथी भेट्ने योजना बनिसकेको थियो। खाना खाएपछि बाहिर निस्कनै लाग्दा सिंगो घरै घुम्न थाल्यो। रिंगटा लागेर भाउन्न भएजस्तो भयो खै के भएको हो कुरा नबुझ्दै उनी रहेको सयपत्री होटलको भवन गल्र्याम्मै ढल्यो।

अलिपछि थाहा पाउँदा ऋषि खनाललाई कुनै अँध्यारो गुफाभित्र बसेजस्तो भयो। अनि देब्रे खुट्टा शरीरबाट छुट्टिएजस्तो लाग्यो। अँध्यारोमा छामछाम छुमछुम गर्दा छेवैमा कोही भेटिएजस्तो लाग्यो, तर बोली कसैको आएन। आफू बसेको घर लडेको र आफू त्यसमै च्यापिएको उनलार्ई थाहा भयो। सक्दो चिच्याए। तर अहँ कसैले सुनेन। 

अवस्था सुन्ने खालको पनि त थिएन। काठमाडौंको गोंगबु क्षेत्रमा ऋषि च्यापिएका जस्ता अरू धेरै घर भत्किएका थिए। दिन हो कि रात कुनै टुंगो भएन। अवस्था कस्तो थियो भने उनी होसमा आएको केही घण्टामा मोबाइल बज्यो, तर मोबाइल झिक्न हात गोजीसम्म पु¥याउन सक्ने अवस्था नै थिएन। भोक प्यासको कुनै सीमा नै थिएन। बाँच्नका लागि हरसम्भव उपाय अपनाउनुको विकल्प थिएन। अनि उनले आफ्नै पिसाब खाएर पनि प्यास मेट्ने निधो गरे। 

हल न चलसँग समय बित्दै जाँदा विस्तारै केही आवाज जस्तो सुनिन्थ्यो। अहिले सम्झँदा त्यो घर भत्काउन आएको डोजरको थियो। त्यो सुन्दा उनलार्ई भगवान् आएजस्तो लाग्थ्यो। तर मिलिक्कै त्यो आवाज हराउँथ्यो। 

दिनरात याद नभए पनि उनको अनुमानमा दुई दिनपछि केही शव गन्हाउन थालेका थिए। तर बिस्तारै नाकले गन्ध पनि खुट्ट्याउन छोडेको थियो। बेलाबेलामा त दिमागले पनि काम नगरेजस्तो भयो। पुरिएका बेला सबैभन्दा धेरै याद आमा र छोराको आयो। पुरिएको तीन दिनसम्म पनि मानिसको चाल नपाएपछि बाँच्ने आस म¥यो। कोही उद्धार गर्न आउँछन् भन्ने पनि लाग्न छाड्यो।

बेलाबेलामा आउने आवाजको पनि विश्वास लाग्न छाड्यो। शरीर पूरै सेतो भइसक्यो, छाम्दा पनि छाला नै आउला जस्तो लाग्थ्यो। मानिस एकदिन मर्छ भन्ने सबैलार्ई थाहा छ। तर अब म मर्दैछु भन्ने अनुभूति हुँदा पनि केही गर्न नसक्दाको पीडा कस्तो हुँदो हो ? 

तर अचानक कतैबाट उज्यालोका किरण उनको आङसम्म परे। कस्तो अचम्म। अब मर्दैछु भनेर आसै मारिसकेको जीवनले नयाँ किरण देख्न पाउला जस्तो भयो। उनी बोल्न सक्ने अवस्था थिएनन्। विस्तारै जीवनका किरण छिराएको त्यो प्वाल अलि ठूलो भयो। कोही बोल्यो, ‘ए ए यहाँ त कोही जिउँदै भेटिएला जस्तो छ। लाइट ल्याउ, लाइट ल्याऊ, अक्सिजन ल्याऊ’ आदि–आदि। अलिबेरमा उनलार्ई एउटा पाइपबाट अक्सिजन आयो। अक्सिजन आउन थालेपछि उनलाई खाना खाएजस्तो लाग्यो। सशस्त्र प्रहरी र नेपाली सेनाले बनाएका प्वाल केहीबेरमा ठूलो भयो। कसैले उनको मुखसम्म पानी पुर्‍यायो।

८२ घण्टा घरभित्र च्यापिएर बसेको मानिस जसले केहीपल्ट आफ्नै पिसाब पियो उसको मुखमा पानी पर्दा कस्तो अनुभव हुँदो हो ? यसको पनि केवल अनुमान मात्र गर्न सकिन्छ। १२ गते पुरिएका ऋषिको १६ गते उद्धार भयो। ऋषिलाई बाहिरी दुनियाँमा आउँदा संसार जितेजस्तो लाग्यो। उनीसँग बाँच्नका लागि पुग्दो आत्मबल थियो। 

‘खुट्टा नथिचिएको भए दाँतले कोट्याएर भए पनि म बाहिर निस्कन्थे होला।’ ऋषिले राति १२ बजे घरमा फोन गरे। आमाको बोली सुन्दा आवाजै निस्केन। श्रीमतीसँग पनि मात्र सुकसुक निस्कियो।

काठमाडौंको गोंगबुमा रहेको भूकम्पले भत्किएको साततले गेस्ट हाउसले च्यापिएका ऋषि खनालको ८२ घण्टापछि जीवितै उद्धार गरिएको थियो। सशस्त्र प्रहरी र फ्रान्सको खोजी तथा उद्धार टोलीको १० घण्टा लामो प्रयासपछि खनालको उद्धार गरिएको थियो। उनले आफ्नो उद्धारका लागि ससाना ढुंगा बाहिर फालेर उद्धार टोलीको ध्यान तानेका थिए।

८२ घण्टासम्म च्यापिएर पनि बाँच्न सफल भएकोमा ऋषि खुसी त छन् नै तर त्यो खुसीले मात्रै छाक टर्ने रहनेछ। उनलाई अहिले दैनिक जीवन गुजारा कसरी गर्ने र आफ्नो छोरालार्ई कसरी पढाउने भन्ने चिन्ताले पिरोलिरहेको छ। ‘बरु उति नै बेला मरेको भए आजसम्म घरकाले पनि बिर्सन्थे होलान् तर अहिले मेरो एउटा खुट्टा काटिएको छ’, उनले भने।

उपचारका लागि ऋषि पटक–पटक काठमाडौं गए। उपचार खर्च सरकारले व्यहोरेको थियो। ‘काठमाडौं आउजाउ, औषधि खर्च गर्दा पाँच लाख रुपैयाँभन्दा बढी सकियो। आजसम्म त बाँचेकै छु’, विगत भुल्ने प्रयास गरे पनि ऋषिलार्ई भविष्यकै चिन्ता छ।

‘म र मजस्ता भूकम्पमा परेर अंगभंग भएका साथीहरूले सीप सिकेर जीविकोपार्जन गर्न चाहेका छौं। काठमाडौंमा विभिन्न संघसस्थाले निःशुल्क सीपमूलक तालिम दिने बताएका थिए। तर ती संस्थाले सम्पर्क नै गरेनन्’, कसैको आस गर्नुभन्दा स्वावलम्बी भएर बाँच्ने इच्छा छ ऋषिको। 

उनका दुई छोरा छन्। ठूलो १० वर्ष र सानो ५ वर्षका छन्। छोराहरूलार्ई राम्रोसँग शिक्षादीक्षा दिने उनको चाहना छ। पछिल्लो समय श्रीमतीले गाउँको विद्यालयमा परिचरको काम गर्छिन्। त्यही सामान्य कमाइले घरको दुई छाक जेनतेन चलेको छ।

काठमाडौंमा भाडा तिरेर बस्ने र बिहान बेलुका खाने स्रोतसमेत जुटाउन नसकेर आफूजस्तै साथीहरूले सीपमूलक तालिम लिन नसकेको उनले बताए। ‘खानेबस्ने व्यवस्था गरिदिए भूकम्पमा परेर हातखुट्टा गुमाएका साथीहरूले सीप सिकेर केही काम गरेर खान सक्ने थियौं’, सरकारले अपांगहरूलाई केही गरेर भए पनि ढुक्कसँग जीवन जिउने वातावरण मिलाई दिनुपर्ने उनको माग छ। 

उनलाई कतैबाट सहयोग त आएन नै। सामान्य प्रक्रियाबाट पाइने अपांग परिचयपत्रसमेत उनले पाएका छैनन्। 

‘अपांग परिचयपत्र पनि पाउन नसक्ने हामी कति अभागी। ‘क’ वर्गको परिचयपत्र भए ४ हजार मासिक त आउने थियो त्यही पनि छैन। कसले हेर्छ र हामीलाई ? सरकार र विभिन्न संघसंस्थाले सहयोग गर्छ भनेर भन्छ, खै त हामीलाई सहयोग गरेको ?’ आँखाभरि आँसु पार्दै उनले भने। 

उनका दुई छोरा गाउँको बाल शिक्षा माध्यमिक विद्यालयमा पढ्छन्। जेठो छोरा कक्षा ४ मा र सानो छोरा बाल शिक्षा पढ्दैछन्। ‘मेरो बारेमा डकुमेन्ट्री, चलचित्र लेखेर बनाएर धेरैले लाखौं आम्दानी गरेका छन्’, आफ्नो दुःखकष्ट बेचेर धेरै जना लखपति भए पनि आफूलाई कसैले पनि सहयोग नगरेको ऋषिको गुनासो छ। उनले भने, ‘सबैले सहयोग गर्छौं भन्छन् तर कसैले गर्दैनन्। गाउँमा बसेको छु विदेश पनि जान सकिनँ।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.