जाजरकोट : जाजरकोटमा मण्डल सर भन्ने बित्तिकै जो कोहीले पनि असल र इमान्दार शिक्षकका रूपमा चिन्ने गर्छन्् । उनी धेरैका गुरु हुन् । गणित, विज्ञान र ऐच्छिक गणितमा अब्बल दक्षता राख्ने मण्डल सर आदर्श शिक्षकका रूपमा स्थापित छन् । सप्तरी जिल्ला तिरहुत गाउँपालिका ५ निवासी सत्यनारायण मण्डल त्रिभुवन मावि खलंगाका गणित÷विज्ञान शिक्षक हुन् ।
२०४८ साल भदौ २ गते अस्थायी नियुक्ति लिएर शिक्षण थालेका मण्डल सर अहिलेसम्म निरन्तर सेवामा छन् । २०५२ सालको शिक्षक सेवा आयोगको परीक्षाबाट २०६० साल मंसिर ७ गते स्थायी नियुक्ति लिएका मावि तृतीय श्रेणीका उनी अहिलेसम्म पनि सोही श्रेणीमा कार्यरत छन् । अहिलेसम्म उनको स्तर वृद्धि हुन सकेको छैन ।
धेरैलाई शिक्षा दिए । धेरैको गणित र साइन्स पढ्ने वेस बनाइदिए । डाक्टर इन्जिनियर, प्रशासकलगायतका उच्च पदमा पुग्ने आधार बनाइदिए तर आफू भने मैनबत्ति जस्तै जलिरहे । ३४ वर्षअघि जुन पद र श्रेणीमा उनले सुरु नियुक्ति लिएका थिए । अहिले पनि उही पद र श्रेणीमै काम गर्न बाध्य छन् । काममा जुन उत्साह र जोस थियो त्यो विस्तारै निराशामा परिणत हुन थालेको छ । ‘ऊर्जाशील समय सबै जाजरकोटमै बित्यो अब यहीँबाट रिटायर्ड हुने हो’, उनले भने, ‘म मेरो पेशाबाट सन्तुष्ट छु । धेरै विद्यार्थी र अभिभावकबाट गहिरो माया र श्रद्धा पाएको छु तर बढुवामा भने म निकै अन्यायमा परेँ ।’ उनको रिटायर्ड हुन अढाई वर्ष मात्र बाँकी छ ।
उनले भारतको बिहारस्थित जगदीश नन्दन कालेज मधुवनीबाट प्रथम श्रेणीमा बीएस्सी उत्तीर्ण गरेका हुन् । पूर्वी तरार्ईमा जन्मेर, त्यहीँ शिक्षादिक्षा लिएर हुर्केको मधेसी समुदायको मान्छे अति विकट दुर्गम जिल्ला जाजरकोटमा पहिलोपटक आउँदा छुट्टै संसारमा पुगेको अनुभूति भयो । सुर्खेतको बोटेचौरबाट पैदल हिँडेर जाजरकोट पुग्नुपथ्र्यो । करिब दुईदिन पैदल हिँडेर जाजरकोट खलंगा पुग्थे ।
त्यतिबेला धेरै दुःख थियो उनले भने, ‘मैले ९ र १० कक्षामा अनिवार्य विज्ञान र ऐच्छिक गणित निरन्तर रूपमा अध्यापन गराइरहेको छु । त्यसका साथै केही वर्ष ११ र १२ कक्षा र क्याम्पसमा मेजर गणित, अर्थशास्त्रको गणित, विज्ञान शिक्षण लगायतका विषयको अध्यापन गराएँ । माध्यमिक र आधारभूत तहका विज्ञान र गणित विषयका दर्जनांै तालिम र प्रशिक्षक प्रशिक्षण तालिमहरू लिएँ । धेरै शिक्षकहरूलाई प्रशिक्षण पनि गराएँ । जिल्ला शिक्षा समितिबाट २०६२ सालमा उत्कृष्ट शिक्षका रूपमा पुरस्कृत पनि भए ।’
यद्यपि, बढुवामा भने उनलाई ठूलै झड्का लाग्यो जबकी सोर्सफोर्सकै कारण उनीभन्दा ८ जना जुनियर शिक्षक द्वितीय श्रेणीमा बढुवा भए तर उनी तृतीयबाट माथि उक्लन सकेनन् । २०६६ सालमा कार्यसम्पादन मूल्यांकनबाट हुने बढुवामा जम्मै स्रोत व्यक्तिहरू बढुवा भए ।
वर्षौंदेखि नपढाएर तत्कालीन जिल्ला शिक्षा कार्यालय वरिपरि घुम्ने स्रोत व्यक्ति बढुवा हुने तर वर्षौंदेखि फिल्डमा खटिने शिक्षक उपेक्षित भएपछि उनले तत्कालीन क्षेत्रीय शिक्षा निर्देशनालयमा उजूरीसमेत दिए ।
उजुरीमाथि छानबिन हुँदा आफूले पेस गरेको कार्य सम्पादन मूल्यांकन (कासमु)फायल नै गायब भएको उनको गुनासो छ । ‘फायल गायब मात्र गरिएन जिल्ला शिक्षा कार्यालयको दर्ता रजिष्टर नै नक्कली बनाएर कासमु फारम नै नभरेको देखाइयो । जवकी कि मैले प्रत्येक वर्ष प्रधानाध्यापकसँग प्रमाणित गराएर कासमु पेस गरेका थिए । यो कुराले मलाई साह्रै तनाव दियो’ उनले भने, ‘अस्थायीसहित सेवा गर्न थालेको ३४ वर्ष पुगिसक्यो । स्थायी भएकै २२ वर्ष भइसक्यो मैले बढुवामा अवसर पाउन सकिनँ । जाजरकोटबाट धेरै सिक्ने र सिकाउने अवसर पाएँ । तर, मेरो वृत्ति विकास हुन सकेन यही कुराले मात्र पिरोल्ने गर्छ । बढुवामा बदमासी भयो । निश्पक्षता भएन । चौथो तहमा नाम निकालेका मैले पढाएका विद्यार्थी अहिले सातौं तहमा पुुगिसके । छैटौं तहमा प्रवेश गरेको मान्छे १०औं तहमा पुगिसक्छ । हामी भने वर्षौं घोटिएर पनि उही पदमा काम गर्न बाध्य छौं । शिक्षा क्षेत्रमा दक्ष जनशक्ति भित्र्याउने हो भने शिक्षकहरूलाई पनि अन्य सेवा र क्षेत्र सरह वृत्ति विकासको अवसर दिनु पर्छ कम्तीमा १० वर्षमा आवधिक बढुवा प्रणाली लागु गर्नु पर्छ । यी प्रावधानसहित तत्काल विद्यालय शिक्षा ऐन आउनुपर्छ र हामी जस्ता सोर्सफोर्स नभएका शिक्षकहरूको वृत्ति विकासमा सहयोग हुनेगरी ऐन जारी हुनुपर्छ । शैक्षिक गुणस्तरका लागि पनि शिक्षको वृत्ति विकास आवश्यक छ ।’
प्रतिक्रिया दिनुहोस !