बसाइँ हिँड्नेको ताँती
गाउँगाउँमा सिंहदरबारको नारासहित नेपालमा संघीय प्रणाली लागू गरिएको विकास गाउँगाउँमा पुर्याउन हो । हुन पनि पञ्चायतकाल ढलिसक्दा पनि सरकार जिल्ला सदरमुकामहरूमा मोटर बाटो पुर्याउने लक्ष्य राख्थ्यो । अहिले भने पालिका केन्द्रसम्म सडक पुर्याउने लक्ष्य राखिएको छ र त्यो पनि केही दर्जन पालिका केन्द्रमा मात्रै सडक पुर्याउन बाँकी छ ।
सरकार त्यसमा केन्द्रित पनि छ । गाउँगाउँमा मोटर बाटो र खानेपानीका पूर्वाधार धमाधम बनिरहेका छन् । सरकारले भनेअनुसार ९८ प्रतिशत घरधुरीमा बिजुलीको उज्यालो पुगेको छ । विकास गाउँतिर सोझिएको छ । तर गाउँका बासिन्दा भने सहर सोझिएका छन् । २०७८ सालको जनगणनाअनुसार ३४ जिल्लाको जनसंख्या वृद्धिदर ऋणात्मक छ ।
खासगरी पहाड र हिमाली जिल्लाका बासिन्दा धमाधम अरू जिल्लातिर अर्थात् समथर भूभाग भएका जिल्ला झरेका छन् । यस्तो क्रम पहिला पनि नभएको होइन । तर, २०१८ सालतिर बसाइँसराइको दर ४ प्रतिशत थियो भने अहिले २० प्रतिशत पुगेको छ । पहिलापहिला मानिसहरू कि मधेस झर्थे त कि पूर्वाेत्तर भारत पनि पुग्थे । अहिले आन्तरिक बसाइँसराइ तीव्र छ । पहाड र हिमाली क्षेत्रमा धानको खेती र उब्जनी कम हुने अनि अरू खाद्यान्नको पनि अभाव हुँदा मधेस तराईतिर बसाइँ आकर्षित थियो । अचेल भने काठमाडौं उपत्यकासहित देशका प्रमुख सहरहरूमा बसाइ केन्द्रित छ । यसको कारण गाउँमा विकास नभएर होइन, शिक्षा, स्वास्थ्य र रोजगारीको खोजी हो ।
गाउँमा विकास अर्थात् बाटो लगे पनि उद्यमशीलताको वातावरण बन्न सकेको छैन, उत्पादनले बजार पाउँदैन । रोजगारीका अवसर छैनन् । अनि शिक्षा र स्वास्थ्यका सेवाको गुणस्तर निकै कमजोर छ । पालिकापिच्छे अस्पताल बनाउने सरकारको कदम पूरा भएको छैन । सार्वजनिक विद्यालयहरूको गुणस्तर तन्नम छ । विदेश गएर कमाएको पैसाले समथर भूभागमा घडेरी किन्ने र सन्तानलाई राम्रो शिक्षा दिने, उपचारका लागि अस्पताल जान पाइने ठाउँ बसाइँसराइको रोजाइ बनिरहको छ ।
बसाइँसराइको यो चक्रले गाउँ रित्तिने र सहरहरू अव्यवस्थित बन्ने अवस्था आएको छ । तसर्थ गाउँका बासिन्दालाई अड्याइरहन गतिलो शिक्षा र स्वास्थ्य सेवासँगै रोजगारी वा उद्यमशीलताको वातावरण आवश्यक छ । त्यसो नगरेसम्म विकास गाउँ पुगेरमात्रै केही हुँदैन, गाउँ रित्तिँदै जाने छन् । ग्रामीण अर्थतन्त्र धराशायी हुन्छ । रैथाने बालीहरू हराउँछन् । हराउँछन्, सांस्कृतिक पहिचानहरू पनि । गाउँ रित्तिएर सहरमा मात्रै मान्छे थुप्रिँदा विकासको सन्तुलन भत्किन्छ ।
प्रतिक्रिया दिनुहोस !