जलबिना अन्नको पनि सिर्जना हुँदैन, जल जीवन हो । जलदान जीवनदान हो ।
२०८२ वैशाख १७, वैशाख शुक्ल तृतीया । अक्षय तृतीया । सातु र सर्वत वितरणको दिन । मानव जीवन शीतल पार्ने दिन । उखरमाउलो गर्मी बढेको छ, हिजोआज । शास्त्रको कथन :
यत्किन्चित् दीयते दानं स्वल्पं वा यदि वा बहु ।
तत्सर्वमक्षयं यस्मात्तेनेयमक्षया स्मृता ।।
एष धर्मघटो दत्तो ब्रह्मविष्णु शिवात्मकः ।
अस्य प्रदानात्तृप्यन्तु पितरोपि पितामहाः ।।
गन्धोदकं तिलैर्मिश्रं सान्नं कुम्भं फलान्वितम् ।
पितृभ्यः संप्रदास्यामि ह्यक्षयमुपतिष्ठतु ।।
अर्थात्, थोरै उपकार, धर्म, दान, पुण्य गर्दा पनि बहुत हुने दिन । कहिल्यै ननासिने अक्षय कर्म गर्ने दिन ।, ईश्वरीय सत्तालाई सम्झने र जीवन समर्पण गर्ने दिन । दिवंगत पितृहरूलाई समेत विशेष खुसी पार्न सकिने दिन । जीवित र मृतक सबैप्रति उदारता देखाउने दिन । हाम्रो धर्म र संस्कृति संसारकै लागि उदाहरणीय रूपमा प्रस्तुत हुने दिन । जति विवेचना गरे पनि कम हुने दिन हो, अक्षय तृतीया जुन विशेष हो, छ ।
शिव–पार्वतीको बिहेको दिनको रूपमा, ईश्वरको आवेश अवतार परशुराम जयन्तीको रूपमा समेत हेरिने यो पर्वको विशेष महत्व रहेको छ । अक्षय तृतीयालाई राम अवतार ज्ञानको आरम्भ, त्रेतायुग आरम्भको दिन मानिन्छ । हिन्दु धर्म संस्कृतिमा यस दिनलाई विशेष पर्वको रूपमा मान्ने चलन छ हाम्रो । यस दिनमा गरिएका साना कर्मले पनि अक्षय पुण्य प्राप्ति हुने कारण यसलाई अक्षय तृतीया भनिएको हो, धेरथोर गरिएको दानले अक्षय फल प्राप्त हुने, ब्रह्मा, विष्णु, शिव तीनै देवता प्रसन्न रहने, तिलमिश्रित अन्न, जल, घडा दानले स्वर्गीय पितृहरू बढी खुसी रहने, दातालाई अक्षय पुण्य प्राप्ति हुने धार्मिक मान्यता रहेको छ ।
सबै दिन पावन छन् तथापि यस दिन सातु, सर्वतको अधिक महत्व छ, यसै पनि जौ को परिकार सेवनबाट स्वाथ्य निरोगी हुने, सुगर, प्रेसर रोगीलाई अति उपयोगी जौ, चना, दाल, गेडागुडी, कोदो, फापर र ग्लाइसेमिक इन्डेक्स कम भएका खाना, फलपूmल प्रोटिन र रेशायुक्त भएकाले अस्पतालका बिरामीहरूलाई समेत ग्राह्य छ बढी नै । पानीको सर्वत्र हाहाकार, गृष्मको नजिकै रहेको वसन्तै भए पनि शुष्क कण्ठ, जलवायु परिवर्तनको मार, तीव्र र विषाक्त वायु र खानाले हाम्रो दैनन्दिन जीवन करिब नाजुक छ र असाध्य रोगहरूको बढोत्तरी भइरहेको छ, नसर्ने रोगहरूको वृद्धिले संसार अहिले भयभीत छ, त्यसमा हामी पनि परेका छौं ।
वायुमण्डल नै विषाक्त भएपछि बाँकी वस्तु अनि प्राणीहरूको जनजीवन बढी कष्टकर हुने नै हुन्छ, प्रताडित भएको अबस्था छ । संसारले यसबारे ठूलै प्रतिबद्धता जाहेर गरे पनि विश्व अहिले लत्रिएकै अबस्थामा छ । हाम्रा ऋषिमहर्षिहरूले दीर्घ जीवन पाए, साधना गरे, अनुसन्धान गरे र अमरत्व प्राप्ति खातिर वातावरणमैत्रीको प्रयास गरे । वर्षभरि नै ऋतुपिच्छेका खाना र जीवन पद्धतिसँग जोडिएका संस्कृति, संस्कार, चाडवाड, सभ्यताको परिचय र सन्देश दिएर गए ।
हामीले त्यसको सदुपयोग गर्न नजानेर भत्कायौं संस्कार आफैंले । नव वर्ष प्रवेशसँगै वर्षभरिका दिन उज्याला हुन्, दिएर खाने नै देवता हो । अरूको लिइरहने, शोषण गर्ने, अतिसार, अत्याचार गर्ने दानव हो भन्ने सम्झना पनि तिनैले दिलाए, शास्त्रहरू सिकाए । बुझ्नेलाई त कुनै पनि वनस्पति श्रीखण्ड नै हुन्छ, मन्त्रबिनाका कुनै अक्षर नै छैनन् । हो, शास्त्र शस्त्र भएर आउँदैन तर अहिले संसार भयभीत हुनुको पछाडि विज्ञानको दुरुपयोग छ । र, मस्तिष्कको सदुपयोग पनि पूर्णरूपमा भएको छैन ।
पूर्वीय दर्शनमा ऋग्वेदको आरम्भदेखि नै मानव जीवन स्वस्थ र सन्तुलित हुनुपर्ने संकेत भएको छ । स्वस्थ जीवनबाटै स्वस्थ समाज निर्माण हुन्छ । स्वस्थ र सन्तुलित सभ्य नागरिक समाजबाट देश प्रेम, देशको समृद्धि, ईश्वरीय चिन्तनसमेत हुनपुग्छ । अरूलाई नदिई स्वयंले मात्र प्रयोग गरेको अन्न विषतुल्य हुन्छ भनी पूर्वीय दर्शनले परोपकारको अक्षुण्णतालाई संकेत गरेको छ । धार्मिकजनहरू, साधुसन्त, वैरागी, तपस्वी, समाज हितकारी व्यक्तिदेखि सम्पूर्ण जीवात्माहरूलाई आफ्नो सेवाबाट, समयबाट, श्रमबाट, दानबाट खुसी गराउनु पर्ने कुरा दर्शन शास्त्रहरूले बताएका छन् ।
मानव जीवन भन्नु परोपकारका लागि हो । पशु र मानवमा पृथकता भन्नु नै चेतना विकास हो । अध्यात्मको गहिरो भोक नलागी देखावटी दर्शन शास्त्रहरू पनि कामयावी नहुन सक्छन्, जीवनमा, समाजमा, देशमा र पूरै ब्रह्माण्डमै । दानमध्ये अन्न दान प्राण दानसरह हो । सबै प्राणी जल, अन्न र वायुमा निहित छन् । वातावरणको संरक्षण गरी जलदान, अन्नदान गर्न यस पर्वले जोड दिएको छ । हाम्रो मुलुक कृषिप्रधान हो । प्रमुख बाली धान, गहुँ, मकैका अतिरिक्त जौ उत्पादन पनि हुने गर्छ । तिल, जौद्वारा ईश्वरको पूजा हुने गर्छ । जौ, गहँुलाई शीतलताको प्रतीक मानिन्छ ।
अस्पतालका बिरामीहरूलाई जौ, चनाको सातु खान प्रेरित गरिन्छ । रोग निरोधक शक्ति भएको, पाचनमा सजिलो भएको, जौ, गहुँको खस्रो पदार्थबाट पेटमा रहेका विकारहरू सजिलै बाहिर निष्कासन हुने कारणले गर्दा रेसायुक्त खानेकुरा खानाले शरीर स्वस्थ हुने भन्छन् आधुनिक शास्त्रका चिकित्सकहरू । यसबाट शरीरमा मल भित्र रहन पाउँदैन । प्रदूषित वस्तुहरू तुरुन्तै बाहिर निष्कासन हुने पदार्थहरू दैनिकी जीवनमा प्रयोग गर्नुपर्ने हुन्छ । यस अर्थमा जौ, गहुँ, मकैका च्याख्ला, चना, भटमास आदि अन्नद्वारा शरीर निरोगी राख्न सकिन्छ । अन्नको अतिरिक्त जीवनमा जलको अधिक महत्व छ । सम्पूर्ण सृष्टि जलमै भएको हो । संरक्षण पनि जल सहितको भूमिमा हुन्छ । जलबिना अन्नको पनि सिर्जना हुँदैन, जल जीवन हो । जलदान जीवनदान हो ।
अक्षय तृतीयाको दिन जल दानको संकेतले मानवले हरदिन पानीलाई पवित्र राख्नु पर्ने बोध गराउँछ । जौको सातु, साथमा धर्मघट अर्थात् जलपूर्ण घडा, घ्यू, चिनी, मसला, तिल मिश्रित सर्वत र आकाशको प्रतीक छाता र धर्तिको प्रतीक जुत्ता वितरणले सम्पूर्ण जीवन र जीवन संरक्षण हेतु यी वस्तुहरू अरूको हितमा प्रयोग गर्ने संकेत मिल्छ, यो निस्वार्थ दान हो ।
प्रतिक्रिया दिनुहोस !