कर्णालीले बनाउँदैछ गठिलो बजेट

कर्णालीले बनाउँदैछ गठिलो बजेट
सुन्नुहोस्

वीरेन्द्रनगर : कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम र बजेट निर्माणको काम थालनी गरेको छ । प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले सम्बन्धित निकाय, मन्त्रालयका सचिव तथा कर्मचारीहरूबीच बजेट लक्षित छलफल गर्दै आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि तयारी थालेको हो । 

प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले आगामी आर्थिक वर्षको बजेटकै तयारीका लागि ३१ अर्ब ५९ करोडको अनुमानित सिलिङ मन्त्रालयहरूमा पठाइसकेको बताए । उनले भने, ‘चालु आर्थिक वर्षको बजेटमा ७५ प्रतिशत बजेट खर्च हुन्छ भन्ने अनुमानका आधारमा मन्त्रालयहरूलाई बजेट सिलिङ वितरण गरिसकेका छौं । मन्त्रालयहरूले पनि सोहीअन्तर्गत काम गरिरहेका छन् । हामीले पनि बजेटसँग सम्बन्धित विभिन्न विषयमा मन्त्रालयमा छलफल गरिरहेका छौं । अन्य सरोकारवालाहरूको पनि सुझाव लिइरहेका छौं ।’

आर्थिक मामिला मन्त्रालयका अनुसार हरेक मन्त्रालयलाई चालु आर्थिक वर्षको बजेटभन्दा शून्य दशमलव ५ देखि ३ प्रतिशतसम्म बढाएर सिलिङ वितरण गरिएको हो । प्रदेश सरकारले चालु आर्थिक वर्षमा ३१ अर्ब ४१ करोड ४१ हजार बराबरको बजेट ल्याएको थियो । बजेट सिलिङ वितरणका आधारमा आगामी आर्थिक वर्षमा बजेटको आकार बढ्ने आकलन गरिएको छ । चालु आर्थिक वर्षको बजेट चैत मसान्तसम्म कुल बजेटको २७ प्रतिशतमात्रै खर्च भएको छ । 

त्यसमा विकास बजेट २० प्रतिशतमात्रै कार्यान्वयनमा आएको छ । तर, अधिकांश योजनाहरूमा असारमा कार्यसम्पन्न हुने र भुक्तानी पनि असारमै धेरै हुने भएकाले चालु आर्थिक वर्षको कुल बजेटको ७५ प्रतिशत बजेट खर्च हुने अनुमान मन्त्रालयको छ । 

अर्थमन्त्री शाहका अनुसार विगतमा बजेट निर्माण देखिएका कमजोरीलाई सुधार गर्दै नयाँ बजेट निकै वैज्ञानिक र सुधारिएर आउने दाबी गरे । उनले  ससाना टुक्रे योजनाभन्दा पनि रणनीतिक योजनाहरूलाई प्राथमिकता दिने तयारी रहेको उनले बताए । उनले कर्णाली प्रदेशका १० वटै जिल्लामा ५० लाखभन्दा माथिका योजनाहरूमा मात्र बजेट केन्द्रित गरिने बताए । सरकारले आगामी आर्थिक वर्षका लागि प्रदेशको आन्तरिक आम्दानीबाट ८१ करोडको लक्ष्य राखेर रणनीति बनाइरहेको छ । नयाँ बजेटमा कार्यन्वयन गर्न सहज तथा परिणाममुखी योजना छनोटलाई प्राथमिक्ता दिइनेछ ।null

मन्त्री शाहले कर्णालीमा धमाधम खोलिएका सडकहरूमा यातायात सञ्चालन असज भइरहेको बताउँदै ट्र्याक ओपन भएका सडकहरूको स्तरोन्नतिमा जोड दिइने बताए । सरकारले आफ्नो आन्तरिक आम्दानी पनि कसरी वृद्धि गर्ने भन्ने विषयमा तयारी गरिरहेको छ । उनले भने, ‘अहिलेको हाम्रो प्रदेश संघीय अनुदानको भरमा चलिरहेको छ । यसरी दीर्घकालीन रूपमा जाँदा समस्या हुन्छ । त्यसका लागि हाम्रो आन्तरिक आम्दानी कसरी बढाउन सकिन्छ भन्ने विषयमा छलफल गरिरहेका छौं । यहाँ मन्त्रालयमै राजस्व शाखा पनि स्थापना गरी त्यसबाट पनि थप प्रयासहरू भइरहेको छ ।’ 

उनले आगामी आर्थिक बर्षको बजेट विगतभन्दा फरक, वास्तविकतामा आधारित र कर्णालीलाई सुहाउँदो आउनेमा आस्वस्त पारे । उनले भने, ‘पूर्वाधार, रोजगारीमुखी, जनअपेक्षालाई सम्बोधन गर्ने, वन तथा कृषकलाई समेट्ने गरी बजेट ल्याइने छ । बजेट निर्माणको सन्दर्भमा विज्ञहरूसँग पनि बसेर छलफल भइरहेको छ । विगतमा वैशाख महिना लागेसँगै प्रदेश राजधानी वीरेन्द्रनगरमा योजना माग्नेहरूको भिड लाग्थ्यो । 

यद्यपि योपटक त्यो अवस्था अन्त्य भएको छ । प्रदेश सरकारले बनाएको ‘आयोजना प्रस्ताव तथा छनोट प्रक्रियासम्बन्धी कार्यविधि’ अनुसार हरेक जिल्लाबाट योजना छनोट भएर योजना बैंकमा आउँछन् । त्यसैका आधारमा सरकारले योजना कार्यन्वयन गर्छ । झ्यालबाट योजना बाँड्ने परम्पराको अन्त्य यसै वर्षबाट हुनेछ । 

कर्णाली प्रदेशमा प्रदेश सरकार गठन भएको सुरुवाति बर्ष सरकारले २०७४/०७५ मा १ अर्ब २ करोड ५ लाख, आर्थिक वर्ष २०७५/०७६ मा २८ अर्ब २८ करोड २८ लाख, आर्थिक बर्ष २०७६/०७७ मा ३४ अर्ब ३५ करोड ३७ लाख ७२ हजार, आर्थिक वर्ष २०७७/०७८ मा ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार कुल बजेट ल्याएको थियो ।

यस्तै प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ मा ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार, आर्थिक वर्ष २०७९/०८० मा ३२ अर्ब ६१ करोड ६१ लाख ३६ हजार, आर्थिक वर्ष २०८०/०८१ मा ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार र गत आर्थिक वर्ष २०८१/०८२ मा ३१ अर्ब ४१ करोड ४१ हजारको कुल बजेट ल्याएको थियो । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.