जनकपुरमा रंगशाला निर्माणका लागि गुठीले माग्यो ४९ लाख ९० हजार भाडा
जनकपुरधाम : जनकपुरको बहुप्रतिक्षित रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशाला निर्माणका लागि जग्गा दिन गुठी संस्थानले ४९ लाख ९० हजार रुपैयाँ भाडा मागेको छ ।
गुठी संस्थान प्रधान कार्यालय पूर्वाधार विकास तथा सम्पदा संरक्षण शाखाद्धार ११ गते मधेस प्रदेश खेलकुद तथा समाज कल्याण मन्त्रालय जनकपुरलाई करार सम्झौता गर्नका लागि पत्राचार गरिएको हो । सो पत्रमा रंगशाला निर्माणका लागि जग्गा लिजमा लिँदा वार्षिक ४९ लाख ९० हजार रुपैयाँ भाडा तिर्नुपर्ने उल्लेख छ ।
गुठी संस्थान मातहतको जनकपुर उपमहानगरपालिका–१४ अन्तर्गत विभिन्न कित्तामा रहेको तैनाथी जग्गाहरुमध्ये १७ बिघा क्षेत्रफलमा रंगशाला निर्माणका लागि खेलकुद मन्त्रालयबाट लिजमा उपलब्ध गराउन माग गरिएको थियो ।
मधेस प्रदेश सरकारको सो मागका विषयमा गत चैत्र २२ गते बसेको गुठी संस्थान सञ्चालक समितिको बैठकबाट गुठी तैनाथी घर—जग्गा लिज तथा बहालमा दिने सम्बन्धी निर्देशिका, २०७८ बमोजिम न्यूनतम वार्षिक लिज रकम रु. ४९ लाख ९० हजार तिर्न भनिएको छ । कम्तीमा एक वर्षको भाडा बराबरले हुने रकम गुठी कार्यालयको खातामा नगद जम्मा गरी बैंक भौचरको सक्कल प्रति लिई वा कम्तीमा एक वर्षको भाडा रकम खाम्ने गरी गुठी कार्यालयको नाममा ‘क’ वर्गको वाणिज्य बैंकले जारी गरेको कम्तीमा दुई वर्ष म्याद कायम भएको सर्त रहितको बैंक जमानतको सक्कलै प्रति लिई गुठी कार्यालयमा तीन दिनभित्र सम्भ्mौता गर्न आउनु भनी निजलाई जानकारी दिइएको छ,’ गुठीले मन्त्रालयलाई पठाएको पत्रमा भनिएको छ। आधिकारिक प्रतिनिधिसहित करार सम्झौता गर्न उपस्थित हुन गुठीले मन्त्रालयलाई अनुरोध गरेको गुठी संस्थान प्रशासक शैलेस राज कुवरले जनाए ।
साथै गुठीले रंगशालाको लागि जग्गा लिजमा दिँदा लिज अवधि भित्र प्रत्येक दुई वर्षमा कम्तीमा दश प्रतिशतका दरले बहाल रकम वृद्धि हुने र बढीमा २५ वर्षसम्मका लागि मात्रै लिज सम्झौता रहने पनि जनाएको छ ।
यसअघि गुठी संस्थान र राष्ट्रिय खेलकुद परिषद्बिच २०७४ मंसिर ३ गते वार्षिक ९ लाख रुपैयाँ भाडामा तिर्ने गरी रंगशाला निर्माणका लागि जग्गा लिजमा दिने सम्झौता भएको थियो । तर, करार सम्झौता अनुसार परिषद्ले गुठी संस्थानलाई तिर्नु पर्ने रकम नबुझाएपछि गुठी संस्थान ऐन २०३३ को दफा ४१ बमोजिम सरकारी बाँकी सरह परिषदबाट असुल उपर गर्ने गरी करार सम्झौता भंग गरिएको थियो । पछि मधेस प्रदेश सरकारको खेलकुद मन्त्रालय, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख तथा खेलप्रेमीहरुको अग्रसरतामा पुनः सोही जग्गा लिजमा लिने प्रक्रिया अघि बढाइएको हो । तर, गुठीले यति धेरै भाडा मागेपछि रंगशाला निर्माणको काम फेरि अलपत्र पर्ने जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साह बताउँछन् । खेलकुदको क्षेत्रमा एउटा रंगशाला निर्माण गर्दा समेत गुठीले यति धेरै लिज बापतको रकम माग गरेर निर्माण कार्यमा तगारो हाल्ने काम गरेको छ,’ साहले अन्नपूर्णकर्मीसँग भने, हाम्रो आफ्नै प्रदेशमा आफ्नै नगरमा रहेको जग्गामा राम्रो काम गर्न खोज्दा यस प्रकारले प्रताडित गरिँदै छ । यो निन्दनीय हो ।’
लिज सम्झौता नहुँदै रंगशाला निर्माणका लागि उपमहानगरपालिकाले हालसम्म डेढ करोड रुपैयाँको लगानी समेत गरिसकेको छ । यता, मधेस सरकारले रंगशाला निर्माणका लागि दुई अर्ब रुपैयाँ दिने यसअघिनै घोषणा गरिसकेको छ । मधेस प्रदेशका पूर्वमुख्यमन्त्री सरोजकुमार यादवले देशकै सुविधासम्पन्न नमुना रंगशाला बनाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आएको बेला घोषणा गरिएको एक अर्ब रुपैयाँ र मधेस सरकारले थप एक अर्ब गरी दुई अर्ब रकम दिने घोषणा गरेका थिए ।
प्रतिक्रिया दिनुहोस !