‘निरोगी नेपाल’का लागि प्रतिकारात्मक र उपचारात्मक सेवा
काठमाडौं : सरकारले आर्थिक वर्ष २०८२/०८३ मा निरोगी नेपाल अभियानलाई अघि सार्दै दुई विधि अघि सारेको छ– प्रतिकारात्मक र उपचारात्मक । यी दुवै विधि अपनाई चिकित्सा प्रणालीका सबै पक्षको विकास गर्ने नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सबै नागरिकलाई गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन संघ, प्रदेश र स्थानीय तहबीच सहकार्य गरिने बताए । उनले स्वास्थ्य प्रणालीको विकास जनसंख्या, भूगोल र रोगको भारका आधारमा गरिने जानकारी दिए ।
स्वास्थ्य सेवालाई सुलभ र पहुँचयोग्य तुल्याउन पूर्वाधार विस्तारसँगै सेवा प्रदायक (अस्पताल, चिकित्सक, स्वास्थ्य जनशक्ति र सेवाग्राही) बिचको असन्तुलन हटाइनेछ । स्वास्थ्य जनशक्तिको व्यवस्थापन र गुणस्तरीय सेवाका लागि संघीय स्वास्थ्य सेवा ऐन र स्वास्थ्य सेवाको गुणस्तर नियमनका लागि राष्ट्रिय गुणस्तर प्रत्ययन प्राधिकरण ऐन तर्जुमा गरिने भएको छ । सबै सरकारी अस्पताललाई एउटै अनलाइन सेवामा आबद्ध गर्ने गरी नागरिक एपलाई सुधार गरिनेछ । आधारभूत तथा अत्यावश्यक औषधिहरूको उत्पादन प्रवर्धन गरिनेछ । औषधि तथा स्वास्थ्य सामग्रीसम्बन्धी एकीकृत ऐन तर्जुमा गरिने छ ।
एकीकृत स्वास्थ्य बिमामा सरकारले स्वास्थ्य बिमा प्रणाली एकीकृत गरी उपचारको दायरा विस्तार गरिनेछ । गम्भीर रोगको उपचारसमेत बिमाबाट हुने व्यवस्था गर्न सुविधा थैली परिमार्जन गर्ने भएको छ । बिमा सेवाको सुशासन र वित्तीय स्थायित्वका लागि बिमा बोर्डको पुनर्संरचना गरिने नीति लिइएको छ । बिमा प्रणालीमाथिको व्ययभार न्यून गर्न सरकारद्वारा उपलब्ध गराइने आधारभूत तथा अत्यावश्यक औषधिहरू बिमा प्रणालीमा जोडिनेछ ।
छरिएका सबै स्वास्थ्य सेवालाई एकीकृत गरी स्रोतको अभावलाई सम्बोधन गर्न सामाजिक सुरक्षा कोष, कर्मचारी सञ्चय कोषलगायत सबै स्वास्थ्य सेवा र उपचार सुविधा दिने संस्थाहरूको सेवा प्रभावकारी बनाइने भएको छ । सरकारले स्वास्थ्यसम्बन्धी सबै सहायता र सहुलियतका कार्यक्रमहरूलाई स्वास्थ्य बिमा सेवामा आबद्ध गर्ने भएको छ । स्वास्थ्य बिमा कार्यक्रम पुनर्संरचना गरी दिगो बनाउने नीति राखिएको छ ।
सातै प्रदेशमा मुटु र जलन उपचार विस्तार
सरकारले सातै प्रदेशमा सघन जलन उपचार र मुटु रोग सेवा विस्तार गर्नेछ । दुर्गम क्षेत्रमा विशेषज्ञ सेवाहरू सञ्चालन गर्ने भएको छ । हरेक वर्षको फागुन महिनालाई नसर्ने रोग स्क्रिनिङ महिना घोषणा गरी कार्यक्रमहरू सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । क्यान्सर तथा मिर्गाैला प्रत्यारोपण उपचारको सेवा प्रदेशस्तरमा विस्तार गरिने भएको छ । मस्तिष्क, मेरुदण्ड, मानसिक र स्नायु रोग उपचारका लागि काठमाडौंमा अत्याधुनिक राष्ट्रिय न्युरो साइन्स केन्द्र स्थापना गरिनेछ । स्वास्थ्य क्षेत्रका जनशक्तिको आपूर्ति सुनिश्चित गर्न जनरल नर्सिङ कार्यक्रम सञ्चालन गरिने भएको छ । उत्पीडित तथा सिमान्तकृत समुदायलाई चिकित्सा शिक्षामा आरक्षणको व्यवस्था गरिने छ ।
बालबालिकाको निःशुल्क उपचार, गर्भवतीको उद्धार
बालबालिकाको शारीरिक तथा मानसिक विकास र संरक्षण गरिनेछ । सडक बालबालिकाका लागि पारिवारिक पुनर्मिलन, सामाजिक पुनस्र्थापना र वैकल्पिक हेरचाहको व्यवस्था मिलाइनेछ । बाल हेल्पलाइन सेवालाई नागरिक एपसँग जोडिने छ । पाठेघर क्यान्सरको एचपीभी खोप र १४ वर्ष मुनिका बालबालिकाका लागि निःशुल्क क्यान्सर उपचार सेवा उपलब्ध गराइने छ । दुर्गम क्षेत्रका गर्भवती र सुत्केरी महिलाका लागि हवाई उद्धार कार्यक्रम थप प्रभावकारी बनाइने छ ।
ज्येष्ठ नागरिकलाई व्यवस्थापन
ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था मिलाइने भएको छ । सरकारले ज्येष्ठ नागरिकहरूको मानवोचित व्यवस्थापन गर्दै निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था मिलाउने भएको छ ।
आफ्ना लागि आफैं केही गर्न नसक्ने अवस्थामा रहेका हेरचाह र पालन पोषणसमेत गरिदिने कोही नभई जीवन नै जोखिममा रहेका सडक आश्रित सहयोगापेक्षी महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति एवं मनोरोगीहरूको उद्धार एवं मानवोचित व्यवस्थापन गराउने भएको छ ।
ज्येष्ठ नागरिकलाई सम्मानपूर्वक जीवनयापनको प्रबन्ध गरिनेछ । ज्येष्ठ नागरिकका ज्ञान र अनुभवको उपयोग र पुस्तान्तरणमा जोड दिइनेछ । ज्येष्ठ नागरिक सेवा केन्द्रहरूको विस्तार गरिनेछ ।
सरकारले आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममा सबै अस्पतालमा जेरियाट्रिक वार्डको प्रबन्ध मिलाई ज्येष्ठ नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने व्यवस्था मिलाउने घोषणा गरेको थियो ।
आयुर्वेदलाई प्राथमिकता
आयुर्वेद सेवाको सुदृढीकरण र वैकल्पिक चिकित्सा विधि प्रवर्धन गर्न आयुर्वेद अध्ययन प्रतिष्ठानको रूपमा विदुषी योगमाया आयुर्वेद विश्वविद्यालय सञ्चालनमा ल्याइने भएको छ । संक्रामक रोगको रोकथाम र महामारीको प्रतिकार्यका लागि जनस्वास्थ्य निगरानी प्रणालीलाई सुदृढ गरिने छ । जलवायु परिवर्तनका स्वास्थ्य चुनौतीहरूको समाधानका लागि क्लाइमेट हेल्थ रेजिलियन्ट युनिट विकास गरिने जनाइएको छ ।
योग ध्यानमार्फत सकारात्मक सोचको अभिवृद्धि गरी नेपाललाई आरोग्य र ध्यान पर्यटनको आकर्षकस्थलको रूपमा प्रवद्र्धन गरिने भएको छ ।
प्रतिक्रिया दिनुहोस !