धिमे बाजामा रमाउँदै मध्यपुरका युवा

धिमे बाजामा रमाउँदै मध्यपुरका युवा

भक्तपुर : मध्यपुर थिमिको शंखधर चोक निवासी सबिना श्रेष्ठको धिमे सिक्ने इच्छा हुँदाहुँदै पनि सिक्न पाइनन्। सबिना एसएलसी परीक्षा दिएर बिदामा बसेकी थिइन्। आफ्नै टोलमा धिमे सिकाएको थाहा पाएर उनी सिक्न गइन्। तर, पनि सिक्न आउनेमध्ये उनी मात्र महिला भएकाले उनलाई बाजा सिकाउन अस्वीकार गरियो। त्यसैले धिमे सिक्न पाइन्छ भन्ने आशा लिएर त्यहाँ पुगेकी उनी निराश भएर घर फर्किइन्।

‘एसएलसी सकिएपछि म एकचोटी हाम्रै टोलमा धिमे सिक्न गएको थिएँ। त्यहाँ म एक्लै महिला भएँ। सिक्ने महिलाको सख्ंया कम भयो भनेर मलाई सिकाएनन्। त्यसैले त्यतिबेला मैले इच्छा हुँदाहुँदै पनि सिक्न पाइनँ’, सबिना सम्झन्छिन्।

अहिले १० वर्षीय छोरा ओजस श्रेष्ठमा धिमेबाजा बजाउने उही चाह देखेपछि उनी आफैंले आफैंलाई रोक्न सकिनन्। मध्यपुर थिमिको पाचोमा धिमे प्रशिक्षण सुरु भएको खबर पाउनासाथ उनी यति हर्षित भइन् कि, सोही रात प्रशिक्षणका संयोजक सुशन प्रजापतिलाई सम्पर्क गरेर भोलिपल्टदेखि छोरालाई त्यहाँ पुर्‍याइदिइन्। करिब एक महिनादेखि दैनिक उनी छोरालाई लिएर धिमे प्रशिक्षणमा आउने गरेकी छन्।

‘धिमे बजाउने मेरो पनि बाल्यकालदेखिको इच्छा हो। छोरा ओजेसले पनि धेरै इच्छा गर्‍यो। युट्युब हेरेर आफै सिक्न खोज्यो। मैले त इच्छा भएर पनि बजाउन पाइन। अब आफ्नो इच्छा छोराले पूरा गर्छ भन्ने लागेपछि मैले आफूलाई रोक्नै सकिनँ। यसअघि पनि उसलाई दुई तीन ठाउँमा सिकाउन लगेको थिएँ’, सबिनाले भनिन्, ‘यहाँ सिकाउँछ भनेर थाहा पाएपछि त्यही रात सम्पर्क गरेर भोलिपल्टदेखि सिकाउन ल्याएकी हुँ। उसले बजाएको देखेर दुई वर्षअगाडि एउटा जर्किन किनिदिएको थिएँ। अघिल्लो वर्ष धिमे किनिदिए।’

मध्यपुर थिमीको बाहाखा बजार निवासी एमिन चित्रकारको पनि बाल्यकालदेखि धिमेबाजालगायत नेवा सांस्कृतिक बाजाहरू सिक्ने रहर थियो। तर सिक्न पाएका थिएनन्। २० वर्षीय उनी अहिले स्नातक प्रथम वर्षमा अध्ययनरत छन्। एमिन अधिकांश समय विद्यालयमा अन्य साथीहरूले आफ्नो मौलिक बाजागाजाहरू बजाएको हेर्थे। कहिलेकाहीँ त साथीहरूले उनलाई आफ्ना मौलिक बाजा बजाएर देखाउँदा उनलाई पनि आफ्नो मौलिक बाजाहरू बजाएर देखाउन मन लाग्थ्यो। त्यसै कारण यसपटक उनी पनि धिमे प्रशिक्षणमा सहभागी हुन आएका छन्।

‘म अहिले स्नातक पहिलो वर्षमा अध्ययनत छु। बाल्यकालदेखि मैले धिमे बाजा सिक्न पाएको छैन। मेरो परिवारमा कोही पनि नेपाल भाषा बोल्दैनन् र कसैलाई पनि धिमे बजाउन आउँदैन। कहिलेकाहीँ साथीहरूले मलाई नेपाल भाषा बोल्न आउँदैन, धिमे जस्तै अरू बाजा बजाउन आउँदैन भनेर पनि गिज्याउँछन्। त्यतिबेला मलाई धिमेबाजा बजाउने कला प्रस्तुत गर्न सकिन्छ जस्तो लाग्छ। त्यसैले सिक्न आएको हुँ’, उनले भने।

यसरी तालिम नै लिएर सिकेमा बाजाको संरक्षण हुने र निरन्तर जीवन्त रूप पाइरहने पनि एमिनको धारणा छ। तालिमबाट व्यक्तिहरूमा सीपको विकास हुने एवं चाहिएको खण्डमा आफैंले सिकाउन सकिने उनको भनाइ छ। ‘यसरी सिक्यो भने आफूले जानिन्छ पनि। र यसरी मात्र धिमे बाजाको संरक्षण हुन सकछ। अहिले मैले सिक्न सके भने मेरो भावी सन्ततिहरूलाई पनि सिकाउन सक्छु नि’, उनले भने, ‘यसरी सिकिसकेपछि एउटा पुस्ताबाट अर्को पुस्तामा पुस्तान्तरण हुन्छ र लामो समयसम्म यसले निरन्तरता पाइराख्छ।’

एनिमकै सहपाटी एलिजा श्रेष्ठलाई पनि सधैंजसो भ्याइनभ्याई हुन्छ। एलिजाको दैनिक तालिका एकदम व्यस्त छ। उनी बिहान विद्यालय जान्छिन्। दिउँसो अफिस जान्छिन्, बेलुका घर आउँछिन् र विद्यालयको काम गर्छिन्। यो तालिकामा अलिकति मात्र हेरफेर भए उनको दैनिकी नै अस्तव्यस्त हुन्छ। तर जब उनले धिमे प्रशिक्षण सुरु हुँदैछ भन्ने थाहा पाइन्, जसोतसो समय व्यवस्थापन गरी प्रशिक्षणमा आएकी छिन्।

‘मेरो तालिका एकदम व्यस्त छ। म सधैं निश्चित तालिका बनाएर हिँड्छु। बिहान कलेज जान्छु, दिउँसो अफिस जान्छु, बेलुका घर आउँछु अनि फेरि कलेजको काम गर्छु। तर, चुनौती मोलेर भए पनि यहाँ आइरहेको छु’, एलिजाले भनिन्, ‘अहिले बिहान कलेज, दिउँसो अफिस, साँझ प्रशिक्षण र बेलुका अफिसको काम गर्न थालेको छु। समय व्यवस्थापन त गाह्रो नै छ। तर इच्छा भएपछि चुनौती त मोल्नुपर्‍यो नि ! ’

भक्तपुरकै खोपो कलेजमा दसौं सेमेस्टरमा आर्टिटेक्चर अध्ययनरत उनी गिटारलगायत पश्चिमा बाजा बजाए पनि नेवा मौलिक बाजामा जस्तो संगीतको रस नपाएको बताउँछिन्।

‘मैले गिटारलगायत थुप्रै आधुनिक वाद्यवादन सामग्रीहरू बजाएको छु। तर, नेवा वाद्यवादन सामग्रीमा जस्तो मिठास मैले अरू कुनैमा पाएको छैन। अहिले धिमेमात्रै बजाउन सिक्ने हो भने विदेश गएर पनि जुनसुकै बाजा बजाउन सकिन्छ जस्तो मलाई लाग्छ। किनभने धिमे बजाउँदा जुन हात बस्छ नि, हरेक बाजा बजाउन सकिन्छ’, उनले भनिन्।

भक्तपुरको मध्यपुर थिमिस्थित पाचो टोलमा तीनमहिने निःशुल्क धिमे बाजा प्रशिक्षण सञ्चालन भइरहेको छ। पाचोस्थित पाचो धिमे खलको आयोजना तथा सामाजिक विकास मन्त्रालय, बागमती प्रदेशको आर्थिक सहयोगमा धिमे प्रशिक्षण आयोजना गरिएको हो। गत फागुन १८ गते देखि संस्कृतिका जीवित धरोहर श्री गोपाल प्रजापतिको प्रमुख प्रशिक्षणमा तालिम सञ्चालित छ। धिमे बाजा युवा पुस्तालाई हस्तान्तरण गरी धिमे बाजाको संरक्षण गर्ने उद्देश्यका साथ प्रशिक्षण आयोजना गरिएको प्रशिक्षण संयोजक सुशन प्रजापतिले जानकारी दिए।

‘हाम्रो मौलिक बाजा नहराओस् भनेर र पछिल्लो समय आधुनिक धिमे बाजाको नाममा धिमे बाजाको तालहरू परिमार्जन गर्ने चलन बढेको छ। यसलाई नै मध्यनजर गरी ताल नबिर्गियोस् भनेर धिमे सिक्ने इच्छा भएकाहरूलाई संस्कृतिका जीवित धरोहर गुरु गोपाल प्रजापतिको नेतृत्वमा धिमे प्रशिक्षण आयोजना गरेका हौं’, प्रशिक्षण संयोजक प्रजापतिले भने। 

उनका अनुसार दैनिक ५० जना युवाले धिमे सिकिरहेका छन्। पाचो धिमे खलले धिमे प्रशिक्षण दिएको योे दोस्रो पटक हो। अघिल्लो वर्ष आयोजित प्रशिक्षणमा करिब ४० जना सहभागी थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.