६० मा राजनीतिबाट अवकाश, ७१ मा संसारबाटै बिदा

६० मा राजनीतिबाट अवकाश, ७१ मा संसारबाटै बिदा
सुन्नुहोस्

 काठमाडौं : ‘मेरो शवमा झण्डा नओढाउनू, श्रद्धाञ्जलिका लागि नराख्नू’ भन्ने इच्छापत्र लेखेर पूर्वमन्त्री एवं एमाले नेता प्रदीप नेपाल अस्ताएका छन् । स्वर्गीय नेपालको हिन्दू परम्पराअनुसार पशुपतिको आर्यघाटमा मंगलबार अन्तिम संस्कार गरिएको छ ।

नेपालको इच्छाअनुसार श्रद्धाञ्जलि कार्यक्रम राखिएन । बहुदल पछिका एमालेमा प्रभावशाली नेता नेपालको ७१ वर्षको उमेरमा मंगलबार दिउँसो नर्भिक अस्पतालमा निधन भएको हो । पार्किन्सन रोगबाट पीडित उनलाई केही दिनअघि नर्भिकमा भर्ना गरिएको थियो । २०१० पुस २८ गते भोजपुरको गोगने गाउँमा जन्मिएका थिए ।

नेपाल कम्युनिस्ट घटक कोअर्डिनेसन केन्द्र हुँदै नेकपा (माले) स्थापनाका एक महत्वपूर्ण नेताका रूपमा परिचित छन् । नेपालले २०२६ सालमा सगरमाथा स्वतन्त्र विद्यार्थी युनियनको सदस्य भएर राजनीतिक जीवन प्रारम्भ गरेका थिए । माले स्थापनापछि कठोर भूमिगत जीवन बिताएका छन् । उनले मालेको लुम्बिनी, बाँके बर्दिया, मेची, भारत प्रवास र उपत्यकाको पार्टी कामको नेतृत्व गरेका थिए । २०३३ सालमा प्रदीप नेपालले नख्खु 

जेल ब्रेक गरेका थिए । पञ्चायतकालको यो ठूलो घटना थियो । 

२०४९ सालको स्थानीय चुनावपछि उनी राष्ट्रियसभा सांसदमा निर्वाचित भए । २०५१ सालमा गठित मनमोहन अधिकारी नेतृत्वको सरकारमा उनले सञ्चारमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । उनले त्यो बेला नै रेडियो नेपालमा संस्कृत भाषाको समाचार प्रशारणको सुरुवात गरेका थिए । २०५५ सालमा गिरिजाप्रसाद कोइरालाको सरकारमा जलस्रोतमन्त्री भएका थिए । नेपालमा पहिलो पटक सरकारी लगानीमा कालीगण्डकी जलविद्युत् परियोजनाको थालनी उनको कार्यकालमा भएको हो । २०५६ सालमा पहिलो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

०६३ मा गिरिजाप्रसाद कोइराला नेतृत्वको अन्तरिम सरकारमा शिक्षा तथा खेलकुदमन्त्री बनेका थिए । एमालेको आठौं महाधिवेशनमा वर्तमान एमाले अध्यक्ष केपी शर्मा ओलीको समूहबाट महासचिवमा लडेका थिए । तर, उनी ईश्वर पोखरेलसँग पराजित भए । ०७० को नवौं महाधिवेशनमा उपाध्यक्ष उठेका थिए तर जित्न सकेनन् । उनले ६० वर्षकै उमेरबाट सक्रिय राजनीतिबाट अलग हुने घोषणा गरेर बाहिरिए । 

राजनीतिबाट विश्राम पनि लिएका थिए । खरो र अडान भएका नेताका रूपमा उनी परिचित छन् । अन्तर्वार्ता दिँदा पनि पैसा लिने नेताका रूपमा उनी चिनिन्थे । एमालेको १५ वर्ष माधव नेपालले नेतृत्व गरेको समय पनि मन नपरेको कुरा खुला रूपमा नै राखेर आलोचना गर्थे । लोकतन्त्रपछि केपी शर्मा ओलीसँग निकट भएर ओलीकै प्यानलबाट महासचिव र उपाध्यक्षमा लडे पनि पछिल्लो समय आएपछि उनीसँग पनि नेपाल असन्तुष्ट थिए । 

उनले मोबाइल बोकेर विषयमा पनि पार्टी आलोचनामात्र होइन स्पष्टीकरणको विषय पनि बनेको थियो । पार्टी कामकै सिलसिलामा इलाममा जिम्मेवारी रहँदा नै झुमा देवानसँग उनको विवाह भएको थियो । नेपालकी पत्नी झुमा देवान र एक छोरी छन् । 

साहित्यमा सञ्जय थापा 
उनी साहित्यिक क्षेत्रमा पनि उत्तिकै क्रियाशील थिए । उनको साहित्यिक नाम सञ्जय थापा हो । उनले सञ्जय थापाको नामबाट धेरै पुस्तक लेखेका छन् । साहित्यतर्फ उपन्यास, कथा, नियात्रा र गीत लेखन, गायन उनका मुख्य विधा थिए । देउमाईको किनारमा, नओइलाउने फूल, पूर्वतिर, आकाश गंगाको तीरैतीर, बन्दीगृहको सिर्जना लगायतका ५० भन्दा बढी कृति लेखेका छन् । 

एमाले तत्कालीन महासचिव मदन भण्डारीबारे नेपालले ’बर्बरिक’ उपन्यास लेखेका छन् । माले स्थापनाकालका सहयोद्धा रत्नकुमार वान्तवाको जीवनीमा आधारित उनको उपन्यास ‘देउमाईको किनार’ पछि भिडियो चलचित्रका रूपमा आएको थियो । यसबाहेक उनका अनगिन्ती साहित्य सामाग्री बजारमा उपलब्ध छन् । 

कवि मन्जुल (मेघराज नेपाल) उनका सहोदर दाजु हुन् । मन्जुलकै प्रेरणाबाट उनी साहित्य क्षेत्रमा प्रवेश गरेका थिए । उनी माक्सवादी अध्ययन केन्द्रका संस्थापक सदस्य हुन् । एमाले मुखपत्र ‘नवयुग’ को संस्थापक प्रधान सम्पादक हुन नेपाल । उनले दृष्टि र छलफल साप्ताहिकको सम्पादकको जिम्मेवारी पनि बहन गरे । पत्रकारिता, साहित्य र राजनीतिमा उनको अहम भूमिका रहेको छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.