४ लाख बढी माछाका भुरा
पोखरा : फेवा ताल मानवीय व्यवहार र प्राकृतिक कारणले बर्सेनि साँघुरिँदै गएको छ । मुहान क्षेत्रको घोल, सिमसार पुरिँदा माछाको प्रजनन क्षेत्र नासिएको र तालमा प्राकृतिक रूपमा भुरा उत्पादन घटेको स्थानीय जलारी समुदाय बताउँछन् ।
धार्मिक आस्थाको कारण तालमा माछाको भुरा छाड्दा माछा उत्पादनमा सहयोग पुगेको स्थानीय जलारी समूदायले बताए । परेवा, माछालगायतलाई स्वतन्त्र रूपमा प्रकृतिमा छाड्दा पित्री उद्धार हुने, यो जन्म र भविष्यमा पनि राम्रो होस् भन्ने कामना गर्दै प्राण दान गर्ने गरेको बौद्ध धर्मगुरु मणि गुरुङले बताए । आफ्नो अनुकूल भए अनुसार माछा, परेवा, भोटतिर भेडा, चौंरी गाईलाई स्वतन्त्र छाड्ने चलन रहेको पनि उनले सुनाए । माछासँगै धर्मावलम्बीले माछालाई दाना पनि तालमा फ्याँकेका थिए ।
यसरी तालमा माछा छाड्दा माछा मात्र होइन तालमा रहेका अरू जीवलाई पनि फाइदा हुने भएकोले पनि तालमा माछा छाडिएको माछा छाड्न ताल किनारमा आएका तेजमान गुरुङले बताए । सबै प्राणीलाई राम्रो होस् भन्ने उद्देश्यले बौद्ध पूर्णिमाका अवसरमा हरेक वर्ष तालमा माछा छाड्दै आएको उनले सुनाए ।
तालमा प्राकृतिक रूपमा माछाको भुरा उत्पादन कम भइरहेको अवस्थामा पछिल्लो समयमा धार्मिक अवस्थाका कारण माछाको भुरा छाड्ने क्रम
बढ्दा माछाको उत्पादनमा सहयोग पुगेको स्थानीय जलारी समुदायले बताए । फेवातालमा वार्षिक धार्मिक आस्थाको कारण मात्रै ४ लाख बढी माछाको भुरा छाडिँदै आएको हर्पन फेवा मत्स्य सहकारीका पूर्वध्यक्ष रामचन्द्र जलारी बताउँछन् ।
बुद्धपूर्णिमालगायत विभिन्न अवसरमा बौद्धमार्गीले फेवातालमा माछाका भुरा छाड्ने गरेको पनि उनले सुनाए । बुद्धपूर्णिमा मनाउने क्रममा बुद्ध मार्गीहरूले एक महिना अघिदेखि फेवातालको खपौदी क्षेत्रमा माछाको भुरा छाड्ने गरेको पनि उनले बताए । फेवातालमा २३ प्रजातिका माछा पाइन्छन् । सहर, कत्ले, फगेटा, काँडेलगायतका स्थानीय जातका माछाको प्रजनन घटेको हर्पन फेवा मत्स्य सहकारीका अध्यक्ष ज्ञानबहादुर जलारीले बताए । जलारी समुदायले पनि वार्षिक सहरलगायत विभिन्न प्रजातिका डेढदेखि दुई लाख माछाको भुरा छाड्ने गरेको पनि उनले बताए ।
यसरी बाहिर उत्पादन भएका माछाका भुरा तालमा छाडिए पनि वर्षायाममा तालमा पानीको सतह बढ्दा एक्कासि बाँध खोल्ने गरिन्छ । यसरी बाँध खोल्दा बाँध क्षेत्रमा माछा छेक्ने जाली नहुँदा बाँधबाट बर्सेनि तालमा भएका दुईतिहाइ माछा बगेर तालबाट बाहिरिने समस्या रहेको पनि ज्ञानबहादुर बताउँछन् ।
फेवा बाँध नजिकैको क्षेत्रमा माछा छेक्ने जाली राख्न सके तालबाट वर्षा याममा ठूलो संख्यामा बाहिरिने माछा जोगाउन सकिने पनि उनले बताए । यसका लागि तीन तहकै सरकारले सहयोग नगरेको उनले सुनाए । फेवाताल किनारमा करिव १ सय घरधुरी जलारी परिवार छन् ।
फेवामा बर्सेनि थपिन्छन् ।
प्रतिक्रिया दिनुहोस !