मानव चेतना, समृद्धि, संस्कृति, सभ्य समाज निर्माणमा ललितकलाको भूमिका विशिष्ट रहन्छ। आदियुगदेखि मानवजातिलाई सभ्य, सुसंस्कृत, चेतनशील र गतिशील बनाउन कलाले प्रत्यक्ष परोक्ष रूपमा भूमिका खेल्दै आएको छ। सभ्यता, ऐतिहासिक वैभव, युगबोध, संस्कृति निर्माण, सिर्जनशील नागरिक निर्माणमा समेत ललितकलाले काम गर्दै आएको छ। युगअनुसारको संस्कृतिको विकास र त्यसको स्थायित्वमा समेत ललितकला अग्रपंक्तिमा रहेको छ। विश्वका विभिन्न सभ्यताको जग नै ललितकला रहेको पाइन्छ। चाहे त्यो चित्रकला होस् या मूर्तिकला वा वास्तुकला। यी विविध विधामार्फत ललितकलाले मानव, समाज, देश र विश्वलाई आफ्नो पहिचान दिलाउन सकेको छ।
नेपालमा पनि ललितकलाको विकास र यसको प्रभावलाई हेर्दा बुद्धभन्दा दुई सय वर्षअघिको ऐतिहासिक वैभव फेला परेको छ। करिब तीन हजार वर्ष पुरानो नेपालको सभ्यता पनि कलाकै माध्यमबाट उजागर भएको छ। त्यसयता विकास भएका कलाले नेपालको पहिचानलाई स्थापित मात्रै गरेको छैन यसको महत्त्व र विकासलाई समेत कलाक्रमअनुसार परिचित गराउँदै ल्याएको छ। किरात, लिच्छवि, मल्ल, शाह, प्रजातान्त्रिक-बहुदलीय युग तथा संघीय लोकतान्त्रिक गणतान्त्रिक युगमा विकास भएका कलाले नेपालको समयसापेक्ष युगबोधलाई चिनाएको पाइन्छ।
नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि कलाकारले यसको मर्मलाई बिस्तारै अनुसरण गरिरहेको पाइन्छ। चिन्तन, दर्शन र सौन्दर्यका दृष्टिले गति लिन नसके पनि बिस्तारै लोकतन्त्र तथा गणतन्त्रको भावमा कलाकारले आफूलाई अभिव्यक्त गर्दै लगिरहेका छन्। यसै गरी नेपालमा पछिल्लो समय ललितकला क्षेत्रमा उत्साहजनक उपस्थिति र कार्य भइरहेको छ। ललितकलाले विकेन्द्रित हुँदै समाजको तल्लो तहसम्म विस्तारित हुने क्रम बढिरहेको छ।
संसारमा कलाको विकास शासकको संरक्षण, जनताको पहल र धार्मिक रूपमा भएको पाइन्छ। शासकको पहलमा विकास भएको कलाले सत्ताले चाहेको पक्षलाई उजागर गर्दछ भने जनस्तरबाट बन्ने कलाले लोकजीवनको भावनालाई प्रतिनिधित्व गरेको हुन्छ। यस्तै, धर्मको पैरवी गर्ने गरी बन्ने कलाले धार्मिक भावनालाई अगाडि बढाउने गरी आएको हुन्छ। नेपालमा यी तीनै पक्षबाट कलाको विकास भएको छ। गणतान्त्रिक कालमा कलामा यी पक्षको समानान्तर ढंगले विकास भएको छ।
ललितकला विचार निर्माणको शक्तिशाली माध्यम हो। दृश्यभाषाका रूपमा कलाले मानिसको चेतना, सभ्यता र संस्कृति निर्माणमा अहम् भूमिका खेलेको हुन्छ। यस्तै ललितकलाको अर्को पक्ष भने मानिसको उपयोगितासँग जोडिएर आएको हुन्छ। मानिसको दैनिक जीवनमा प्रयोग हुने सामग्रीमा समेत कलापक्ष जोडिन्छ। ती हस्तकला, प्रडक्ट डिजाइन, ज्वेलरी डिजाइन, टेक्स्टायल डिजाइन, मेकानिकल डिजाइन, इन्टेरियर-एक्सटेरिअर डिजाइन, फर्निचर डिजाइन, फेसन डिजाइन, ग्राफिक डिजाइन आदिमार्फत प्रस्तुत भएको पाइन्छ।
नेपालमा पछिल्लो समय ललित कलाकर्मीको सक्रियता बढ्दो छ। देशभित्र र बाहिर कला सिर्जना, प्रदर्शनी, गोष्ठी, अन्तक्र्रिया, कार्यशाला, आवासीय कला कार्यक्रम, प्रशिक्षण, तालिमलगायतका सशक्तीकरणका कार्य भइरहेका छन्। सरकारी तह, गैरसरकारी तह, कलाकारको व्यक्तिगत पहल तथा अन्तर्राष्ट्रिय विभिन्न निकाय तथा सघं–संस्थाबाट कलाका विविध गतिविधि औपचारिक तथा अनौपचारिक रूपमा भइरहेका छन्।
स्थानीय, प्रदेश तथा संघीय सरकारको चासो बढ्दै छ। गणतन्त्रपछि केही स्थानीय तह र प्रदेश सरकारले निकै चासोका साथ कलाका गतिविधिलाई ध्यान दिन थालेका छन्। यो क्रम बढ्दो छ। नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले प्रादेशिक स्तरको ललितकला प्रदर्शनीको थालनी गरेको छ। साथै स्थानीय र प्रदेश सरकारसँग मिलेर मौलिक कलाको विकास, प्रवर्धन, संरक्षणमा काम गरेको छ। नेपालमा विकास भएका रैथाने शिल्पज्ञानलाई मूलधारमा जोड्ने अभियानमा प्रतिष्ठानले काम गरिरहेको छ। नेपाली कलाको पहिचान र तिनको अनुसन्धान कार्यलाई अगाडि बढाइरहेको छ।
जागरणमूलक कार्यमा कलाको प्रयोग बढ्दो छ। उत्पीडनमा परेका समुदायलाई जगाउने र तिनका विषयलाई कलामार्फत अगाडि बढाउने काममा कलाकारले काम गरिरहेका छन्। सामाजिक जागरणमा कलाको भूमिका विशिष्ट रहने भएकाले कलाकारले सुविधाबाट वञ्चितमा पारिएका एवं भएका अन्यायमा परेका समुदायका विषय र पक्षलाई रङ, रेखा र आकृतिका माध्यमबाट अभिव्यक्त गरेका छन्। गणतन्त्रको सुन्दर पक्ष भनेको वञ्चितीकरणमा परेको समुदायका विषयलाई सिर्जनात्मक ढंगले अभिव्यक्त गर्ने स्वतन्त्रता हो।
ललितकला सौन्दर्यीकरणको शक्तिशाली माध्यम हो। आममानिसमा आहा कति राम्रो भन्ने भावबाट ललितकला प्रकट भइरहेको हुन्छ। ती चित्रकला, मूर्तिकला, वास्तुकला, प्रायोगिक कला आदि मार्फत प्रस्तुत भएका हुन्छन्।
पछिल्लो समय मूर्तिकला निर्माण तथा चित्रकला बनाउने काममा जनचासो बढिरहेको छ। विशेष गरी सहरको सौन्दर्यीकरणमा चासो बढिरहेको छ। भित्तेचित्र (म्युरल आर्ट्स), मूर्तिकला, सिर्जनात्मक वास्तुकला निर्माण गरी सुन्दरताको परख गराउन र आफ्नो पहिचान दिलाउन स्थानीय, प्रदेश तथा संघीय सरकारले काम गरिरहेका छन् भने व्यक्ति, गैरसरकारी संघ–संस्था तथा निजी क्षेत्र आदिले धेरथोर पहल लिइरहेका छन्।
संग्रहालय बनाउने क्रम बढ्दो छ। इतिहास, संस्कृति, मौलिकता, जनजीवन, राजनीतिक परिदृश्य आदिलाई जीवन्त र चिरस्थायी बनाउने काममा संग्रहालयको महत्त्व विशेष रहन्छ। यस कार्यमा गणतन्त्रकालपछि बिस्तारै भए पनि काम भइरहेका छन्।
कला तथा संस्कृतिसम्बन्धी संस्थाको बढ्दो उपस्थिति छ। कतिपय स्थानीय र प्रदेश सरकारले संस्कृतिसम्बन्धी संरचना स्थापना गरेर संस्कृतिका क्षेत्रमा धेरथोर कामको थालनी गरेका छन्। यी संरचनाले भौतिक तथा अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण तथा विकास र प्रवद्र्धनमा काम गरिरहेका छन्। यस्तै निजी, सामुदायिक तथा व्यक्तिगत पहलमा समेत कलासम्बन्धी संरचनाहरू विकास भएका छन्। तिनले सक्दो काम गरिरहेका छन्।
खुला मूर्ति उद्यानको स्थापनाको क्रम बढ्दै छ। हरेक युगमा मानिसले आफ्नो युगबोधी चेतना-सिर्जना छोडेर जान्छ। यस कार्यमा ललितकलाको भूमिका विशेष रहने भएकाले मूर्तिउद्यान स्थापना समयसापेक्ष र महत्त्वपूर्ण छ।
यस युगको युगचेतना र संस्कृतिको विरासतलाई यसले चिरस्थायी बनाउन सहयोग पुर्याउँछ। हुन त यस कार्यमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले करिब १५ स्थानमा विभिन्न संघ–संस्था र स्थानीय तथा प्रदेश सरकारको सहकार्य र पहलमा काम गरेको छ।
यस्तै, सिर्जनशील नागरिक जन्माउने गरी कलासम्बन्धी पाठ्यक्रम विद्यालय तहमा बनेका छन्। सिर्जनशील कला भनेर बनाइएका पाठ्यक्रमले सिर्जनशील चेतना निर्माण गर्न मद्दत पुर्याउँछ। साथै स्थानीय सरकारले समेत आफ्नो मौलिकता र संस्कृतिलाई चिनाउने किसिमका पाठ्यक्रम बनाएका छन्। यो क्रम बढ्दो छ। कलाको विषय विद्यालय तहबाटै प्रारम्भ हुनु र कला शैक्षिक संस्थाको संख्या बढ्दै जानु गणतन्त्रको सुन्दर पक्ष हो। नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले मौलिकताको जगेर्ना, रोजगारीको सिर्जना र अर्थतन्त्रमा योगदान दिने गरी कार्यक्रम गरिरहेको छ।
ललितकला क्षेत्र पर्याप्त बजेटको अभाव, नीतिगत समस्या, कच्चापदार्थसम्बन्धी समस्या, कलादीर्घाको कमी, नियमनको अभाव, सामाजिकीकरणमा ध्यान नजानु, राजनीतिक दलको व्यवस्थित दृष्टिकोण नबन्नुजस्ता विविध समस्या र चुनौतीसँग जुधिरहेको छ।
सामाजिक जागरणमा ललित कलालाई लैजानुपर्ने पहिलो दायित्व छ। यही भावलाई दृष्टिगत गरी नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले सामाजिक जागरण : ललितकलाको अभियानलाई अगाडि बढाएको छ। प्रादेशिक ललितकला प्रदर्शनी तथा राष्ट्रिय ललितकला प्रदर्शनीको मूल भाव नै यही रहेको छ। साथै स्थानीय, प्रादेशिक तथा केन्द्रीय स्तरका कार्यक्रममा समेत यही नारालाई केन्द्रमा राखेको छ।
ललित कलालाई उत्पादनसँग जोडेर अगाडि बढाउन सके मात्र यसको प्रभावकारिता अझ सुदृढ बन्छ। त्यस्तै नेपालका मौलिक पहिचान झल्किने कलालाई पर्यटन र अर्थतन्त्रसँग जोडेर अगाडि बढाउन सकिए मात्रै त्यसले दिगोपन लिन्छ। यसबाट मौलिकताको जर्गेना हुने र रोजगारीको सिर्जना पनि हुन्छ।
यस्तै कम्तीमा सातै प्रदेशमा रहेको विश्वविद्यालयमा ललितकला विषयको विभाग खोल्नुपर्दछ। यसले नेपालका मौलिक कलालाई संरक्षण गर्न र तिनको दिगोपनको बचावटका लागि महत्त्वपूर्ण भूमिका खेल्दछ। साथै कलालाई सिर्जनात्मक उद्योगसँग जोड्न मद्दत गर्दछ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले पहिलो चरणमा लिएको रणनीतिमा कम्तीमा सातै प्रदेशमा कला हबको स्थापना हो। यसलाई बिस्तारै स्थानीय तहसम्म पुर्याउनु पर्दछ। यसले मौलिकतासँगै स्थानीय हस्तकला, लोककला, परम्परागत कला तथा समुदायमा रहेको शिल्पज्ञानलाई जगेर्नासँगै आयआर्जनमा समेत टेवा पुर्याउँछ। तसर्थ हबको अवधारणालाई संघ, प्रदेश तथा स्थानीय तहसम्म लैजान सकेमा नेपालको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुग्न सक्दछ भने रोजगारीमा समेत उल्लेख्य वृद्धि हुन्छ।
नेपालमा व्यवस्था परिवर्तनपछि ललितकला क्षेत्रमा आएको जागरणले यो युगको संस्कृति र चेतनालाई समृद्ध बनाउन मद्दत गरिरहेको छ। नेपालको मौलिकतासँगै विश्वसँग प्रतिस्पर्धी गर्न सक्ने ल्याकत नेपाली कलाकारले विकास गरेका छन्। मानवअधिकार, स्वतन्त्रता, मौलिक हक आदिको प्रत्याभूतिसँगै संघीय लोकतान्त्रिक गणतन्त्रमा नेपाली ललितकलाले जनस्तरबाटै फक्रने अवस्थाको सिर्जना भएको छ। सीमान्तमा परेका समुदायका कलाले पनि बिस्तारै अगाडि बढ्ने र आफ्नो पहिचानलाई प्रदेश, केन्द्र हुँदै विश्वमा पुर्याउने अवसर पाएका छन्।
गणतन्त्र प्राप्तिपश्चात् प्रादेशिक तथा स्थानीय तहमा ललितकला, भाषा, साहित्य, वाङ्मय आदि हेर्ने र तत्सम्बन्धी गतिविधि गर्ने सांस्कृतिक संरचनाजस्ता निकायहरूको स्थापना हुनु र कतिपय प्रदेश र स्थानीय तहले नै ललितकलाका नाममा बजेट छुट्ट्याउनु सकारात्मक पाटो हो। यसलाई सांस्कृतिक क्षेत्रमा गणतन्त्रले दिएको सुन्दर पक्ष मान्न सकिन्छ।
विपद् व्यवस्थापनमा सचेतना, सामाजिक सांस्कृतिक जागरण, सीमान्तकृत र किनारीकृत समुदायका विषयको उठान, राजनीतिक, शैक्षिक, आर्थिक, सांस्कृतिक विकृति, विसंगतिप्रति व्यंग्यचित्रबाट सजगता, सौन्दर्यकरण र मूर्ति उद्यानमा इतिहास, संस्कृति, जनजीवन, स्वतन्त्रता एवं लोकतन्त्र–गणतन्त्र प्राप्तिका लागि भएका आन्दोलनको चित्रण, कलाशिक्षामा जागरण, ललितकलासम्बन्धी विभिन्न गोष्ठी, कार्यशाला, प्रदर्शनी, अध्ययन–अनुसन्धान, कलासमीक्षा, कलालाई सीप, सिर्जना र रोजगारसँग जोड्नका लागि नीतिगत तहबाटै विस्तारै कार्यहरू हुने चरणमा छन्। यो लोकतान्त्रिक गणतन्त्रपश्चात्को ललितकलाका लागि सुन्दर उपलब्धि हो।
प्रतिक्रिया दिनुहोस !