बाल मन्दिर जग्गा प्रकरण के हो, क-कसलाई चल्यो मुद्दा ?

१७ विरुद्ध मुद्दा, ६० करोड ३९ लाखको भ्रष्टाचार

बाल मन्दिर जग्गा प्रकरण के हो, क-कसलाई चल्यो मुद्दा ?
फाइल तस्बिर।

काठमाडौं : नक्सालस्थित बालमन्दिरको जग्गा भाडा प्रकरणमा नेपाल बाल संगठनका तत्कालीन अध्यक्ष रीता सिंहसहित १७ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । तत्कालीन अध्यक्ष सिंह उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहकी दिदी  हुन् । 

नेपाली कांग्रेसका सर्वमान्य नेता गणेमानसिंह र मंगलादेवी सिंहकी छोरी हुन् ।  सरकारी वकिल कार्यालयले १७ जनाविरुद्ध ६० करोड ३९ लाख ७७ हजार बिगो कायम गरेर मुद्दा दायर गरेको सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्लेले जानकारी दिए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । सोही प्रतिवेदनअनुसार बुधबार काठमाडौं जिल्ला अदालतमा ठगीको कसुरमा मुद्दा दायर भएको काफ्लले बताए  । 

बाल संगठनका तत्कालीन उपाध्यक्ष ६६ वर्षीय तुलसी नारायण श्रेष्ठ, तत्कालीन महासचिव ७०  वर्षीय गणेशभक्त    श्रेष्ठ, सदस्य एवं स्रोत परिचालन उपसमिति संयोजक ५३ वर्षीय कृष्णशंकर साह, तत्कालीन अख्तियार प्राप्त महासचिव ७५  वर्षीय श्यामकुमार आले, अर्का अख्तियार प्राप्त महासचिव ५४ वर्षीय सुवासकुमार पोखरेलविरुद्ध  मुद्दा दायर गरिएको छ । त्यस्तै तत्कालीन महासचिव ६२ वर्षीय प्रचण्डराज प्रधान, तत्कालीन  ६९ वर्षीय रामकाजी गुरुङ, तत्कालीन उपाध्यक्ष ६८ वर्षीय योगेन्द्रबहादुर शाही, तत्कालीन उपकोषाध्यक्ष ७२ वर्षीय दिपकदास श्रेष्ठविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको छ । 

बृहस्पति विद्यासदनका सञ्चालकविरुद्ध पनि मुद्दा 
सरकारी वकिलको कार्यालयले  नक्सालस्थित बृहस्पति विद्यालय व्यवस्थापन प्रालि (बृहस्पति विद्यासदन)का अध्यक्ष ८२  वर्षीय प्रविणराज जोशीविरुद्ध पनि मुद्दा दायर गरेको छ । त्यस्तै बृहस्पति विद्याससदनका तत्कालीन सञ्चालक ७२ वर्षीय मुरारीनिधि तिवारी, अर्का सञ्चालक ४२ वर्षीय    श्रद्धा संघाईलाई प्रतिवादी बनाइएको छ  ।  

बृहस्पति विद्यासदनका तीन सञ्चालक भारतीय नागरिकलाई पनि मुद्दा दायर गरिएको छ । भारतको दिल्ली राज्य घर भई बालुवाटार बस्ने   ४४ वर्षीय अभिनव  सिंघानिया, राजस्थान जयपुर घर  भई हाल ललितपुर–२ सानेपा बस्ने ४४ वर्षीय सिद्धार्थ केडिया र कर्नाटक राज्य बेडलोर घर भई काठमाडौं–३०  ज्ञानेश्वरमा बस्ने ७१  वर्षीय  कीर्तिप्रसाद पाण्डेयविरुद्ध मुद्दा दायर भएको छ । 

मृत्यु  भइसकेका तीन जनाको हकमा मुद्दा नचल्ने निर्णय गरिएको छ । सीआईबीले यो कसुरमा २० जनाविरुद्ध पक्राउ पुर्जी लिएर अनुसन्धान अघि बढाएको थियो । मृत्यु भइसकेका कारणले बृहस्पति विद्यालय व्यवस्थापन प्रालि (बृहस्पति विद्यासदन)का अख्तियार प्राप्त तत्कालीन अध्यक्ष चिरञ्जीवी तिवारी, नेपाल बाल संगठनका तत्कालीन कोषाध्यक्ष मनोहरगोपाल श्रेष्ठ र नेपाल बाल संगठनका तत्कालीन उपमहासचिव सुमन शाक्यविरुद्ध मुद्दा नचल्ने निर्णय भएको अभियोगपत्रमा उल्लेख छ । 

के हो प्रकरण ?   

नक्सालस्थित सीता भवन पनि बालुवाटारस्थित ललिता निवास प्रकरण हो । जग्गा  प्राप्ति ऐन २०१७ अनुसार तत्कालीन सरकारले सीता भवन, ललिता निवास लगायतका ६ वटा दरबार अधिग्रहण  गरेको थियो । २०२१ सालमा राष्ट्रिय निर्देशन ऐनअनुसार सीता भवनको ११९ रोपनी १२ आना ३ पैसा जग्गामा नेपाल बाल संगठन (बाल मन्दिर) स्थापना भएको थियो । जसमध्ये २८ रोपनी ५ आना जग्गा २०५९ सालमा बृहस्पति विद्या सदनलाई भाडामा दिइएको थियो । २०८९ सालसम्म तीस वर्षका लागि भाडामा दिने सम्झौता भए पनि समयावधि सकिनुभन्दा १७ वर्षअघि नै ०७२ सालमा थप ४३ वर्षका लागि अर्थात् २१३२ साल सम्मका लागि लिजमा दिइएको  थियो । 

काठमाडौं महानगरपालिका वडा नं. १ नक्सालस्थित नेपाल बाल संगठनको हक भोगको यो जग्गा २०४९ सालदेखि २१३२ सालसम्मको लागि करिब ८३ वर्षका लागि लिजमा दिइएको छ । अभियोग पत्रमा  ८३  वर्षसम्मको करार अवधि सुनिश्चित गरी शिक्षाका नाममा व्यापार गरी नेपाल बाल संगठनको नामका जग्गाबाट आपसी मिलेमतोमा अकुत सम्पत्ति आर्जन गर्ने उद्देश्य राखेको देखिएको उल्लेख छ । बाल संगठनकै केन्द्रीय सदस्यले उजुरी दिएका थिए । 

उनकै उजुरीको आधारमा सीआईबीले अनुसन्धान गरेको थियो । प्रचलित कानुनविपरीत करार सम्झौता गरी आपसी मिलेमतोमा बाल संगठनलाई करोडौं रकम नोक्सान हुने र आफूलाई फाईदा हुने गरी ठगीको कसुर गरेको अभियोग लगाइएको छ । बाल संगठनका तत्कालीन अध्यक्ष तथा केन्द्रीय पदाधिकारी, सदस्य वा बाल संगठनले बृहस्पति विद्यासदनलाई लिजमा जग्गा दिँदा अनियमिता गरेको भन्दै  मुद्दा चलाइएको हो । 

सीआईबीले गरेको अनुसन्धानमा ०४९ साल माघ २७ गते करार सम्झौता गरी घर जग्गा भाडामा दिँदा कुन कित्ता नम्बर को, के कति क्षेत्रफलको जग्गा भाडामा लिएको हो भनी स्पष्टसँग सम्झौतामा नखुलाइएको उल्लेख छ । ०४९ सालमा गरिएको यो सम्झौताको अवधि ०५२ फागुन १ गते सम्म रहेको उल्लेख छ । 

यो अवधि समाप्त भएपछि ११ महिनासम्म कुनै करार सम्झौता नगरी बाल संगठनले भाडा बापत पाउनुपर्ने रकम हिनामिना गरिएको देखिएको छ । 
सम्झौताहरू संशोधन गर्ने बहानामा प्रचलित कानुनविपरीत ३० वर्षभन्दा बढी अवधिका लागि बृहस्पति विद्यालय व्यवस्थापन प्रालि (बृहस्पति विद्यासदन) लाई सवलिजमा दिने काम भएको आरोप लगाइएको छ । सरकारी जग्गा धितो राखी ऋणसमेत लिन पाउने समेतको अधिकार दिइएको उजुरीमा छ । 

३० वर्षको बिगो  ६० करोड ३९  लाख ७७  हजार  २३१ ठगी गरेको देखिन आएको अभियोग पत्रमा छ । उनीविरुद्ध ६०  करोड ३९ लाख ७७ हजार २३१  रुपैयाँ बिगो कायम   गरी मुद्दा दायर गरिएको छ ।  आरोप प्रमाणित भएमा उनीहरूलाई ७ वर्ष कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुन सक्नेछ ।

को–कोविरुद्ध चल्यो मुद्दा ?   
१.    रीता सिंह, तत्कालीन अध्यक्ष  
२.    तुलसीनारायण  श्रेष्ठ,  तत्कालीन उपाध्यक्ष 
३.    गणेशभक्त श्रेष्ठ ,  तत्कालीन महासचिव 
४.    कृष्णशंकर शाह, स्रोत  तथा परिचालन उपसमिति सदस्य 
५.    श्यामकुमार आले ,  अख्तियारप्राप्त  महासचिव  
६.    सुवासकुमार पोखरेल , अख्तियारप्राप्त  महासचिव  
७.    प्रचण्डराज प्रधानः तत्कालीन महासचिव 
८.    रामकाजी गुरुङ, तत्कालीन महासचिव 
९.    योगेन्द्रबहादुर शाही, तत्कालीन उपाध्यक्ष 
१०.    दीपकदाश श्रेष्ठ , तत्कालीन उपकोषाध्यक्ष 
११.    प्रवीणराज जोशी, तत्कालीन सञ्चालक –बृहस्पति  विद्यासदन 
१२.    मुरारीनिधि तिवारी , तत्कालीन सञ्चालक –बृहस्पति  विद्यासदन 
१३.    पुरुषोत्तमराज जोशीः तत्कालीन अध्यक्ष बृहस्पति  विद्यासदन 
१४.    श्रद्धा सेढाईं , तत्कालीन सञ्चालक –बृहस्पति  विद्यासदन 
१५.    अभिनव सिंधानियाः तत्कालीन सञ्चालक –बृहस्पति  विद्यासदन 
१६.    सिद्धार्थ केडिया, तत्कालीन सञ्चालक –बृहस्पति  विद्यासदन 
१७.    कीर्तिप्रसाद पाण्डेय, तत्कालीन सञ्चालक –बृहस्पति  विद्यासदन      


 

यो पनि पढ्नुहोस

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.