१५ वर्ष अघिदेखि अदुवा खेती गर्दै आएका उदयपुर कटारी नगरपालिका— ११ गोठडाँडाका किसानले एकै वर्षमा करोडौं रुपैयाँ भित्त्याएका छन्।
व्यावसायिक अदुवा खेती गरेर उनीहरूले गाउँमा १० करोडभन्दा बढी भित्त्याएका हुन्। स्थानीय किसान पूर्णवीर राउतले गाउँका सबैले बेचेको अदुवाको हिसाब गर्दा १० करोड बढी हुने बताए।
गहुँबारी, गोठडाँडा र आसपासका क्षेत्रबाट मात्रै एक हजार मेट्रिकटन अदुवा बिक्री भएको उनले बताए। किसानले तयारी अदुवा बारीबाटै प्रतिकिलो ८० रुपैयाँका दरले बिक्री गरेको बताएका छन्।
स्थानीयले अदुवा विराटनगर, धरान, काठमाडौं र छिमेकी मुलुक भारत निर्यात गर्ने गरेको बताए। कटारी नगरपालिका—११ का वडाध्यक्ष अनन्त हायु भन्छन्, ‘उत्पादन बढी छ तर कहिलेकाहीँ बिक्री नहुँदै त्यसै फाल्नु परेको छ।’ ‘अदुवाबाटै गाउँमा करोडौं पैसा भित्रिन्छ,’ उनले भने, ‘अदुवाले नै गाउँको मुहार फेर्दै लगेको छ।’ अदुवा बिक्री गरेर प्रतिघरले न्यूनतम पनि दुई लाख रुपैयाँ लिने गरेका छन्। उनले भने, ‘त्यसैले पनि पछिल्लो समय अदुवा खेतीमा किसान आकर्षित हुन थालेका छन्। थोरै श्रम, लगानी न्यून तर आम्दानी धेरै हुने गरेको छ।’ कटारी क्षेत्रको अदुवा भारतको नक्सलबारी हुँदै भारतमा निर्यात गर्ने गरेको अदुवा व्यवसायी विलटेश्वर साह बताउँछन्।
६० प्रतिशत अदुवा निर्यात
कृषि प्रधान देश नेपाल भनिए पनि त्यो व्यवहारमा पाइँदैन। अधिकांश कृषिजन्य वस्तुमा परनिर्भर छ। स्वदेशमा उत्पादन नभएपछि धेरै कृषिजन्य वस्तु विदेशबाट आयात हुन गर्छ। तर, कृषिजन्य वस्तु अदुवामा भने नेपाल आत्मनिर्भर छ।
तथ्यांकले नेपाल अदुवा उत्पादनका लागि विश्वकै पाँच मुलुकको सूचीमा परेको छ। यो तथ्यांकले निराश रहेका किसानलाई आत्मबल पुर्याएको छ। मुलुकको कृषि क्षेत्रका लागि यो सुखद खबर हो।
नेपाली अदुवा स्वाद र गुणस्तरका हिसाबले उत्कृष्ट रहेको कृषि सरोकारवालाहरू बताउँछन्। अदुवा पाखोबारी, भिरालो जमिनमा समेत लगाउन सकिन्छ। अदुवालाई धेरै मेहनत गर्नु नपर्ने, किसानले स्वतःस्फूर्त तरिकाले लगाउँदा पनि उत्पादन राम्रो भएको कृषि विभागको भनाइ छ।
आर्थिक वर्ष २०८०-०८१ मा अदुवा निर्यात गरेर १ अर्ब १७ करोड ६१ लाख ६९ हजार रुपैयाँबराबरको विदेशी मुद्रा नेपालले आर्जन गरेको छ। भन्सार विभागका अनुसार नेपालबाट बंगलादेश, भारत, नेदरल्यान्ड्स, जापान, युनाइटेड अरब इमिरेट्स, जर्मनी, जापान, कतारलगायत मुलुकमा नेपालबाट अदुवा निर्यात हुने गरेको छ।
अदुवा विश्वमै उत्कृष्ट र लोकप्रिय मसला बाली हो। यसलाई नगदे बालीको रूपमा पनि लिइन्छ। अदुवाको स्वादले तरकारी, मासुलगायत परिकारमा विशेष स्वाद आउने भएकाले यसको प्रयोग गरिन्छ। अदुवा औषधिजन्य गुणसमेत भएकाले विभिन्न औषधिमा प्रयोग गर्ने जानकारहरू बताउँछन्।
पछिल्ला वर्षहरूमा नेपाल विश्वमै सबैभन्दा बढी अदुवा उत्पादन गर्ने राष्ट्रहको सूचीको प्रमुख पाँचभित्र परेको संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ) ले तयार पारेको प्रतिवेदनमा उल्लेख छ। एफएओका अनुसार भारत, नाइजेरिया, चीनपछि सबैभन्दा बढी अदुवा उत्पादन गर्ने मुलुकमा नेपाल पर्छ।
अन्न फलाउँदै आएको जमिनमा समेत किसानले अदुवा लगाउने गरेका छन्। धान, मकै लगाएर वर्षभरि खान नपुग्ने जमिनमा अदुवा लगाएपछि राम्रो आम्दानी भएको राष्ट्रिय कृषक महासंघ उदयपुरका अध्यक्ष नारद निरौलाले बताए।
अदुवा खेतीतर्फ किसानको आकर्षण बढिरहेको बेला नेपाली अदुवाले अन्तर्राष्ट्रिय बजारमा सम्भावना देखाएको छ। मसला बालीको रूपमा हेरिने अदुवाले अन्तर्राष्ट्रिय स्तरमा राम्रो बजार पाएको छ। तर नेपालमा अदुवाको माग र खपत कति हुन्छ भन्ने यकिन तथ्यांक सरकारी निकायसँग पनि खासै छैन।
नेपाल कृषि अनुसन्धान परिषदन्तर्गत अदुवा बाली अनुसन्धान कार्यक्रम कपुरकोट, सल्यानले प्रकाशित गरेको ‘अदुवा उत्पादन प्रविधि’ नामक अध्ययन पुस्तिकामा नेपालको कुल अदुवा उत्पादनको ६० प्रतिशत भाग निर्यात हुने गरेको छ। बाँकी ४० प्रतिशत उत्पादन आन्तरिक बजारमा खपत हुने गरेको छ।
वार्षिक रूपमा ६ हजारदेखि २३ हजार मेट्रिकटन अदुवा नेपालबाट निर्यात हुने गरेको छ। योबापत नेपाललाई वार्षिक १ अर्ब २२ करोड रुपैयाँबराबर आम्दानी हुने गरेको भन्सार विभागको तथ्यांकले देखाएको छ।
अदुवा नेपालको मध्यपहाडी क्षेत्रमा हुने गरेको छ। नगदेबालीको रूपमा रहेको अदुवा पछिल्लो समय कृषकका लागि राम्रो आम्दानीको स्रोत बनेको छ। पछिल्लो समय तराई क्षेत्रमा पनि अदुवा खेती बढेको पाइन्छ।
नेपालमा अदुवा सल्यान, पाल्पा, इलाम, नवलपरासी, तनहुँ, कास्की, स्याङ्जा, भोजपुर, उदयपुरलगायत जिल्लामा व्यावसायिक खेतीको रूपमा लगाउने गरिएको छ। अदुवाको बजार राम्रो भए पनि जात विकासदेखि लिएर यसको बिउ उत्पादन र संरक्षणमा समस्या रहेको किसानहरू बताउँछन्।
नेपालमा वार्षिक रूपमा २१ देखि २३ हजार हेक्टर क्षेत्रफलमा अदुवा खेती हुँदै आएको छ। यो क्षेत्रफलबाट वार्षिक रूपमा करिब ३ लाख मेट्रिकटन अदुवा उत्पादन हुँदै आएको सरकारी तथ्यांक छ।
अदुवा कपुरकोट–१ र कपुरकोट–२ जात हुन्छ। यो जात स्थानीय जातबाट बनाएको बिउ हो। यीबाहेक परम्परागत रूपमा किसानले लगाउँदै आएका अदुवाका जात पनि छन्। नेपालमा स्थानीय रूपमा आफ्नै परम्परागत रूपमा बिउ संरक्षण गरी बर्सेनि घरायसी प्रयोजनका लागि रोप्ने गरेको पाइन्छ।
किसानको गुनासो
निर्यातमुखी बालीको रूपमा रहेको अदुवाले अन्तर्राष्ट्रिय बजार राम्रै पाएको छ। तर, गुणस्तरीय बिउको उपलब्धता, उत्पादनको क्षेत्र पहिचान नहुँदा अझै सोचेअनुरूपको परिणाम निस्कन सकेको छैन।
अदुवाको गानो कुहिने, ढुसीको कारण किसान चिन्तित हुने गरेका छन्। लगाउँदा स्वस्थ्य बिउ लगाउन विज्ञहरूले सुझाव दिएका छन्। कम रेसा भएको अदुवा राम्रो मानिन्छ। प्रायः खुला वातावरणमा खेती गरिने भए पनि गर्मी र घाम लाग्ने ठाउँमा छायाँ पनि आवश्यक पर्छ।
नेपालबाट अदुवा निर्यातमात्रै नभई केही मात्रामा आयात पनि भएको भन्सार विभागको तथ्यांकले देखाउँछ। नेपालमा उत्पादित अदुवा भण्डारणको समस्या हुँदा ‘अफ सिजन’मा भारतबाट आउने गरेको छ। वार्षिक ६ सय मेट्रिकटनदेखि साढे ८ सय मेट्रिकटन अदुवा आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ। यसबापत ११ करोडदेखि २६ करोड रुपैयाँसम्म वार्षिक रूपमा बिदेसिने गरेको छ।
अदुवा खेती कसरी गर्ने
अदुवा, वैज्ञानिक वर्गीकरणअनुसार जिन्जीविरेसी परिवारमा पर्ने प्रमुख बिरुवा हो। अदुवाको प्रयोग साधारणत तरकारी, मसला र औषधिको रूपमा आउँछ। यसको गानो रेसादार हुन्छ। जति कम रेसा भयो अदुवा त्यति नै राम्रो मानिन्छ।
अदुवा एक महत्त्वपूर्ण नगदे बालीको रूपमा पनि लिइन्छ। यसको खेतीको लागि पानी नजम्ने जमिनको छनोट गर्नु पर्दछ। जग्गालाई २–३ पटक जोती, डल्ला फुटाई माटो बुर्बुराउँदो बनाउनु पर्छ। त्यसपछि ड्याङ खनेर त्यसमा कम्पोस्ट मल अथवा गोबरमल हाल्नु पर्दछ। त्यसको माथि अदुवाको पानालाई स–सानो टुक्रामा भाँचेर रोप्नु पर्दछ।
प्रतिक्रिया दिनुहोस !