भारतीय दूतावासले भन्यो- भारतले पाकिस्तान र त्यहाँका जनतामाथि आक्रमण गरेको होइन, भारतको आक्रमण आतंकवाद र उनीहरूको सेल्टरमाथि हो

भारतीय दूतावासले भन्यो- भारतले पाकिस्तान र त्यहाँका जनतामाथि आक्रमण गरेको होइन, भारतको आक्रमण आतंकवाद र उनीहरूको सेल्टरमाथि हो
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव।

काठमाडौं : नेपालस्थित भारतीय राजदूतावासले भारतले पाकिस्तान र त्यहाँका जनतामाथि आक्रमण नगरेको स्पष्ट पारेको छ। काठमाडौंस्थित भारतीय दूतावासले शुक्रबार साँझ आयोजना गरेको प्रेस ब्रिफिङमा राजदूत नवीन श्रीवास्तवले पाकिस्तानमाथि भारतको आक्रमण आतंकवाद केन्द्रित भएको बताए।

'हामीले पाकिस्तान र पाकिस्तानी जनतामाथि आक्रमण गरेका छैनौं। हामीले त्यो गर्दा पनि गर्दैनौं। हामीले त आतंकवादी र उनीहरूको सेल्टरमाथि मात्रै प्रहार गरेका हौं,' राजदूत श्रीवास्तवले भने। उनले पाकिस्तानी आतंकवादी समूह लश्कर-ए-तैयबाले गत २२ अप्रिलमा जम्मू कश्मीरको पहलगाममा आतंकवादी आक्रमण गरेपछि भारतले उनीहरूमाथि जवाफी कारबाही गरेको प्रस्ट्याए।

पहलगाम आक्रमणमा २५ जना भारतीय र एक नेपाली नागरिकको मृत्यु भएको थियो। पहलगाममा घुम्न गएका बेला उनीहरूमाथि आतंकवादी आक्रमण भएको थियो। आक्रमणपछि भारतीय एजेन्सीहरूले आक्रमणमा संलग्नहरूको पहिचान र उनीहरू बसेको स्थानलाई पहिचान गरेको थियो।

'भारतको सूचना संयन्त्रले पहलगाम घटनाका दोषीहरू पाकिस्तानमा लुकीछिपी बसेको पहिचान गरेको थियो। संयन्त्रले उनीहरूको सेल्टरमाथि पनि निगरानी गरेको थियो। आतंकवादको सोही संरचनालाई निस्तेज पार्न भारतले उनीहरू लक्षित आक्रमण गरेको हो,' राजदूत श्रीवास्तवले भने।

उनले पाकिस्तानले खुलारूपमा आतंकवाद र आतंकवादीलाई समर्थन गर्दै आएको आरोप लगाए। त्यसको सबैले खुलेर विरोध गर्नुपर्ने उनको भनाइ छ। 'यो हामीले मात्रै होइन, संसारले भन्ने गरेका छन् कि पाकिस्तानले आतंकवादलाई प्रश्रय दिन्छ। त्यस्ता संस्थाहरूलाई संरक्षण गर्छ। भारतमाथि ती संगठनहरूले पटक-पटक निशाना साँध्दै आएका छन्। त्यस्ता आतंकवादी संरचनालाई परास्त गर्न अपरिहार्य छ,' उनले भने। राजदूत श्रीवास्तवले आतंकवादविरुद्ध विश्व समुदाय एक भएको बताए।

राजदूत श्रीवास्तवले भारतबाट नेपालमा आयात हुने कुनै पनि सामान नरोकिने प्रस्ट पारेका छन्

उनले नेपालले पनि आतंकवादविरुद्ध उभिएको सन्देश दिनु सकारात्मक भएको बताए। परराष्ट्र मन्त्रालयले बिहीबार प्रेस विज्ञप्ति जारी गरेर आतंकवादविरुद्ध भारतप्रति बलियो समर्थन जनाएको थियो। 'नेपालले पनि वक्तव्य जारी गरेर आतंकवादविरुद्ध उभिएको सन्देश दिएको छ। त्यो सकारात्मक पक्ष हो। मैले प्रधानमन्त्रीज्यु र परराष्ट्रमन्त्रीज्युलाई भेटेर पछिल्लो विकसित घटनाक्रमबारे जानकारी गराएको थिएँ। उहाँहरूले पनि नेपाल आतंकवादविरुद्ध उभिने दोहोर्‍याउनुभएको थियो,' उनले भने।

राजदूत श्रीवास्तवले जारी लडाइँलाई भारत र पाकिस्तानबीचको युद्ध नभएको प्रस्ट पारे। 'यो त आतंकवादविरुद्धको लडाइँ हो। जब पहलगाममा आतंकवादी आक्रमण भयो। त्यसपछि मात्रै हो हामीले आतंकवादी लक्षित आक्रमण गरेको। हामीले कुनै द्वन्द्व चाहेका छैनौं। पाकिस्तानले सुरू गरेको हो। यसको अन्त्य गर्ने बल पनि पाकिस्तानकै कोटमा छ,' उनले भने। 

राजदूत श्रीवास्तवले दक्षिण एसियामा आतंकवाद भारत र पाकिस्तानमा मात्रै सीमित नभएको बताए। यसलाई सबैले साझा मुद्दा बनाउनुपर्ने उनको भनाइ छ। 'आतंकवाद भारत र पाकिस्तानमा मात्रै सीमित छैन। यो दक्षिण एसियाकै साझा समस्या हो। यसलाई सबै मुलुकहरूले साझा मुद्दाको रूपमा अगाडि बढाउनुपर्छ,' उनले भने। 

उनले अहिलेको द्वन्द्व चर्किनुमा पनि भारतको कुनै दोष नरहेको बताए। 'आतंकवादलाई प्रश्रय दिने मुलुकमा पर्छ पाकिस्तान। अहिलेको द्वन्द्व सिर्जना गरेर पनि उसैले तनाव बढाइरहेको छ,' उनले भने। 

भारतीय विमान खसालेको मिथ्या सूचना पनि पाकिस्तानले फैलाइरहेको उनको भनाइ छ। 'पाकिस्तानले भारतको विमान खसालेको लगायत मिथ्या सूचना विश्व समुदायमाझ फैलाइरहेको छ। पाकिस्तानका मन्त्रीहरू नै भ्रम फैलाउन उद्यत छन्,' उनले भने। 

त्यस्तै आफूहरूले आतंकवाद लक्षित आक्रमण गरे पनि पाकिस्तानले भारतको सैनिक अड्डाहरूलाई केन्द्र बनाएर आक्रमण गरिरहेको उनले आरोप लगाए। 'पाकिस्तानले भारतका सैनिक अड्डालाई लक्षित गरेर आक्रमण गरेको छ। तर, भारतले पाकिस्तानका कुनै पनि सेनाको क्याम्पमा आक्रमण गरेको छैन। हाम्रो निशानामा सैनिक अड्डाहरू छैनन्,' उनले भने।

त्यस्तै राजदूत श्रीवास्तवले भारतबाट नेपालमा आयात हुने कुनै पनि सामान नरोकिने प्रस्ट पारेका छन्। दुई देशबीच तनाव बढिरहेका बेला नेपालमा हुने आयात रोकिने आशंका धेरैले गरेका छन्। त्यस विषयमा प्रस्ट पार्दै राजदूत श्रीवास्तवले नेपालमा आउने कुनै पनि सामग्री नरोकिने बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.