एन्फाको वार्षिक क्यालेन्डर : यस्तो छ घरेलु र अन्तर्राष्ट्रिय प्रतियोगिताको तालिका
काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)ले आफ्नो वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ। काभ्रेस्थित धुलिखेलमा सम्पन्न वार्षिक साधारणसभाले १८ वटा एजेन्डा पारित गर्दै वार्षिक क्यालेन्डर सार्वजनिक गरेको हो।
वार्षिक क्यालेन्डरमा विशेषतः घरेलु र अन्तर्राष्ट्रियको फरक-फरक तालिका सार्वजनिक गरिएको छ। अन्तर्राष्ट्रिय फुटबलको क्यालेन्डरमा पुरुष फुटबलतर्फ फिफाको अन्तर्राष्ट्रिय विन्डो अन्तर्गत नेपालले मार्च २१ मा सिंगापुरसँग मैत्रीपूर्ण खेल खेल्ने छ। त्यसपछिको मार्च २५ मा मलेसियाविरुद्ध एएफसी एसियन कप छनोट खेल हुनेछ। यी दुवै खेलहरू भइसकेका छन्। जुन १० मा नेपालले लाओससँग एसियन कप छनोटको अर्को खेल खेल्ने तालिका रहेको छ।
सेप्टेम्बर १ देखि ९ सम्म पुरुष फुटबल टिमले मैत्रीपूर्ण खेलहरू खेल्नेछ। अक्टोबर ९ मा नेपालले भियतनामसँग र अक्टोबर १४ मा पुनः भियतनामसँग दोस्रो खेल खेल्नेछ। नोभेम्बर १८ मा नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्नेछ भने मार्च ३१, २०२६ मा नेपालले लाओससँग खेल्ने तालिका छ।
महिला फुटबलमा एन्फाको कार्यक्रम अन्तर्गत फिफा विन्डो अन्तर्गत मार्च ३१-अप्रिल ८, मे २६-जुन ३, अक्टोबर २०-२८ र नोभेम्बर २४ देखि डिसेम्बर २ भित्र दुईवटा मैत्रीपूर्ण खेलसम्मेलित त्रिकोणात्मक खेल हुने तालिकामा उल्लेख गरिएको छ।
चिनियाँ नयाँ वर्षको अवसरमा फेब्रुअरी १० मा नेपाल र चीनबीच मैत्रीपूर्ण खेल हुनेछ। युवा स्तरका अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा २०२५ को साफ यु-१९ पुरुष च्याम्पियनसिप श्रीलंकामा मे ८ देखि १८ सम्म हुनेछ। साफ च्याम्पियनसिप २०२५ असार/श्रावण महिनामा भारतमा आयोजना हुनेछ। यो प्रतियोगिता एएफसी एसियन कप २०२६, फिफा महिला विश्वकप २०२७ (ब्राजिल) र ओलम्पिक छनोट २०२८ (अमेरिका) को तयारीसँग पनि सम्बन्धित हुनेछ। उमेर समुहमा साफ यु-२० महिला च्याम्पियनसिप २०२५ जुलाई १ देखि ११ सम्म बंगलादेशमा छ।
अन्य प्रतियोगिताहरूमा एएफसी यु-२० महिला एसियन कप छनोट, एएफसी यु-१७ महिला तथा पुरुष एसियन कप छनोट, साफ यु-१७ महिला तथा पुरुष च्याम्पियनसिप, एएफसीयु-२३ एसियन कपलाई एन्फाले क्यालेन्डरमा सामेल गरेको छ।
यस्तो छ घरेलु तालिका
एन्फाले अन्तर्राष्ट्रिय क्यालेन्डरसँगै घरेलु फुटबल र फुटसलको वार्षिक योजनना पनि सार्वजनि गर्यो। जसमा एन्फाले हालसम्मकै एक स्पष्ट योजनास्वरुप यो तालिकालाई मानेको छ। एन्फा कार्यसमितीले सर्वसम्मत रूपमा पारित गरेको यो योजनाले एन्फाको वर्षभरिको घरेलु फुटबललाई चलायमान राख्ने अपेक्षा जीवितै राखेको छ।
तालिकामा उमेर समूह, लिग तथा विद्यालयस्तरीय प्रतियोगिताहरूहरुलाई वर्गाीकरणसहित प्रस्तुत गरिएको छ। एन्फाले सुरुमा एन्फा प्रेसिडेण्ट लिग २०२५ को आयोजना ५ जेठदेखि २४ जेठ २०८१ (१८ मे-७ जुन २०२५) सम्म गर्ने तालिका रहेको छ। यो प्रतियोगितामा सातवटै प्रदेशका लिग च्याम्पियनहरू समावेश हुनेछन्। त्यसैगरी, एन्फा कप लिग कम नकआउट फुटबल च्याम्पियनसिप २० वैशाखदेखि ३ जेष्ठ २०८२ सम्म ‘ए’ डिभिजन क्लबहरूले सहभागिता जनाउनेछन्।
यस वर्ष एन्फाले ग्रासरुट विकासका लागि विद्यालय स्तरका प्रतियोगितालाई पनि क्यालेन्डरमा समावेश गरेको छ। जसमा यु-१४ र यु-१७ पुरुष तथा यु-१४ र यु-१७ महिला अन्तर विद्यालय जिल्ला स्तरीय प्रतियोगिता १० वैशाखदेखि १० जेठ २०८२ सम्म देशभरिका ४९ जिल्लामा सञ्चालन गरिने उल्लेख गरिएको छ। यसलगत्तै, विद्यालयस्तरका जिल्ला विजेताहरुबीच ५ भदौदेखि २५ भदौसम्म प्रदेशस्तरीय प्रतियोगिता हुनेछ। एन्फा महिला लिग २२ असोजदेखि ३१ असोजसम्म हुनेछ।
राष्ट्रिय लिग २०२५ को आयोजना १९ श्रावणदेखि १० असोज २०८१ (४ अगस्ट–२६ सेप्टेम्बर २०२५) सम्म गरिनेछ। त्यसबाहेक, क्लब स्तरका प्रतिष्ठित लिगहरूमा शहीद स्मारक ‘सी’ डिभिजन लिग ६ पुष २०८१ देखि १५ फाल्गुन २०८२ सम्म, ‘ए’ डिभिजन लिग १६ डिसेम्बर २०२५ देखि १४ जुन २०२६ सम्म, र ‘बी’ डिभिजन लिग ४ मार्च २०२६ देखि १४ मे २०२६ सम्म सञ्चालन हुनेछ।
महिला तथा यूथ फुटबलमा पनि विविध कार्यक्रम समावेश गरिएको छ। महिला लिग २०२५ ७ सेप्टेम्बरदेखि २४ मंसिर २०८२ सम्म हुनेछ भने, महिला लिगको छनोट चरण १ असारदेखि १६ असारसम्म सञ्चालन हुनेछ। यसैगरी, यु-१४ र यू१७ महिला लिग, यु-१६ र यु-१८ पुरुष लिग, तथा ललित स्मारक यु-१८ लिग समेत तालिकामा समावेश छन्।
फुटसलतर्फ, फुटसल लिग क्वालिफायर २०२५ को पहिलो राउण्ड २७ अप्रिलदेखि १५ मेसम्म, र दोस्रो राउण्ड २० मेदेखि ५ जुनसम्म सञ्चालन हुनेछ। यी चरणहरूमा उत्कृष्ट प्रदर्शन गर्ने टिमहरू ए डिभिजन फुटसल लिग (मध्य जुलाईदेखि मध्य अगस्ट २०२५) मा सहभागी हन्छन्। एन्फा अन्तर कलेज फुटसल च्याम्पियनसिप २०२५ २ नोभेम्बरदेखि २७ नोभेम्बरसम्म र महिला फुटसल च्याम्पियनसिप मंसिरको मध्यतिर आयोजना गरिनेछ। यी दुवै प्रतियोगिता काठमाडौंमा आयोजना गरिनेछ।
प्रतिक्रिया दिनुहोस !