कर्णालीमा छोरी सम्मेलन सुरु
दैलेख : कर्णालीमा छोरी सम्मेलन सुरु भएको छ। कर्णालीमा पहिलो पटक छोरी सम्मेलन आयोजना गरिएको हो। कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय र एक गैरसरकारी संस्थाले सम्मेलन आयोजना गरेका हुन्।
सम्मेलनमा कर्णालीका ७९ वटै स्थानीय तहका दुई सय बढी छोरीहरू सहभागी छन्। सम्मेलन तीन दिनसम्म सञ्चालन हुनेछ। प्रदेश राजधानी वीरेन्द्रनगरमा सुरु भएको सम्मेलन कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले उद्घाटन गरे। त्यस अवसरमा मुख्यमन्त्री कँडेलले पर्याप्त चेतनाको अभावका कारण कर्णालीमा अझैँ पनि कुरीति, कुसंस्कार र अन्धविश्वास कायमै रहेको बताए।
‘सामाजिक रुपमा रहेका अन्धविश्वासलाई अझैँ हटाउन सकिएको छैन,’ उनले भने ‘कर्णालीको अवस्था बदल्न सबैको सामूहिक प्रयासको आवश्यकता छ।’ कानूनी रूपमा विभेदलाई अन्त्य गरिएको भएपनि विभेदजन्य व्यवहारहरू कायमै रहेको मुख्यमन्त्री कँडेलको भनाइ छ। उनले कर्णालीका छोरीहरूलाई राजनीतितर्फ अग्रसर हुने आग्रह गरेका छन्। ‘राजनीति स्वाभिमानको यात्रा हो, राजनीति थाहा पाउनुभयो भने राम्रो हुन्छ,’ उनले भने।
कर्णालीका सभामुख नन्दा गुरुङले सोच र शैलीमा सकारात्मक परिवर्तन ल्याउन छोरीहरूको सम्मेलनले महत्वपूर्ण योगदान दिने बताइन्। ‘अब लैंगिक समानताको आधार निर्माणमा ध्यान दिनुपर्ने छ, छोरीहरू आत्मरक्षाका लागि हरेक समय सावधान रहनुपर्ने अवस्था पनि छ,’ उनले भनिन्। छोरी भएकै कारण अवसरबाट बञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गरिनुपर्ने उनको भनाइ छ।
सम्मेलनमा कर्णालीका ७९ वटा स्थानीय तहबाट दुई/दुई तथा सीमान्तकृत र लोपोन्मुख राउटे, राजी, बादी र बोटे समुदायबाट थप दुई/दुई जना गरी दुई सय बढी छोरीहरूको सहभागिता छ। आ–आफ्नो स्थानीय तह, क्षेत्र तथा समुदायको प्रतिनिधित्व गर्ने छोरीहरूले सम्मेलनमार्फत आफ्ना आवाजहरू साझा गर्ने अवसर पाउने छन्। सम्मेलनमा छोरीका मनका कुरा, प्रवचन तथा बहस कार्यक्रमहरू सञ्चालन हुनेछन्।
छोरीका मनका कुरा शीर्षकमा सहभागी छोरीहरूले आफ्ना भोगाइहरू सुनाउने छन्। यसका साथै सिर्जनशील छोरीहरूलाई प्रतिभा प्रस्तुत गर्ने अवसर दिइनेछ। प्रवचन कार्यक्रममा छोरीहरूको जीवन रूपान्तरण शीर्षकमा विज्ञहरूबाट व्याख्या, विश्लेषण हुनेछ।
प्रतिक्रिया दिनुहोस !