विवाह भएको ६ महिना नबित्दै महिलाको मृत्यु, दाइजोको निहुँमा हत्या भएको आशंका
रौतहट : कटहरिया नगरपालिकामा विवाह भएको ६ महिना नपुग्दै एक मुस्लिम महिलाको संकास्पद मृत्यु भएको छ । दाइजोको कारण हत्या गरिएको माइती पक्षले दाबी गर्दै घटनाको छानबिन गरी कडा कानुनी कारबाही हुनुपर्ने माग गरेका छन्।
कटहरिया वडा नम्बर ३ बड़ेरवा टोलमा घरभइ हाल कटहरिया -५ घर भएका अहमद राय भाटका छोरा अरमान राय भाटको श्रीमती २१ वर्षीया सानीया प्रविनको शंकास्पद मृत्यु भएको हो। आइतबार दिउँसो आफ्नै घरको कोठामा साडीको पासो लगाइ सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा सानियाको शव भेटिएको प्रहरीले जनाएको छ। घटनाको खबर लगतै इलाका प्रहरी कार्यालय कटहरिया र ईलाका प्रहरी कार्यालय गरुडाको संयुक्त टोलीले घटनास्थलमा पुगेर अनुसन्धान थालेको प्रहरी जनाएको छ ।
मृतकको पोष्टमार्टमका लागि गौरस्थित प्रादेशिक अस्पताल पठाएको थियो । शव सतगतको लागि मृतक सानियाका आमा भारतको सुगौली घर भएकी कायमा खातुनले बुझेर लगेको प्रहरीले जनाएको छ।मृतककी आमा कायमा खातुनका अनुसार सानीयाको विवाह करिब ६ महिना अघिमात्र अरमान राय भाटसँग मुस्लिम परम्परा अनुसार भएको थियो।
विवाहपछि ज्वाइँ अरमानले निरन्तर दाइजोको लागि छोरी सानियालाई शारीरिक तथा मानसिक यातना दिँदै आएका थिए । ज्वाईँ तथा उनको परिवारले दिने गरेको यातना सहन गर्न नसकेकोले उनीहरूले योजनाबद्ध तरिकाले सानियाको हत्यागरी आत्महत्या देखाउन खोजेको कायमाले दाबी गरेकी छन्।
घटनामा संलग्न अरमानसहित सबैलाई पक्राउ गरी कडा कानुनी कारवाही हुनुपर्ने सानियाको माइती पक्षको माग छ। माइती पक्षले छोरीको हत्या भएको भन्दै इलाका प्रहरी कार्यालय गरुडामा जाहेरी दर्ता गरेको जानकारी दिएका छ्न् ।इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले घटनाविरुद्दको जाहेरी हालसम्म दर्ता नभएको तथा घटना शंकास्पद रहेकाले अनुसन्धान अघि बढाएको बताए ।
प्रतिक्रिया दिनुहोस !