आध्यात्मिक ज्ञानमार्फत सद्मार्गमा पुगिन्छ : मुख्यमन्त्री आचार्य
भैरहवा : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आध्यात्मिक ज्ञान र साधनाको माध्यमबाट समाजलाई सद्मार्गमा डोर्याउने बताएका छन्।
‘द आर्ट अफ लिभिङ नेपालले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-४ उद्योगपुरीको बुद्ध कोलोनीमा लुम्बिनी आश्रमको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशलाई आध्यात्मिक ज्ञान र साधनाको केन्द्र बनाउन सहकार्य गरिने प्रतिबद्धता जनाए।
उनले भने, ‘समाजले नैतिकता भुलेको छ। आध्यात्म परित्याग गरेको छ। विगतका संस्कृतिले आफैंलाई गिज्जाइरहेको छ। धर्ममाथि विभिन्न आक्रमण गरिरहेकाले समाजमा अराजकता बढेको छ। ज्ञान र साधना नै समाजलाई परिवर्तन गर्ने, सत्मार्गमा लैजाने अभियान हो।’
द आर्ट अफ लिभिङ नेपालका अध्यक्ष सिद्धेश्वरकुमार सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आश्रमका संयोजक दिपेन्द्र प्रधानले निर्माण कार्यबारे जानकारी गराएका थिए। संयोजक प्रधानका अनुसार साढे चार करोड रुपैयाँको लागतमा निर्माण थालिएको आश्रममा दुई करोड रुपैयाँमा दुई आश्रमको संरचना निर्माण भइरहेको छ। झन्डै ७ कठ्ठा क्षेत्रफलमा फैलिएको छ। द आर्ट अफ लिभिङले भैरहवा आश्रमलाई युवा लक्षित कार्यक्रम रहेको वाइएलटीपी प्रोग्राम सञ्चालन गर्ने तयारी गरेको छ। आश्रममा रहेका २७ वटा कोठा प्रशिक्षार्थीहरुको आवासमा प्रयोग हुनेछ। द आर्ट अफ लिभिङका विराटनगर, बुटवल र भैरहवामा गरी तीन वटा आश्रम र २६ वटा स्थानमा योग केन्द्र रहेका छन्।
प्रतिक्रिया दिनुहोस !