२० बुँदे घोषणा पत्र जारी गर्दै सकियो लोमानथाङ अन्तर्राष्ट्रिय मिडिया समिट
काठमाडौं : नेपाल प्रेस युनियनको आयोजनामा वैशाख २७ गतेबाट सुरु भएको लोमन्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट २० बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ। ललितपुरमा सुरु भएको समिट पोखरा र मुस्ताङको जोमसोम हुँदै लोमन्थाङमा घोषणा पत्र जारी गरिएको हो।
नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले लोमन्थाङमा आयोजित कार्यक्रममा घोषणा पत्र सार्वजनिक गरे। अध्यक्ष लम्सालले समिटले नेपालको पत्रकारिताको इतिहास, लोकतन्त्र, प्रेस स्वतन्त्रता र जलवायु संकटमा केन्द्रीत रहेर गहन छलफल गरिएको बताए। अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे)सँगको सहकार्यमा गरिएको यो सम्मेलनले लोकतन्त्र सुदृढीकरण, मिडिया स्वतन्त्रताको संरक्षण र जलवायु संकटको सम्बोधनका लागि नयाँ दृष्टिकोण तय गरेको अध्यक्ष लम्सालले बताए।
सम्मेलनमा भारत, भुटान, बंगलादेश, श्रीलंका, बुलगेरिया लगायत देशका पत्रकारको सहभागीता रहेको थियो। समिटमा करिब एक सय १४० स्वदेशी तथा विदेशी पत्रकारको सहभागिता रहेको प्रेस युनियनका महासचिव दिलीप पौडेलले बताए।
सम्मेलनमा लोकतन्त्र, प्रेस स्वतन्त्रता, डिजिटल प्रविधि, एआई र जलवायु संकटका विषयमा घनिभूत छलफल गरेर धारणा सार्वजनिक गरिएको महासचिव पौडेलले बताए। सम्मेलनमा विदेशी सञ्चारमा कार्यरत पत्रकारहरूले विश्वव्यापीरूपमा पत्रकारको सुरक्षामा देखिएको चुनौतीको विषयमा सामूहिक रूपमा काम गर्नुपर्ने धारणा राखेको समिट तयारी समन्वय समितिका संयोजक लोकराज अवस्थीले बताए।
घोषणापत्रले लोकतन्त्रलाई विकासको अपरिहार्य आधार मानेर अभिव्यक्ति, प्रेस र सूचनाको अधिकारसम्बन्धी संवैधानिक प्रावधानहरूको कडाइका साथ कार्यान्वयन गर्न जोड दिएको छ। यसले लोकप्रियतावाद, अतिवाद, पुनस्र्थापनावादी शक्तिहरू र खराब शासनबाट लोकतन्त्रमा उत्पन्न खतराहरूलाई स्वीकार गर्दै राजनीतिक दल र नागरिक समाजलाई नागरिक स्थान सुदृढ गर्न र जनविश्वास कायम गर्न सहकार्य गर्न आह्वान गरेको छ।
प्रतिक्रिया दिनुहोस !