वैशाखमै बग्यो बीपी राजमार्गको डाइभर्सन
सिन्धुली : झन्डै ८ महिनाअघि रोशीमा आएको बाढीले बगाउँदा क्षतविक्षत भएको बनेपा–सिन्धुली–बर्दिबास (बीपी) राजमार्गमा फेरि रोशीले क्षति पुर्याएको छ। सोमबार साँझ अबिरल वर्षासँगै आएको बाढीले बीपी राजमार्गको डाइभर्सनमा पुनः क्षति पुर्याएपछि यातायात अबरुद्ध भएको थियो।
बीपी राजमार्ग अन्र्तगत काभ्रेको रोशी गाउँपालिका ११ स्थित माम्तीमा बनाइएको ह्युमपाइप सहितको डाइभर्सन बाढीले बगाएपछि राजमार्गको नेपालथोक–भकुन्डेबेंसी खण्ड झन्डै २० घण्टा अबरुद्ध भएको थियो।
सिन्धुलीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक लालध्वज सुवेदीका अनुसार राजमार्ग अबरुद्ध भएपछि सोमबार राति ९ बजेदेखि पूर्वबाट काठमाडौंतर्फ जाने सवारीलाई सिन्धुलीको खुर्कोटमा र काठमाडौंबाट पूर्व आउने सवारीलाई भकुन्डेमा रोकिएको थियो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजुका अनुसार बाढीले माम्ती, चौकीडाँडा, मंगलटार लगायतका क्षेत्रमा क्षति पुर्याएको छ। ती स्थानहरूमा मंगलबार दिनभर लगाएर पुनः डाइभर्सन बनाएर मोटरसाइकल लगायतका साना गाडी सञ्चालनमा ल्याइएको छ भने ठूला सवारीलाई पनि बिस्तारै पठाउन थालिएको छ।
गत असोज ११ र १२ गते रोशी खोलामा आएको बाढीले बगाउँदा बीपी राजमार्गको काभ्रेपलाञ्चोकको नमोबुद्धस्थित चौकीडाँडाबाट रोशी गाउँपालिकाको कालढुंगा खण्डको आठ किलोमिटर सडक पूर्ण रूपमा क्षति पुगेको थियो। यस्तै सिन्धुलीको नेपालथोकदेखि आँपघारीसम्म सडक क्षति भएको थियो। ती स्थानमा सडक विभागले डाइभर्सन निर्माण गरेर अस्थायी रूपमा यातायातका साधन सञ्चालनमा ल्याएको भए पनि सोमबार आएको बाढीले पुनः क्षति पुर्याएपछि थप समस्या बनेको थियो।
हाल अस्थायी रुपमा डाइभर्सन निर्माण गरेर एकतर्फी यातायातका साधनहरू सञ्चालनमा ल्याइएको भएपनि कतिवेला पुनः डाइभर्सन अबरुद्ध हुने हो भन्ने टुङ्गो नभएको सिन्धुलीका प्रहरी प्रमुख सुवेदीको भनाई छ।
‘अहिले पुनः डाइभर्सन तयार पारेर सिन्धुली र काभ्रेतर्फ होल्ड भएका सवारी साधन गन्तव्यतर्फ पठाइएको छ। तर, पानी पर्ने क्रम जारी रहेकाले कतिवेला पुनः अबरुद्ध हुन्छ भन्ने ठेगान छैन। यात्रा गर्दा सचेत भएर सडकको अवस्था बुझेर मात्र गर्नुहोला,’ उनले भने।
सरकारले राजमार्ग पुनर्निर्माणमा समयमा अग्रसरता नदेखाउँदा वैशाखमै आएको बाढीले डाइभर्सन भत्किएको छ। आउँदो बर्खामा राजमार्ग पूर्णरुपमा ठप्प हुने भन्दै चिन्ता व्यक्त गर्न थालिएको छ। राजमार्गको पुनर्निर्माणका लागि सरकारले ठेक्का प्रक्रियालाई अघि बढाइएको बताउँदै आएको छ।‘रोशीको बीच भाग र किनारमा खोला तर्काएर बनाइएको डाइभर्सनले बाढीले जतिबेला पनी बगाउन सक्ने खतरा बढ्यो। यसको बैकल्पिक व्यवस्थामा ध्यान नदिने हो भने असार साउनमा बीपी राजमार्ग पूर्णरूपमा ठप्प हुने अवस्था हुन्छ,’ यातायात व्यवसायी दीपेन्द्र कार्कीले गुनासो गरे।
बाढी र पहिरोले ध्वस्त राजमार्ग अस्थायी ट्रयाक र डाइभर्सन निर्माण गरेर कष्ठकर यातायात सञ्चालन गरिएको छ।
प्रतिक्रिया दिनुहोस !